शिक्षा शिविरको मूल मर्म सदस्यहरूलाई सहकारीतासम्बन्धी जानकारी दिनु हो
- भाद्र २०, २०८३
भक्तपुर, २० भदौ । भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा सुडालस्थित ठुली ब्रह्मायणीमा वडा नं. ७ बाट भक्तपुर नगरपालिकामा कार्यरत कर्मचारी, स्थानीय आमा समूहका सदस्य तथा स्थानीय बासिन्दाबिच भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले धर्म पूजा, भजन–कीर्तन र भोजभतेरमा मात्र सीमित नभई विज्ञानसँग पनि जोडिएको विषय भएकोले यसबारे गहन अध्ययन आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई धर्म तथा संस्कृतिको महत्वबारे सिकाउँदै जानुपर्ने र पुस्तान्तरण गर्दै जानुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भेटघाट कार्यक्रमले एकआपसमा परिचय तथा सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले गर्दै आएको घरघरमा नर्सिङ सेवाले नगरवासीहरू लाभान्वित भइरहेको जानकारी दिनुभयो । वडा विकास तथा वडालाई थप क्रियाशील बनाउन वडावासीको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिका वडा नं. ७ गोमारीमा आगामी कार्तिक ६ र ७ गते आयोजना हुने पीखुकगु नेपालभाषा साहित्य तःमुंज्या भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो ।
न्यायिक समितिको भूमिकाबारे चर्चा गर्दै उहाँले घरेलु समस्या, छिमेकीबिचका विवाद, मेलमिलाप, जग्गा–जमिनलगायत विभिन्न समस्या न्यायिक समितिमार्फत समाधान हुँदै आएको बताउनुभयो । समाजमा देखिने सामाजिक समस्याहरूलाई समुदायबाटै समाधान गर्न प्राथमिकता दिनुपर्ने र समुदायबाट समाधान हुन नसके पालिकाको न्यायिक समितिमार्फत समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो ।
उपप्रमुख जोशीले अपाङ्गता भएका नागरिकले आफ्ना अधिकारका विषयमा अझै पर्याप्त जानकारी पाउन नसकेको उल्लेख गर्दै उनीहरूलाई आफ्ना अधिकारबारे जानकारी गराउन सबैले सामूहिक रूपमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. ७ का अध्यक्ष उकेश कवांले छोराछोरीलाई प्रविधिको ज्ञानसँगै अध्ययनमा पनि अगाडि बढाउनुपर्ने बताउनुभयो । देश सङ्कटबाट गुज्रिरहेको वर्तमान अवस्थामा सङ्कट र पीडालाई शक्तिमा रूपान्तरण गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष कवांले वडा नं. ७ गोमारीमा यही कार्तिक ६ र ७ गते आयोजना हुने पीखुकगु नेपालभाषा साहित्य तःमुंज्या सफल बनाउन सबै सक्रिय रूपमा लाग्नुपर्ने बताउनुभयो । व्यवहारमा गरिने सानो गल्तीले पनि जीवनभर असर पार्न सक्ने भएकाले एकअर्काप्रति गरिने व्यवहारमा सबै सचेत हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाले नगरभित्रका विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको विषय अध्ययन गर्नका लागि ऋण उपलब्ध गराउँदै आएको जानकारी दिँदै अध्यक्ष कवांले नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै सिकेको सीपअनुसार व्यवसाय सञ्चालन गर्न पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको बताउनुभयो ।
पर्यटन व्यवसायको नाममा समाजलाई नपच्ने तथा सामाजिक मूल्य–मान्यताविपरीतका व्यवसाय सञ्चालन गर्न नगरपालिकाले स्वीकार नगर्ने उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा वडा सदस्य हेरा ख्याजूले आफ्नो समाज र समुदाय सफा राख्ने जिम्मेवारी सबैको भएको बताउँदै सरसफाइमा स्थानीय बासिन्दा आफैं सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. ७ का जनप्रतिनिधि, नगरपालिकामा कार्यरत कर्मचारी, आमा समूहका सदस्य तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो । कार्यक्रमले वडा तथा स्थानीय समुदायबिच आपसी परिचय, सहकार्य र सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।
Leave a Reply