भर्खरै :

सिद्धि गणेश साकोसमा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिमको समापन

सिद्धि गणेश साकोसमा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिमको समापन

भक्तपुर, ३१ साउन । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले संस्था स्थापनाकालदेखि नै समाज र सदस्यहरूको आर्थिक सामाजिक हितका लागि निरन्तर कार्यरत रहेको उल्लेख गर्नुभयो ।
उहाँले समाजमा दक्ष जनशक्तिको उत्पादनका लागि संस्थाबाट निरन्तर सीपमूलक एवं क्षमता अभिवृद्धि तालिम सञ्चालन गरी सदस्यहरूलाई आर्थिक अवसर प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले तालिमका प्राशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिमको सीप सदुपयोग गरी सेवाको रूपमा विकास गर्न प्रोत्साहन गर्नुभएको थियो ।
उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले प्रशिक्षार्थीहरूमा आफूले सिकेको सीपप्रति उत्सुक हुनुपर्ने बताउँदै फोटो खिच्नु वर्तमानको लागि भन्दा भविष्यको निम्ति हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय निकायले बजेटसहित विभिन्न सीपमूलक तालिमहरूको आयोजना गरिनुपर्ने आवश्यकता औँल्याउँदै समाजवादी व्यवस्थामा मात्र न्यून आए भएका जनताको हितका लागि नीति निर्माण हुने, तर पुँजीवादी व्यवस्थामा नहुनेबारे चर्चा गर्नुभयो ।
“कुनै पनि देश विकास गर्न त्यहाँको कृषि र उत्पादन क्षेत्र विकास गर्नु अति आवश्यक हुन्छ तर देशमा हाल आधारभूत क्षेत्रमा समेत जनतालाई करको भार बोकाइरहेको छ जुन सरासर गलत हो,” उहाँले भन्नुभयो ।
“सामुदायिक विद्यालयहरू बन्द गरी निजी विद्यालयमा कर लगाउनु उपयुक्त हुँदैन,” उहाँले थप्नुभयो । उहाँले तालिमका प्रशिक्षकहरूलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा तालिमका प्रशिक्षक शरद् राईले शिक्षा नै जीवनको मूल सम्पत्ति हो भन्दै सन् २०२६ देखि चीनले १० हजार नयाँ विषयको पठन पाठन आरम्भ गरेको जानकारी दिनुभयो । उहाँले हाल देखिएको बेरोजगारीको समस्यालाई अनुसन्धान गरी चीनले रोजगारी लक्षित नयाँ आधुनिक विषयको अध्यापनको थालनी गरेको बताउनुभयो ।
उहाँले हाल पठनपाठन हुने मानविकी, व्यवस्थापन आदि रोजगारी दिने विषयहरू नभएकोले यसलाई आधुनिकिकरण गर्दै जानुपर्ने आवश्यकता पश्चिमी मूलुकको सोचाई रहेको बताउनुभयो । उहाँले शिक्षा रोकिनु भनेको भविष्य रोकिनु हो भन्दै शिक्षा र सीप जीवनमा निरन्तर आर्जन गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव जसतारा कोजु, संस्थाका व्यवस्थापक शिला गोसाई, उपसमिति सदस्य दीपेन्द्र खाइजु र तालिमका प्रशिक्षार्थीहरू शुभरत्न दुवाल एवं विकेश मचामसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *