भर्खरै :

कालीकोट र बर्दियामा भक्तपुरको काण्डको भत्र्सना

कालीकोट र बर्दियामा भक्तपुरको काण्डको भत्र्सना

कालीकोट, १६ भदौ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटको आयोजनामा भदौ ९ कालो दिनको भत्र्सना कार्यक्रम तिलागुफा नगरपालिका वडान ४ राँचुलीमा सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले ‘भक्तपुर काण्ड’ बाट प्रतिक्रियावादीहरूले कस्ता खालका षड्यन्त्र गर्छन् भन्ने कुरा सिक्न सकिने बताउनुभयो । उहाँले पार्टीका जनपक्षीय गतिविधिबाट अत्तालिएर नेमकिपालाई समाप्त पार्न खोज्ने पञ्चायत आफै समाप्त भएको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले नेमकिपा जनताको राजनैतिक स्तर उठाउन र आम नगरिकलाई बुद्धिजीवीकरण गर्न तल्लीन रहेको बताउनुभयो । उहाँले तत्कालीन पञ्चायत नै नेमकिपाका नेता र कार्यकर्ताविरुद्ध उत्रेको बताउनुभयो ।
पार्टी जिल्ला समिति अध्यक्ष खडगराज शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय उपाध्यक्ष नरदिप शाही र पार्टी जिल्ला समिति सचिव धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।
बर्दिया
नेपाल मजदुर किसान पार्टी बर्दियाको आयोजनामा सोमबार बारबर्दियामा पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर वासीले विपद्को बेलामा जनतालाई झन् दुःख दिने उद्देश्यले षड्यन्त्र गर्ने प्रतिक्रियावादी शासकहरू छिट्टै नाङ्गिँदै जाने बताउनुभयो ।
भूकम्पबाट घरबारबिहीन जनतालाई राहत बाँड्नुको सट्टा जनपक्षीय राजनीतिलाई निस्तेज पार्न राज्यस्तरबाटै षड्यन्त्र भएको चर्चा गर्दै उहाँले कामदारवर्गलाई दमन गर्न प्राकृतिक विपत्तिमा पनि षड्यन्त्र हुनु निर्दयी उदाहरण हो भन्नुभयो ।
शोषण र अन्यायको रूप फेरिए पनि सारमा कामदारवर्गलाई दबाउन प्रतिक्रियावादी वर्ग झन् कठोर बन्दै आइरहेको उल्लेख गर्दै उहाँले कामदार जनता सचेत र सङ्गठित हुनु आवश्यक छ भन्नुभयो ।
उहाँले भोटेकोसीमा आएको अकल्पनीय बाढीबाट नेपाली जनता आक्रान्त भइरहेको बेलामा साम्राज्यवादीहरू नेपाल र चीनबिचको सम्बन्ध बिगार्न उद्यत रहेकाले नेपाली देशभक्त कामदार जनता सावधान हुनु आवश्यक छ भन्नुभयो ।
नेमकिपा बर्दियाका संयोजक हरिलाल न्यौपानेले फेरिएको परिस्थितिमा अझ बढी सुझबुझका साथ अगाडि बढ्नुपर्ने र समाजवाद नआएसम्म विश्राम गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा धर्मराज जैसी आचार्य, थिरबहादुर वली र मानबहादुर खत्रीलगायतले राज्यस्तरको षड्यन्त्रको भत्र्सना गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *