नदी सुक्ला अनि तर्छु भनी बस्याको
- भाद्र २६, २०८३
रामचन्द्र एक जिम्मेवार समाजसेवी थिए । उनको सानो परिवारमा एक कमाउने छोरो र बुहारी, दुई स–साना नाति–नातिनी छन् । ५० नाघेकी उनकी जहान पनि एक विद्यालयमा काम गर्छिन् ।
दिउँसो घरमा रामचन्द्र विभिन्न जात र भाषाभाषीका युवाहरूलाई समाजसेवाबारे सम्झाउने, बुझाउने र कक्षा सञ्चालन गर्ने गर्थे । १० बज्नुभन्दा पहिले नै खाना खाएका घर मालिकलाई भोक लाग्नु स्वाभाविक थियो । एक्लै चिया र घरमा पकाएको रोटी वा अन्य केही चिउरा–तरकारी भएको रिकापी एउटा किस्तीमा उनी ल्याउथे र सबै मिलेर खान्थे ।
घरमुलीले खाजा खाएपछि उनले २–४ वटा कप र रिकापीमाथि बुइँगलमा लान्थे र धोई पखाली गरी घोप्ट्याएर हात पुछ्दै पुनः कक्षा सञ्चालन गर्थे । ४ बजेपछि केटाकेटी स्कूलबाट घर फर्कन्थे, बज्यै वा आमाले पनि खाजा तयार गरेर केटाकेटी र पछि सासू–बुहारी पनि खाजा खान्थे । उनको छोरो एक सानो विद्यालयका प्र.अ. थिए । कहिलेकाहीँ सासू–बुहारी घर नपुग्दै आफू घर पुग्नासाथ लालाबालासँगै खाजा खान्थे र आमा र पत्नीको निम्ति पनि खाजा तयार गर्थे ।
XXX
समाज सुधारमा कार्यकर्ताहरूलाई सधैँ घरपति र नायकले कप र रिकापी माथि लान दिनु नरमाइलो सम्झेर कुनै एक जना प्रशिक्षार्थीले अगाडि आएर माथि लगिहाल्थ्यो र पुनः कक्षा सञ्चालनमा बस्थ्यो । तर, तिनीहरूमध्ये कसैलाई पनि आफूले खाएको भाँडाकुँडा धोइपखाली गर्नु पनि ‘सदाचार’ हो भन्ने थाहा थिएन । युवा प्र.अ.लाई चुलोमा पहिले बुबा र कार्यकर्ताहरूको जुठो सफा गर्ने हो वा भोकाएका छोरा छोरीलाई खाजा तयार गर्ने हो भन्नेबारे दुविधा हुन्थ्यो । तैपनि चल्दै थियो – दैनिकी एक समाजसेवीको घरमा ।
तर, एक दिन समाजसेवी कार्यकर्ताले नै म आज चिया बनाउँछु भन्दै माथि उक्ले र खाजा बनाए । भएका दूध, कफी, चिया बनाएर तल ल्याएर खाएपछि अर्काे साथीले ती भाँडाकुँडा धोइपखाली ठाउँमा राखेर तल आए । पहिलेका साथीले चिया, कफी र चिनीको भाँडो चम्चा त्यसै अलपत्र राखेर गएका थिए ।
प्र.अ. र केटाकेटी माथि भान्छामा पुग्दा चिनीको बट्टा र चम्चामा झिङ्गा भन्केको र धोई पखाली गर्नुपर्ने जुठोको थुप्रो पहिले सफा गरूँ वा केटाकेटीलाई खाजा जोरजाम गरुँ भन्ने भयो । सञ्जोगले तल चिया र खाजा लैजाने कार्यकर्ता भाइलाई घरमा परिवारका सदस्य लालाबाला आउने ध्याउनै भएन ।
मन खिन्न बनाउँदै छोराछोरीलाई फकाई तुरून्तै बजारमा गई खाजा किनेर आफू र लालाबालालाई खुवाए । पछि फेरि पसल गएर आमा र पत्नीको निम्ति थप खाजाको जोरजाम गर्न चुलो बाले ।
तर, रातको खाना खाने बेला छोरो किन खिन्न देखियो भनी बुबालाई केही थाहा भएन । आमा र जहानलाई मात्रै घरको बन्दोबस्त अलि व्यवस्थित गर्नुपर्ने र चुलोमा जोसुकै आएर काम गर्दा सबै लथालिङ्ग हुने कुरो अवगत गराइयो । यसबारे सासू र बुहारी पनि अवगत थिए र कुरा अगाडि बढाइएन ।
XXX
रामचन्द्रलाई सधैँ छोरा, आफ्नी जहान, बुहारी र केटाकेटीसँग खाना खान बानी परेको हुँदा बुइँगलमा केटाकेटीको अभाव र छोरो, जहान र बुहारी पनि कम बोलेको देख्दा उनको मनमा केही चिसो अनुभव त गरेका थिए । तर केही नभनी उनी तल झरे ।
१० बजे सुतेको रामचन्द्रलाई निन्द्रा लागेन । जहान अर्कै कोठामा सुत्ने गर्थिन् । ११ बजे बाथरूमको कोठा खुलेको आवाज छोरा र बुहारीले चाल पाए । १२ बज्यो, फेरि बाथरूमको ढोका खुल्यो र बन्द भयो । १ बज्यो, बाथरूमको कोठा खुल्यो र बन्द भएको आवाज छोरा र बुहारीलाई अनुभव भयो ।
रामचन्द्रको मनमा कुरा खेल्यो । बुहारीले भनिन्, “बुबा खाना खान आउनु हुँदा आज बोल्नु पनि भएन । मुख पनि तपाईंको खिन्न थियो । मैले बोल्ने विषय पनि भएन । आमा पनि बोल्नु भएन । सायद बुबालाई आज निन्द्रा लागेन र मनमा कुरा खेलाउनुभएको जस्तो छ ।”
छोरोले भन्यो, “खोइ मलाई कसैसँग बोल्नै मन लागेन । केटाकटीकै निम्ति भए पनि अर्कै डेरा खोज्नुपर्ने हो कि ? त्यसो गर्नु पनि समाजले राम्रो मान्दैन र खर्च पनि बढ्छ । बुबा–आमालाई कसरी छोडेर जाने ¤”
“रामचन्द्रले नयाँ युवाहरू माथि चुलोमा खाजा बनाउन गएको, फेरि अर्कै युवा गएर जुठो भाँडाकँुडा लगेको धोई पखाली र सफाइमा त्रुटि पो भयो कि ? हुन्छ, छोरालाई नै कोठामा बोलाएर सोध्नुपर्ला !”
रातको ३ बजेसम्म रामचन्द्रको कोठामा बत्ती बल्दै थियो ।
Leave a Reply