भर्खरै :

अमेरिकामा पुनः उठ्न लागेको हो कम्युनिस्टविरोधी लहर ?

  • भाद्र ८, २०८३
  • थियोडोर ई जोर्न
  • विचार
अमेरिकामा पुनः उठ्न लागेको हो कम्युनिस्टविरोधी लहर ?

“साम्यवाद अब सुदूर भविष्यको खतरा रहेन । यो हाम्रै सम्मुखमा आइसकेको छ”, अमेरिकी कङ्ग्रेस (संसद्)को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ (प्रतिनिधिसभा) का सभामुख माइक जोनसनले हालै सामाजिक सञ्जालमा चेतावनीपूर्ण भाषामा भने । रिपब्लिकन पार्टीमा लामो राजनीतिक गरेको जोनसन यस्तो भाषा प्रयोग गर्ने एक्ला दक्षिणपन्थी नेता होइनन् ।
नोभेम्बरमा अमेरिकामा संसदीय निर्वाचन हुँदै छ । राष्ट्रपतिको कार्यकालको मध्यकालमा हुने चुनाव भएकोले मध्यावधि चुनाव भनिने यस निर्वाचनका लागि दुवै दल धमाधम उम्मेदवार छान्दै छन् । यसअन्तर्गत डेमोक्रेटिक पार्टीका आकाङ्क्षीबिच भएका अन्तरपार्टी ‘प्राइमरी’ निर्वाचनमा ‘डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका’ (डीएसए) अभियानसँग जोडिएका कैयौँ हस्ती विजयी भए । त्यसपछि स्वयं राष्ट्रपति डोनाल्ड ट्रम्पले नै पटक–पटक ‘कम्युनिजम’को खतराबारे उल्लेख गर्न थालेका छन् । गत जून महिनामा प्राइमरी चुनावको सेरोफेरोमा ट्रम्पले दुई हप्ताभित्रै झन्डै ८१ पटक कम्युनिजम शब्द उल्लेख गरेका थिए ।
ट्रम्प अहिले त डेमोक्रेटिक पार्टीका प्रायः सबैलाई ‘उग्रवादी, भगवान् नमान्ने कम्युनिस्ट’ भन्न थालेका छन् । साथै, उनी कम्युनिजमलाई काटेर फाल्नुपर्ने ‘क्यान्सर’ भन्छन् । लगभग त्यही समयमा, अमेरिकी विदेश मन्त्रालयले १०० पृष्ठ लामो एक प्रतिवेदन प्रकाशित ग¥यो, जसमा अमेरिकी पत्रकार, ट्रेड युनियनकर्मी र अन्य विभिन्न अभियन्तालाई क्युवाली–कम्युनिस्टको प्रभावमा रहेको सञ्जालसँग जोडिएको देखाइएको छ ।
गत जुलाई १६ मा अमेरिकी विदेश मन्त्रालयले ६५ देशका मन्त्रीस्तरीय प्रतिनिधि बोलाएर ‘मिनिस्टिअरिअल अन द रिसर्जेन्स अफ पोलिटिकल टेरोरिजम’ सम्बन्धी बैठक आयोजना ग¥यो । राजनीति आतङ्कवादको पुनरोदय विषयको बैठकमा ट्रम्पका सहयोगीले वामपन्थी समूहबाट भइरहेको राजनीतिक हिंसाबारे जोड दिए । जबकि, तथ्याङ्कअनुसार हाल विश्वमा दक्षिणपन्थी समूहबाट बढी हिंसा भइरहेको देखिन्छ । बैठकमा हिंसात्मक ‘माक्र्सवादी क्रान्तिकारी’ र सोभियतकालीन श्रम शिविर ‘गुलाग’को कुरा उठाइयो । ट्रम्पको रिपब्लिकन पार्टी र पार्टीनजिकका मिडियाले साम्यवादको खतराबारे उल्लेख गर्न थालेका छन् ।
तर, ट्रम्प र उनका समर्थकले ढोल पिटेझैँ के साँच्चै अमेरिका कम्युनिस्ट क्रान्तिको सङ्घारमा छ त ? वास्तविकता हेर्दा रिपब्लिकनहरूको भनाइमा कुनै सत्यता भेटिँदैन । तर, तिनलाई यथार्थसँग कुनै लिनुदिनु छैन । उनीहरू त प्रजातान्त्रिक समाजवादी विचारका समर्थक बताउने डेमोक्रेटको जितलाई देखाउँदै सबै डेमोक्रेट्सलाई कम्युनिस्टको बिल्ला भिराउनमा लागेका छन् ।

एक शब्द, चार आयाम
अमेरिकी राजनीतिमा कम्युनिस्ट शब्द आफैँमा एक गम्भीर राजनीतिक आरोप वा अपमानजनक बिल्लासहर रहँदै आएको छ । यो शब्द प्रायः जानाजान आफ्ना प्रतिद्वन्द्वीलाई चिढ्याउनका लागि प्रयोग गरिन्छ । खासमा यसको कारण हो, यस शब्दले बोकेका बहुल अर्थ । अर्थात्, यस शब्दले एकैपटक कैयौँ विचार, भावना र आयामलाई प्रतिनिधित्व गर्छ । मुख्यतः ‘कम्युनिस्ट’ शब्दका चार आयाम छन् ः
आर्थिक : यसअन्तर्गत अर्थतन्त्र निजी स्वामित्व, सार्वजनिक स्वामित्व वा सरकारी नियमन कुन ठीक भन्ने पक्षमा केन्द्रित हुन्छ ।
राजनीतिक : शासन कसले गर्ने, निर्णय कसरी गरिन्छ र शासकलाई हटाउन सकिन्छ कि सकिँदैन भन्ने विषय यसको राजनीतिक आयाम हो ।
धार्मिक : के राजनीतिक दर्शनमा धार्मिक विश्वास, नास्तिकता वा दुईमध्ये कुनै पनि जोड्नु आवश्यक हुन्छ ? यो कम्युनिजम शब्दसँग जोडिएर आउने धार्मिक पक्ष हो ।
चौथो आयाममा राजनीतिक परिवर्तनका लागि प्रयोग गरिने माध्यम पर्छन्, जसमा चुनाव, विचार–विमर्श र बल प्रयोग, हिंसा र क्रान्ति भर्सेस शान्तिपूर्ण विरोधजस्ता विषय पर्छन् ।
बीसौँ शताब्दीका जति पनि कम्युनिस्ट शासन देखियो, तिनमा प्रायः अर्थतन्त्र पूर्णतः राज्यको नियन्त्रणमा रह्यो । राजनीतिक रूपमा त्यहाँ कठोर एकदलीय तानाशाही थियो भने राज्यको धर्म नास्तिकता घोषित गरिएकोले धार्मिक अभ्यासलाई नियमन गरिए । अझ धेरै शासन हिंसात्मक क्रान्तिमार्फत सत्तामा आएको इतिहासलाई दक्षिणपन्थी रिपब्लिकन पार्टीले उपयोग गर्न खोजेजस्तो छ । उसले ‘लोकतान्त्रिक समाजवाद’ र कम्युनिजमबिचका केही समानतालाई समाएर उनीहरू सबै एउटै हुन् भन्ने आरोपलाई जोडतोडसाथ प्रचार गरिरहेको छ ।
खासमा लोकतान्त्रिक समाजवादी विचार राख्नेहरूले सार्वजनिक स्वामित्व र बजार नियमनको वकालत गर्छन् । यसैलाई समाएर यस्तो विचार राख्ने (र, तिनको आरोपअनुसार सबै डेमोक्रेटहरू) एकदलीय तानाशाही, ईश्वरहीनता र हिंसात्मक क्रान्तिको पनि पक्षपोषण गर्छन् भनेर आम मतदाता त्रसित बनाउन खोजिँदै छ । यो एक चलाखीपूर्ण रणनीति हो ।

अमेरिकाबाहिर फरक रूपमा हेरिन्छ समाजवाद
‘डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका’ (डीएसएस) का कतिपय ‘उग्र’ भनिएका विचार अहिले नै न्युजिल्यान्ड, अस्ट्रेलियालगायत कैयौँ युरोपमा भने आमस्वीकार्य छ । सस्तो स्वास्थ्य सेवामाथि सम्पूर्ण जनताको पहुँच हुनुपर्ने, सम्मानजनक न्यूनतम ज्यालादर तोक्नुपर्ने, शिक्षामाथि सरकारको स्वामित्व हुनुपर्ने र सेवानिवृत्तलाई सरकारले सेवा वितरण गर्नुपर्ने डीएसएका माग उल्लिखित देशमा अहिले नै कार्यान्वयनमा छन् । अर्थात्, ती माग रिपब्लिकनले भनेजस्तो कुनै सर्वहारा तानाशाही लाद्ने तयारी होइन ।
खासमा यी देशमा यी सेवालाई मिश्रित अर्थतन्त्रका सामान्य विशेषता मानिन्छ । लोकतान्त्रिक समाजवादीले आदर्श मान्ने उत्तर युरोपमा अवस्थित नर्डिक देशहरू (नर्वे, स्विडेन, डेनमार्क, फिनल्यान्ड र आइसल्यान्ड) ले दशकौँदेखि व्यापक सार्वजनिक सेवा, अपेक्षाकृत उच्च कर र बलियो ट्रेड युनियनसँगसँगै निजी उद्यम र प्रतिस्पर्धी लोकतन्त्रको अभ्यास गरिरहेका छन् ।
पछिल्लो समय अमेरिकाका सबैभन्दा कहलिएका लोकतान्त्रिक समाजवादी नेता न्युयोर्कका मेयर जोहरान ममदानीले पनि हालसालै साना व्यवसायको सहजताका लागि भन्दै ५० भन्दा बढी सरकारी अवरोध हटाउने वा सुधार्ने घोषणा गरे । हो, समाजवादीले निजी उद्यमलाई पूरै बन्द गराउँदैनन्, कहिलेकाहीँ उनीहरू तिनलाई सफल बनाउन मद्दतसमेत गर्छन् ।
बरू आफूलाई समाजवादको उल्टो व्यवस्था अर्थात् स्वतन्त्र बजारको हिमायती बताउने ट्रम्प प्रशासनले ३० भन्दा बढी निजी कम्पनीको स्वामित्वमा हिस्सेदारी लिएको आफैँले घोषणा गरेको छ । ट्रम्पले आफ्नो पारिवारिक व्यवसायमा ठुलो चन्दा दिन कैयौँ व्यापारिक निगमलाई दबाब दिएको समाचार आइरहेका छन् । खासमा राज्य संयन्त्रलाई व्यापारीमाथि प्रयोग गरिरहेका ट्रम्प कम्युनिस्ट हुन् त ? निश्चित रूपमा ममदानी र ट्रम्पमध्ये दुवै कम्युनिस्ट होइनन् । दुवैजना बजार अर्थतन्त्रमा सरकारी हस्तक्षेपको पक्षमा छन् । उनीहरूको उद्देश्य र हस्तक्षेपको प्रकृति मात्र फरक छ ।
त्यसबाहेक डीएसएले समर्थन गरेका सबै उम्मेदवार (वा अधिकांश डेमोक्रेट) ले पनि सो अभियानका सबै मुद्दालाई समर्थन गर्छ भन्नु पनि अतिशयोक्ति हुन्छ । यो त केहीअघि दसजना रिपब्लिकन प्रतिनिधिले सिनेटर जनताबाट प्रत्यक्ष निर्वाचित हुनुभन्दा देशका पचास राज्यका व्यवस्थापिकाबाट चुनिनुपर्छ भन्ने प्रस्ताव गरेकै आधारमा बाँकी सबै रिपब्लिकन पनि त्यसलाई समर्थन गर्छन् भन्नुजस्तै हो ।

विगतको कम्युनिस्टविरोधी लहर फर्कने डर
अमेरिका पहिले पनि यस्तो लहर देखिएको थियो । पहिलो कम्युनिस्टविरोधी लहर सन् १९१७ मा रुसी बोल्सेभिक क्रान्तिपछि आएको थियो । सन् १९१९ र १९२० मा चलेको ‘पामर रेड्स’ (अधिवक्ता ए. मिचेल पामरको नाममा राखिएको) क्रममा हजारौँ मानिस र विशेषतः आप्रवासीलाई कम्युनिस्ट भएको आशङ्काकै भरमा पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये धेरैलाई वारेन्टबिना नै हिरासतमा राखिएको थियो ।
त्यसपछि फेरि सन् १९५० को दशकमा दोस्रो कम्युनिस्टविरोधी लहर आयो । यसपटक यस अभियानको नेतृत्व गरेका थिए, सिनेटर जोसेफ म्याकार्थीले । उनले कम्युनिस्टको आरोप लगाएका धेरैको करियर नष्ट भयो । खासमा त्यस दशकमा कसैलाई कम्युनिस्ट आरोप लगाइदिए नै पुग्थ्यो, कुनै प्रमाण दिइरहनु पर्दैनथ्यो । शीतयुद्धको समयमा सोभियत सङ्घसँगको प्रतिस्पर्धाका कारण अमेरिकामा कम्युनिजम शब्द राजनीतिक र आर्थिक प्रणाली मात्र नभई क्रान्ति, नास्तिकता, तानाशाही, विद्रोह र देशद्रोहसँग जोडिन्थ्यो । कोही राजनीतिक विरोधीलाई सिध्याउनुपरे यो कम्युनिस्ट हो वा सोभियत सङ्घका लागि काम गर्छ भने पुग्ने अवस्था थियो ।
खासमा अहिले पुनः कम्युनिस्टविरोधी पुरानो लहर पुनर्जीवित गर्न खोजिँदै त छैन भन्ने चिन्ता बढेको छ । तर, यसका पछाडि कुनै ठोस आधारभन्दा सायद राजनीतिक छटपटीले काम गरेको हुन सक्छ । इरान युद्ध, उच्च महँगी र एपस्टिइन फाइलसम्बन्धी विवादपछि मत सर्वेक्षणमा ट्रम्पको अनुमोदन दर धेरै खस्केको छ । यस्तो अवस्थामा मध्यावधि चुनाव नजिकिँदै गर्दा रिपब्लिकनहरू बलियो रणनीतिको खोजीमा छन् । दिनदैनिकीका मुद्दामा प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने लागेर होला तिनले विरोधीलाई ‘कम्युनिजम’ विचार राख्ने भनेर पन्छाइदिने रणनीति परीक्षण गरिरहेको हुन सक्छ । यसलाई तिनले सबैभन्दा राम्रो हतियार मानेजस्तो देखिन्छ ।
तर, ‘भगवान् नमान्ने कम्युनिस्टहरू’ले सत्ता कब्जा गर्न तयार भन्दै सत्ता जोगाउने यो दाउपेच हानिरहित छैन । जनताको जीवनस्तरसँग जोडिएका विषय उठाइरहेका विपक्षीलाई अतिवादी विचारसँग जोडेर खतरनाक बाहिरी तत्व देखाउने अभ्यासले तर्कसङ्गत बहस नै निस्तेज बताउँछ । खासमा कम्युनिजम मतले अमेरिकालाई कब्जा गरिरहेको छैन, बरू यस्तो डर देखाएर अमेरिकामा अर्को कम्युनिस्टविरोधी लहर ल्याउने प्रयास हुँदै छ ।
(लेखक न्युजिल्यान्डस्थित मासे विश्वविद्यालयमा संस्थागत सञ्चार विषयका प्राध्यापक हुन् । यो आलेख द कन्भर्सेसनबाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *