गाईजात्रा
- भाद्र १२, २०८३
आधा पेट खाएर खेलेका हुन्छन्,
डाइट खाना त परै जाओस् ।
पदक जितेको दिनमा
आफूसँग हुँदैन घर फर्किन भाडा ।
तर, साथीहरू सोध्छन्,
जितेकोमा बधाई, मिठाइ खोइ ?
कुनै खेलाडीले पाउँछन् लाखौँ पुरस्कार,
कुनैले सक्दैन खान र खेलकुद सामग्री किन्न ।
फलाकिन्छ खेल स्वास्थ्यको आधार हो,
राष्ट्रको नाममा खेलेकाले पाउँछन् तिरस्कार ।
छैन भविष्य भनी खेलकुद छोडेपछि,
पैसा त कमाउँलान् तर, स्वास्थ्य खोइ ?
भनिन्छ, खेलाडी भविष्यका कर्णधार,
तर, खेल्ने कि पढ्ने ?
खेलमैदानबाट सधैँ विद्यालय जान हतार ।
विद्यालयमा तिर्ने पैसा नहुँदा,
राष्ट्रिय खेलाडी चिन्दैनन् कसैले ।
बेच्न खोजे पदकहरू किन्ने ग्राहक खोइ ?
नेपालमा खेलाडीलाई न सम्मान छ न प्रोत्साहन,
“खेलेर जित्छु तर जितेर के पाइन्छ ?”
भन्ने निराशाबाहेक केही छैन ।
कसैले भन्थे, ‘मरेपछिको सम्मान के काम’
तर, केही प्रख्यात खेलाडीबाहेक,
राष्ट्रिय खेलाडी मर्दा पनि कसले लियो उसको नाम खोइ ।
Leave a Reply