भर्खरै :

भिखारी

भिखारी

भिखारीहरू आए
नव–युगका मसिहा बनेर
मानिसहरूलाई अज्ञान, अशिक्षा र निर्धनताबाट
मुक्ति दिन ।
अद्भूत वाक्कला, लेखनशैली र
साङ्गठनिक क्षमता भएका
स्वस्थ–सुदर्शन–सुसंस्कृत भिखारीहरू आए
हाम्रो गाउँ बस्तीमा ।
जसरी एसिया–अफ्रिका–ल्याटिन अमेरिकाका
सम्पूर्ण गरीबबिच
जसरी यान र वाहनमा चढेर पुगेका थिए
त्यसरी नै उनीहरू आइपुगे हाम्रोबिच ।
भीख, दया, समर्पण र भयको संस्कृतिका प्रचारक
पुराना लक्ष्यहरूभन्दा यो फरक छ
जसरी यसका दाताहरू पनि
आफ्ना पुर्खाभन्दा भिन्न छन् ।
फरक थिए ती सर्वोदयी निवेदकहरू
भन्दा पनि
जसको गान्धीवादी कछाडमा रहिरहन्छ
(र, आज पनि रहेको छ)
विदेशी अनुदानको नारा
भिखारीहरू आए विभिन्न टोली–टोलीमा ।
कसैले पश्चिमको आफ्नो वैभवशाली दाताको
महिमा गायो,
कसैको दाबी थियो
मैले लुटेराहरूलाई मूर्ख बनाएर
पैसा लिएर ल्याएको छु
जनहितका लागि
जनक्रान्तिका लागि र
जनक्रान्तिको तयारीका लागि ।’
केहीको भनाइ थियो
क्रान्तिको तयारीको बोझ
यो देशका गरिब जनताको थाप्लोमा नपरोस्
त्यसकारण, उनीहरूले भिखबाट
संशाधन जुटाउने नवीन तरिका निकालेका छन् ।
कसैको भनाइ थियो–
क्रान्ति अझै धेरै टाढा छ
त्यसकारण, त्यतिञ्जेलसम्मको लागि
केही सुधार गर्नुपर्छ
सहुलियत दिइनुपर्छ
दलित, शोषित र उपेक्षितको जीवनमा एक
सीमासम्म
र, त्यो गरेको शुल्कको सट्टा
नेता, नोकरशाह बन्ने अधर्म नगरी
पुरस्कारस्वरूप
आफ्ना लागि पनि केही जुटाउनुपर्छ ।
घर, गाडी आदि केही आरामदायी सामानहरू
जनताका लागि यो नर्कजस्तो देशमा
उनी स्वयं यहाँ आएका छन्
के यो अनुचित होला र ?
आफ्ना छोराछोरीलाई अमेरिका पढाउनु
केहीको भनाइ थियो
अशिक्षित हुनु नै हाम्रो दुर्भाग्यको मूल हो ।
अतः, उनीहरू हामीलाई पढाउन आएका छन्
स्वास्थ्य र परिवार नियोजनबारे बताउन आएका छन् ।
केहीको भनाइ थियो
हामी एउटा सहकारी संस्था बनाएर
उत्पादन गरौँ
त्यसो गरे हाम्रो सम्पूर्ण समस्या समाधान हुनेछन् ।
कसैले भने,
ट्रेड युनियनहरूले गर्न नसकेको काम
हामी आफै गरेर देखाउने छौँ
राज्यसत्ता त चन्द्रमा माग्नुजस्तै हो ।
उनीहरू हामीलाई सुक्का, मोहरका लागि
नयाँ तरिकाले लड्न सिकाउने रे ।
केही भन्दै गए
दोष अदालत, पञ्च भेला–कानुन र सरकारको होइन,
दृष्टिकोण, अशिक्षा
हाम्रो गाउँलेपनको हो ।
अतः उनीहरू हामीलाई जनअधिकार
संविधान र श्रम कानुनबारे पढाउनेछन् ।
अनि हामीले थाहा पाउनेछौँ ।
हामीले सरकारसँग के माग्ने ?
हामी एकै स्वरमा माग्नेछौँ ?
हाम्रा निवेदन हेरेर
हाम्रो गर्जनबाट बिउँझिने छ सरकार,
डराउनेछ,
अनि हामीले पाउनेछौँ, जे चाहेका छौँ ।
भिखारीहरूले हामीलाई सम्झाए
यदि सरकार आफ्नो जिम्मेवारीहरू पूरा गर्न सक्दैन भने
हामी किन उसको मुख ताक्ने ?
यदि ऊ हामीलाई काम दिन सक्दैन भने
हामीले नै किन कुनै काम नगर्ने ?
यदि उसले सबै कल–कारखाना
पुँजीपतिहरूलाई दिन्छ
र, पुँजीपतिवर्ग हामीलाई रोजगारी दिँंदैन भने
किन स्वयं नै कुनै उद्यम सुरू नगर्ने ?
अब पनि यदि हाम्रो गुजारा चल्दैन भने
हाम्रा आवश्यकताहरू किन कम नगर्ने ?
प्रगतिको कुरा सोच्न किन बन्द नगर्ने ?
चरम पर्यावरणवादी बनेर
किन प्रकृतिको काखमा शरण नलिने ?

भिखारीहरू बेरोजगार युवाहरूलाई भन्छन्–
तिमीहरू हामीसँग आऊ
हामी तिमीलाई जनताको सेवा गर्न सिकाउँछौँ,
तलब थोरै दिन्छौँ
तर, बेरोजगार भत्ताभन्दा उत्तम हुन्छ
र त्यो भर्पाईका निम्ति
जनताको सेवकको पदवी दिनेछौँ ।
स्थायी जागिर त होइन,
तर बिना कुनै कठिनाइ
क्रान्तिकारी बनाउनेछौँ,
बाध्यताले गर्नुपरेको समर्पणको
प्रशस्त मूल्य दिनेछौँ ।
उमेर पुगेका, निराश र थाकेका क्रान्तिकारीहरू आऊ ।
हामी तिमीहरूलाइ स्वर्गको बाटो देखाउँछौँ ।
आऊ सल्बाटर्नहरू
आऊ सबै उत्तर–माक्र्सवादी, उत्तर–नारीवादी आदि
आऊ, आफ्नो ज्ञान र अनुभवबाट
एनजीओ दर्शनका नयाँ–नयाँ शस्त्र र शास्त्र प्रतिपादन गरौँ ।’
भिखारीहरूले आहवान गरे ।’
दाता एजेन्सीहरूका लागि तयार भयो
नयाँ प्रतिवेदन लेख्न बसे ।

भिखारीहरूले भिखलाई नयाँ गरिमा दिए ।
भूमण्डलीकरणको युगमा
त्यसलाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिए ।
भिखारीहरूले क्रान्ति र परिवर्तनको
नयाँ परिभाषा रचे
भिखारीहरूले भने– बिर्स, पैबन्द र कुर्ताको गीत
त्यो पुरानो भइसक्यो ।
हामी तिम्रा लागि कपडाका टुक्राहरू
मागेर ल्याइरहन्छौँ,
तिमी त्यसमा फूलबुट्टा भर सबै जोडेपछि एक दिन तयार हुनेछ ।
एउटा पूर्णकुर्ता
एकै पटक पूरा रोटी मागे
भोकले तड्पेर मर्नेछौँ
हामी तिम्रा लागि रोटीका टुक्राहरू मागेर ल्याइरहन्छौँ ।
रोटीका स–साना टुक्रा
तिमी त्यसलाई खाँदै जाऊ ।
सबै मिलेर एक दिन तिम्रो पेटमा बन्नेछ ।
एउटा पूरा रोटी ।
कलकारखाना, कोइला, खनिज र
देशको शासनसत्ता कब्जा गर्ने कुरा नगर,
त्यस्ता प्रयत्नहरू असफल भइसके ।
अधैर्य बनेर हामी प्रश्न गर्छौँ–
होइन, कतिञ्जेल चल्छ यसरी ?’
चोर औँला उठाएर हामीलाई रोक्छन् र भन्छन्–
हामी एउटा निवेदन लेखिरहेका छौँ,
अनि उनीहरू एउटा प्रतिवेदन लेख्छन्,
अनि चिन्तन गर्छन्
त्यसपछि हतार, हतार उनीहरू अर्कै दिशातर्फ जान्छन्
हामी थाहा पाउँछौँ
उनीहरू त भिखारी होइनन्
अपहरणकर्ताहरू हुन् ।
परिवर्तनकारी विचारका
सपना र आशाहरूका
आत्माको उष्माका विरूद्ध सतत् सक्रिय
शीत लहर हुन् यी भिखारीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *