ल्याटिन अमेरिका र क्यारिबियाली देशहरू अमेरिकी सरकारको आक्रमणको लक्ष्यमा
- आश्विन ६, २०८३
काठमाडौँ, ६ असोज । विश्वका मुलुकहरू अहिले पनि असुरक्षित छन् । विश्व असुरक्षित र आतङ्कित हुनुको प्रमुख कारण संयुक्त राज्य अमेरिका हो । अमेरिकाले विश्वका विभिन्न स्वाधीन र सार्वभौम देशहरूमा आक्रमण गरेको छ† आर्थिक नाकाबन्दी गरेको छ; देशका राष्ट्र प्रमुखहरूको हत्या गर्ने र गराउने, पक्राउ गर्ने र थुन्ने काम गरेको छ । अरु स्वाधीन देशलाई आफ्नो अधीनमा राख्ने र अधीनमा नबस्ने देशमा आक्रमण गर्ने अमेरिकाकै कारण विश्व त्रसित छ । विश्वभर शान्तिको सन्देश छर्नुपर्ने बेला आक्रमण गरेर शान्ति बिथोल्ने साम्राज्यवादी देशहरू रहेसम्म विश्वले शान्ति पाउने छैन । एकातिर विश्वमा शान्ति दिवस मनाइयो भने अर्काेतिर विश्वमा शान्ति बिथोलेर आतङ्क मचाइँदै छ । विश्वमा आतङ्क मचाउने काममा अमेरिका संलग्न छ ।
विश्वमा शान्ति सुरक्षाको आवश्यकता छ । विश्वमा शक्तिशाली देशहरूले शान्ति सुरक्षाको निम्ति काम गर्नुपर्ने हो । शान्ति, प्रजातन्त्र र मानव अधिकारको नाउँमा विश्वमा शान्ति भङ्ग गर्ने देश र देशका शासकहरूदेखि सचेत हुनुपर्छ । विश्वमा शान्तिको सन्देश छर्ने हो भने आर्थिक नाकाबन्दी रोक्नुपर्छ† आक्रमण रोक्नुपर्छ, विकासमा एकले अर्काेलाई साथ र सहयोग गर्नुपर्छ । अहिले त अमेरिकाले कहिले कुन देशमा आक्रमण गर्छ भन्ने थाहा हुँदैन । इजरायल–इरान आक्रमणबाट कायल भएपछि अमेरिकाले युद्धविराम ग¥यो । युद्धविराम भएको मसी सुक्न नपाउँदै अमेरिकाले फेरि युद्ध छेड्यो । यो अमेरिकाले इरान र आफ्नै देशका जनतालाई मात्र होइन विश्वका न्यायप्रेमी र देशभक्त जनतालाई विश्वासघात गरेको हो । संसारका जनताको आँखामा धुलो छ्यापेर विश्वासघात गर्ने अमेरिकाले संसारमा आतङ्क फैलाउने, युद्ध गर्ने र गराएर हतियार बेची नाफा कुम्ल्याउने र पेट्रोलियम पदार्थ कब्जा गरिरहेको छ । अमेरिकाले शक्तिको अहङ्कार देखाइरहेको छ; शक्तिशाली देश भन्दै अरु देशलाई तर्साइरहेको छ ।
अमेरिका अरु देशलाई लडाउने, जुधाउने अरु देशको विकासमा बाधा पु¥याउने मात्र होइन विकासका पूर्वाधारहरू नै ध्वस्त पारेर कमजोर पार्ने लक्ष्यसहित लागिरहेको अनुभव विश्वका जनताले गरिरहेका छन् ।
विकास, विज्ञान र प्रविधिमा लम्किरहेको देश चीनको प्रगतिमा बाधा हाल्ने, चीनलाई घेरामा हाल्ने र चीनलाई पनि कहीँ न कहीँ युद्धमा फसाउने षड्यन्त्र अमेरिकाले गरिरहेको छ । कहिले तिब्बतको प्रसङ्ग उठाएर त कहिले हङकङको प्रसङ्ग उठाएर आन्तरिक कलह बढाउने र आपसी द्वन्द्व चर्काउने र चीनलाई कमजोर बनाउने प्रयास अमेरिकाले गरिरहेको छ । यसको निम्ति अमेरिकाले नेपाललाई पनि प्रयोग गरिरहेको छ । अमेरिकाले कहिले प्यालेस्टिन र प्यालेस्टिनी जनताको विरोधमा युक्रेनलाई उठाउने काम त कहिले इरानको विरोधमा इजरायललाई उठाउने काम गरेकै हो ।
राजनीतिक विश्लेषकहरूले विश्व शान्ति दिवसमा खोइ त शान्ति भनी प्रश्न गर्न थालेका छन् । शान्ति स्थापनाको निम्ति दोस्रो विश्व युद्धपछि स्थापना भएको संयुक्त राष्ट्र सङ्घ पनि विश्वमा शान्ति स्थापनामा लागेको देखिँदैन । संयुक्त राष्ट्र सङ्घ संयुक्त राज्य अमेरिकाको कठपुतली बनेको छ । अमेरिकाले गरेको आक्रमण र नाकाबन्दीबारे संयुक्त राष्ट्र सङ्घ मूकदर्शक बनेको छ । अमेरिकाको अगाडि बोल्न नसक्ने, खबरदारी नगर्ने संयुक्त राष्ट्र सङ्घ आफै थला परेको छ । यस्ता हरेक दिवसहरू अनौपचारिकतामा सीमित देखिन्छ । नेपाललाई आर्थिक सहयोग र विकास बाँडेर आफ्नो जालमा फसाउने काममा हिजो भारत सक्रिय थियो भने अहिले अमेरिका क्रियाशील छ । एमसीसी सम्झौता नेपालमा परेड खेल्ने एक बाटो बनेको छ । यो सम्झौताबाट पनि देशमा अमेरिकी गतिविधि बढेको देखिन्छ । नेपालको सेना दिवसमा अमेरिकी सेनाले परेड खेल्नु, विद्यालयमा अमेरिकी सेनाले कवाज खेल्नु यसको दृष्टान्त हो । यसरी नै बिचबिचमा अमेरिकी सेना र गुप्तचरहरू कहिले तालिमको नाउँमा त कहिले एमसीसी सम्झौता कार्यान्वयन र अनुगमनको नाउँमा नेपाल छिरिरहेका छन् । यस्ता र यस्तै खालका अन्य गोप्य र खुला अमेरिकी सेनाको गतिविधिले शान्तिपूर्ण देशलाई पनि युद्धको मैदान बनाइरहेको तर्फ सरकार, राजनीतिक दल र नागरिक समाजको ध्यान जानुपर्छ । नेपाललाई कसैले पनि अशान्तिको बीउ छर्ने माध्यम नबनाओस् । नेपाल विदेशी सेनाले परेड खेल्ने भूमि नबनोस् । कुनै अरु छिमेकी देशलाई घेरा हाल्ने आधार नबनाइयोस् ।
Leave a Reply