संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपति पेजेस्कियानद्वारा संरा अमेरिकाको कडा विरोध
- आश्विन ८, २०८३
काठमाडौँ, ८ असोज । संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभा न्युयोर्कमा सुरु भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा उच्चस्तरीय छलफल तथा बैठक चालू छ । ‘विश्वास, पुनस्र्थापना, रुपान्तरण व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्र सङ्घ’ भन्ने उद्घोषका साथ भएको महासभामा समुद्री सतह बढ्दै गएको खतराबारे उच्चस्तरीय बैठक आयोजना गरिएको हो । बैठकमा समुद्री सतह वृद्धिका कारण प्रभावित मुलुक तथा समुदायको सुरक्षा, जीविकोपार्जन र दीर्घकालीन अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो । महासभाको उच्चस्तरीय सप्ताहन्तमा शान्ति तथा सुरक्षा, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता, स्वास्थ्य तथा विश्वव्यापी सहकार्यलगायतका विषय प्रमुख रूपमा उठिरहेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सभामा बोल्न लाग्दा देशका विभिन्न राष्ट्र प्रमुख, प्रधानमन्त्री तथा प्रतिनिधिहरूले बैठक बहिष्कार गरेका थिए । राष्ट्र प्रमुख तथा प्रतिनिधिहरू हल बाहिर निस्किरहेको दृश्यले विश्वका मुलुकहरूको दृष्टिकोण इजरायलप्रति सकारात्मक नरहेको थाहा हुन्छ । कति देशका प्रतिनिधिहरूले सिटी बजाएर विरोध गरेका थिए । एक समय त सभा हल नै झन्डै शून्य स्थितिमा पुगेको थियो । बैठक बहिष्कार इजरायलले इरानमा गरेको आक्रमणको विरोधको सङ्केत हो । अमेरिकी प्रशासनको इसारा र सहयोगमा इजरायलले इरानमा हमला गरेको थियो । महासभामा भएको इजरायलको विरोधले विश्वका जनता इजरायलको पक्षमा नभएको थाहा हुन्छ । यसले विश्वका मुलुक र जनता साम्राज्यवाद र साम्राज्यवादी नीतिको पक्षमा नरहेको सङ्केत गर्छ ।
इरानका राष्ट्रपति मसूद पेजेस्कियानले भने, “युद्ध अन्त्य गर्न कूटनीतिक माध्यमबाट समाधान खोज्न इरान तयार छ । तर, हामी कहिल्यै साम्राज्यवादसामु घुँडो टेक्ने छैनौँ ।”
महासभाका सदस्यहरूले उहाँलाई उठेर स्वागत गरेका थिए । उहाँको भनाइप्रति समर्थन गर्दै ताली बजाइएको थियो । तर, अहङ्कारी, शक्तिको घमण्ड गर्ने संरा अमेरिकाका राष्ट्रपति ट्रम्पले सो सभामा ‘इरानलाई सखाप पार्ने’ धम्की दिएर संसारलाई आतङ्कित पार्ने काम गरे । विश्वका जनतालाई आतङ्कितमात्र होइन असुरक्षित बनाउने धम्की दिएर त्रसित बनाउने विचार ट्रम्पले फेरि दोहो¥याए । सम्झौता गर्ने अनि सम्झौताको मसी सुक्न नपाउँदै आक्रमण गर्ने अमेरिकी नीति र क्रियाकलापको पनि सभामा सहभागी देशहरूले विरोध गरे ।
विश्वका राष्ट्रप्रमुख र जनताले अमेरिका कति रुष्ट, निर्दयी र आतङ्कित पार्ने देश रहेछ भन्ने कुरा महासभामा बोलेको अभिव्यक्तिले बताउँछ । यसकारण, विश्वका शान्तिकामी र देशभक्त जनता साम्राज्यवादी नीतिको विरोधमा छन् । संसारबाट साम्राज्यवाद अन्त्य नभएसम्म संसारका देश र जनताले सुरक्षाको अनुभूति गर्न पाउने छैनन्; संसारमा आतङ्क मच्चाउने, आतङ्कित पार्ने देशमा संरा अमेरिका अगाडि छ । उसको पछि दौड्ने देशमा इजरायल, युक्रेन आदि रहेका छन् । शक्तिशाली देशले गर्ने आक्रमण, आर्थिक नाकाबन्दी, दबाब र हस्तक्षेपको विरोधमा संरा सङ्घको पनि ध्यान पुग्नुपर्छ । संसारमा शान्ति छर्ने, देशलाई सुरक्षित बनाउने काममा संरा सङ्घ सचेत हुनुपर्छ; ठुलो देशले सानो देशलाई गर्ने हस्तक्षेपको विरोध र निन्दामात्र होइन त्यस्तो कार्य रोक्नु पर्छ । आफ्नो विचार नमानेका देश र देशका राष्ट्र प्रमुख तथा जनतालाई आतङ्कित, असुरक्षित र हस्तक्षेप गर्ने अमेरिकी नीतिको संरा सङ्घले विरोध गर्नुपर्छ । महासभाको बैठकले सोको प्रस्ताव पारित गर्नुपर्छ ।
महासभाको बैठकमा साम्राज्यवादी पक्षधर र विरोधीहरूको कित्ता छुटिनु स्वाभाविक हो । साम्राज्यवादी देशहरूको आक्रमण विश्वका देश र जनताले जहिल्यै सहँदैनन्† स्वीकार्दैनन् । अमेरिकी आक्रमण या युद्धको लाखौँ करोडौंँ जनताले विरोध गरेका थिए । विश्वका सबैजसो मुलुकका दल र जनताले साम्राज्यवादी नीति र आक्रमणको विरोध गरेका थिए । आतङ्क फैलाउने र आक्रमण गर्ने अमेरिकी सरकारको विश्वभर विरोध भइरहनुको अर्थ साम्राज्यवादी नीतिको कारण अमेरिका विश्वबाट एक्लिँदै छ; साम्राज्यवादको विरोध विश्वका जनताले गरिरहेका छन् । शान्तिप्रेमी र देशभक्त जनता एकातिर र साम्राज्यवाद र साम्राज्यवादी देशका पिछलग्गूहरू अर्कोतिर छन् । साम्राज्यवादको विरोध विश्वभरि फैलिनु सकारात्मक पक्ष हो । यसले विश्वमा सकारात्मक सन्देश छर्नेछ† छरिरहेको छ । यो एक्काइसौँ शताब्दी साम्राज्यवादको अन्त्यको शताब्दी हुने राजनीतिज्ञहरूको विश्लेषण सत्यको नजिक पुग्दै छ ।
Leave a Reply