नदी सुक्ला अनि तर्छु भनी बस्याको
- भाद्र २६, २०८३
संसारमा धेरै सभ्यताले आकाशबाहिर पुग्ने कल्पना गरे । कल्पनाको उडानमा कैयन् काव्य र गद्य लेखे । तर, त्यसलाई साकार पार्न धेरै गर्न सकेनन् । आफ्नै काल्पनिकी भज्दैमा तिनलाई भ्याइ–नभ्याई भइरह्यो ।
कल्पना त हाम्रा महाकविको पनि थियो । उनले लेखे – उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक । त्यो कल्पना पूरा गरिदियो – संसारको पहिलो सफल मजदुर–राज्य सोभियत सङ्घले । १९५९ सेप्टेम्बर १२ मा सोभियत सङ्घको लुना–२ यानले पहिलोपल्ट चन्द्र धरातल टेक्यो । त्यसको दुई दिनपछि महाकवि देवकोटाको निधन भयो । रुसकी नेपालविद् ल्युद्मिलाले लेखिन् – “सायद सोभियत अन्तरिक्षयानले महाकविलाई चन्द्रमामा लिएर गयो ।”
मानव कल्पना र विज्ञानको कति मिठो मिलन !
नेपाल र रुसलाई साइबेरियन सारसले जोडेको थियो† प्रकृतिले जोडेको थियो । बुद्ध मूर्तिले जोडेको थियो† ‘बहुजन हिताय, बहुजन सुखाय’ ले जोडेको थियो । यही बुद्ध–वचनमार्फत बोल्शेभिक क्रान्तिले मध्ययुगीन रुसलाई अन्तरिक्षसम्म पु¥यायो । मानव कल्पनालाई आकार दिने अठोट, ज्ञान र आँट देखायो ।
क्रान्तिको फल एक्लै चाख्न चाहेनन् रुसीजनले । त्यसैले उनीहरूले संसारतर्फ ज्ञान–विज्ञानको हात बढाए । नेपालजस्ता तेस्रो विश्वका मुलुकका छोराछोरी पनि डाक्टर, इन्जिनियर र वैज्ञानिक बन्न थाले । यी मुलुक विकास निर्माणको परिपथमा लम्किन थाले । सोही यात्राको आंशिक एवम् सङ्क्षिप्त दस्ताबेज हो – ‘नेपाल–रुस सम्बन्धका पाटाहरू’ । पुस्तकका लेखक ई. रामबिन्दु श्रेष्ठ आफै यो यात्राका अविराम यात्री र साक्षी हुनुहुन्छ ।
सम्बन्धका अनेक आयाम
नेपाल–रुस सम्बन्धको आयाम निकै फराकिलो छ ।
प्रकृति र संस्कृतिले धेरै पहिले जोडिसकेको नेपाल र सोभियत रुसबिच औपचारिक दौत्य सम्बन्ध सन् १९५६ मा जोडियो । त्यसको दुई वर्षपछि तत्कालीन राजा महेन्द्र रुसको भ्रमणमा गए । उनको भ्रमण झन्डै एक महिना लम्बियो । महेन्द्रको यो सबैभन्दा लामो विदेश भ्रमण थियो । यसपछि नेपालको विकासमा रुसले धेरै टेवा दियो । नेपालको भौतिक पूर्वाधार, उद्योगधन्दा र जनशक्ति निर्माणमा रुसको योगदान प्रातःस्मरणीय छ । पुस्तकमा नेपाललाई पूर्वदेखि पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्गमा काम गर्न आएका एक रुसी इन्जिनियर तन गोन्छारोभको मर्मस्पर्शी संस्मरण पढ्न पाइन्छ ।
साहित्यिक र सांस्कृतिक सम्बन्धले पुस्तकको धेरै पाना भिजेको छ । नेपालमा विदेशी साहित्यको अध्ययनलाई जनस्तरमा लग्ने काम सोभियत साहित्यले नै ग¥योभन्दा फरक पर्दैन । सयौँ रुसी कृतिले नेपाली बौद्धिक वृत्तको निर्माणमा भूमिका खेल्यो । ती पुस्तकको सूची पुस्तकमा समेटिएको छ । अनुवादको यो लहर एकतर्फी रहेन । कैयन् नेपाली पुस्तकको रुसी अनुवाद पनि गरियो । यताका साहित्य र साहित्यकार उता गए । उताका यता आए । यसरी आउने साहित्यकारमा सुप्रसिद्ध कवि रसुल गाम्जातोभ पनि थिए । उनले लेखे :
“जहाँ भिराला पहाडमा बनेका घरहरू
टाँसिएका शङ्खजस्तै देखिन्छन् ।
एसियाको त्यो चमत्कार हो – नेपाल ।”
नेपालका महाकवि देवकोटा रुसको ताशकन्दमा गए । सन् १९५४ को अक्टोबरमा । विश्वका ३७ देशका २ सत्न्दा बढी साहित्यकारबिच नेपाली साहित्यको सौरभ फैलाए । उनले भने, “यो सभाले विश्वका लाखौँ उत्पीडित जनताका लागि सुनौलो आशा ल्याउनेछ र भविष्यका लागि स्पष्ट मार्गनिर्देशन गर्नेछ । यो भेला हाम्रा अमिट सम्झनाहरूमा सदा जीवित रहनेछ ।”
देवकोटासँग नेपालविद् विदुषी ल्युद्मिलाको सम्बन्ध बौद्धिक मात्र होइन, आत्मीय पनि रह्यो । उनले देवकोटाका धेरै रचनालाई रुसी भाषामा उल्था गरिन् । महाकविको निधनपछि उनले लेखिन्, “देवकोटा प्रतिभाशाली, स्वतन्त्रताप्रेमी, देशभक्त, शब्दशिल्पी, उपनिवेशवादविरोधी र कर्मयोगी नेपाली कवि हुनुहुन्थ्यो । देवकोटा सोभियत सङ्घका मित्र हुनुहुन्थ्यो ।… कवि मर्छ तर उसको रचना अमर हुन्छ । देवकोटाका कविता जीवन्तताका उदाहरण हुन् । देवकोटाजस्ता प्रतिभा राष्ट्रको सीमाभित्र सीमित नभई सर्वत्र अमर हुन्छन् । जनताको हृदयमा अनन्तकालसम्म रहन्छ ।”
पुस्तकमा नेपाल–रुसलाई जोड्ने उल्था जगतका सेतु कृष्णप्रकाश श्रेष्ठको चर्चा छ । लुम्बिनीमा रुसले बनाइदिएको रुसी बौद्ध मन्दिरको निर्माण–कथा छ । विभिन्न स्मारकको वर्णन छ । मैत्री सम्बन्धको बोटलाई हुर्काइरहेका विभिन्न सङ्घ–संस्थाको चर्चा छ । यो सम्बन्धलाई विस्तार गर्न सकिने सम्भावनाको क्षितिज छ ।
‘खोलो तरेर लौरो नबिर्सौँ’
सोभियत रुससँग सम्बन्ध स्थापित गरेर नेपालले आफ्नो तटस्थ परराष्ट्र नीतिको बलियो जग हालेको विद्वान् हिरण्यलाल श्रेष्ठको तर्क छ । राजा महेन्द्रको लामो भ्रमणबाट त्यो तर्क प्रमाणित हुन्छ । त्यो भ्रमणपछि नेपालमा जलविद्युत् आयोजना, कृषिऔजार कारखाना, चिनी कारखाना, कान्ति बाल अस्पताल, राजमार्ग आदिको निर्माणमा रुसले मद्दत ग¥यो । प्रथम महिला अन्तरिक्षयात्री भ्यालेन्टिना तेरेश्कोभा नेपाल आउनु नेपालका लागि आफैमा गौरवपूर्ण रह्यो ।
खासगरी युक्रेन युद्धपछि पश्चिमा मिडियामा रुसको जसरी चरित्रहत्या हुँदैछ, त्यसबाट नेपालका शासकहरू अप्रभावित नरहेको लेखक श्रेष्ठले यथास्थान सङ्केत गर्नुभएको छ । लेखकको अनुभूति छ, “अरू त अरू, निजी क्षेत्र पनि पश्चिमा दबाबको कारण रुसी कम्पनीहरूसँग खुलारूपमा काम गर्न हिच्किचाइरहेको तथ्यले मुलुकको स्वतन्त्र निर्णय गर्ने क्षमता बिटुलिएको भान हुन्छ ।”
बैगुनीलाई पनि गुनले मार्ने नेपाली संस्कारलाई स्थापित गर्नुपर्नेमा जोड दिँदै लेखक भन्नुहुन्छ, “त्यो युग, जुन बेला मुलुकलाई अशिक्षा, रोग, भोकले गाँजेको थियो र हाम्रा निम्ति शिक्षा, स्वास्थ्य र उद्योग अपरिहार्य थियो, त्यो बेला हामीलाई सहयोग गर्ने सोभियत जनताको सहयोगलाई कसरी बिर्सन सक्छौँ ?… ‘वसुधैव कुटुम्बकम्’ को मूल मन्त्रलाई हामीले बिर्सन मिल्दैन ।”
रुससँग सहकार्य गर्न सकिने विकास–निर्माणका क्षेत्रबारे पुस्तकमा अलग्गै अध्याय दिइएको छ । नेपालमा बर्सेनि हजारौँ रुसी पर्यटक आउने गरेका छन् । त्यसको घनत्व बढाउन सकिन्छ । रुसमा नेपाली मसला, जडिबुटी, औषधि, कपडा, गलैँचा आदि निर्यात गर्न सकिने अर्को सम्भावना छ । देशको कृषि, उद्योग, यातायात, सूचना–प्रविधिमा रुसको उन्नत उपकरण, प्रविधि र लगानी ल्याउन सकिन्छ । नेपालमा पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्ने विषयमा रुसले धेरै अघिदेखि चासो लिएको देखिन्छ । यी सबै सम्भावनालाई फलिभूत पार्न नेपाल तटस्थ परराष्ट्र नीतिमा अडिग रहनुपर्नेमा जोड दिनुहुन्छ लेखक श्रेष्ठ । सन्देश प्रस्ट छ – रुस नेपालको विकास निर्माणको भरपर्दो सारथी बन्न सक्छ ।
पठनानुभूतिका पत्रहरू
खोलो तर्ने, लौरो बिर्सने – यो एक अवसरवादी मन्त्र हो । यो मन्त्र नेपालका शासकहरूले मात्र होइन, बौद्धिकवृत्तले पनि अङ्गाल्दै आएको छ । सोभियत सङ्घबाटै शिक्षित र दीक्षित कति जना बुद्धिजीवीले रुसलाई हाकाहाकी माया गर्लान् ?
यस अर्थमा रामबिन्दु श्रेष्ठ अलग हुनुहुन्छ† साँच्चिकै ‘जेन्टलम्यान’ हुनुहुन्छ । उहाँको कालजयी कृति ‘मेरा सोभियत सम्झनाहरू’ पढ्ने पाठक सबैले यो कुरा महसुस गरेको हुनुपर्छ । अघिल्लो वर्ष उहाँले ‘हजारौँ विजय’ पुस्तक प्रकाशित गर्नुभयो । पुस्तकमा उहाँले पश्चिमा समाजमा पलाएको र मौलाएको फासीवादी विचारलाई परास्त गर्न सोभियत जनताले के–कस्ता दुःखकष्ट खेपेर ‘हजारौँ विजय’ हासिल गरे भनी वर्णन गर्नुभयो ।
‘नेपाल–रुस सम्बन्धका पाटाहरू’ लेखक श्रेष्ठको तेस्रो कृति हो । त्यसो त यस कृतिमा सङ्ग्रहित कतिपय रचना यसअघि नै देशका विभिन्न छापा माध्यममा प्रकाशित भइसकेका छन् । तर, तिनलाई एउटै रेखामा उनेर लेखकले अलग्गै चित्र बनाउनुभएको छ । नेपाल–रुस सम्बन्धको छोटो तर सग्लो चित्र कोर्नुभएको छ । यो चित्रमा दुई देशको विगत र आगत छ । दुई देशको सम्बन्धमा देखापरेका अनेक उकाली ओराली छन् । यात्राका अनेक रमाइला, रोचक र घोचक मोड छन् । पछिल्लो मोडबाट लेखक आहत हुनुहुन्छ । त्यसैले उहाँ व्याकुल बन्नुहुन्छ । उहाँको व्यथा पुस्तकको मूल कथा बन्छ ।
सोभियत रुस नेपाललाई पछौटेपनबाट बाहिर निकाल्ने एक सारथी बनेर आयो । उसले नेपाललाई उद्योग, अस्पताल, सडक दियो; ऊ नेपाली बौद्धिक जगतको उत्प्रेरक र सहयात्री बन्यो । पछिल्लोपल्ट देशमा ‘हवाई मित्र’ हाबी हुँदै जाँदा देशले कतै बाटो बिराएको त होइन ? लेखक श्रेष्ठको सबैभन्दा ठुलो प्रश्न हो यो । यो प्रश्न लेखक एक्लैको होइन । समग्र तेस्रो विश्वका इमानदार बुद्धिजीवीको प्रश्न हो यो ।
पुस्तकमा अनेक रस छन् । कतै साहित्यिक चर्चाले मजा दिन्छन् त कतै रुसी मित्रहरूका अनुभूतिले भावुक बनाउँछन् । कतै एक स्वतन्त्र मुलुकको रूपमा हामीलाई माथि उठाउने प्रसङ्ग छन् त कतै ‘के हामी वास्तवमै स्वतन्त्र मुलुक हौँ’ भनी प्रश्न जगाउँछन् । नेपाल–रुस सम्बन्धका उतारचढावलाई एकै ठाउँ ल्याएर इतिहासबोध गराउने लेखक श्रेष्ठ धन्यवादका पात्र हुनुहुन्छ । मन र मस्तिष्क दुवैलाई तरङ्गित पार्ने पुस्तक ‘नेपाल–रुस सम्बन्धका पाटाहरू’ सबै गम्भीर पाठकले पढून् ।
Leave a Reply