भर्खरै :

तीन दशकपछि जीवन्त भयो खगां भैलः प्याखं मौलिक संस्कृति पुस्तान्तरणको नयाँ सुरुआत

तीन दशकपछि जीवन्त भयो खगां भैलः प्याखं मौलिक संस्कृति पुस्तान्तरणको नयाँ सुरुआत

भक्तपुर, ९ असोज । चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलस्थित खगां टोलमा करिब तीन दशकदेखि निष्क्रिय रहेको ऐतिहासिक तथा मौलिक खगां भैलः प्याखं पुनः जीवन्त भएको छ । परम्परागत प्याखंको पुनर्जागरणसँगै नयाँ पुस्तालाई मौलिक संस्कृति हस्तान्तरण गर्ने अभियानले गति लिएको छ ।
खगां भैलः प्याखंलाई पुनर्जीवन दिने उद्देश्यले गत साउन २८ गतेदेखि सञ्चालन गरिएको प्रशिक्षणको दीक्षान्त (पिदानेगु ज्याझ्व) सम्पन्न भरिएको हो । स्थानीय अग्रजहरूको मौखिक इतिहास, परम्परागत स्मृति तथा उपलब्ध ऐतिहासिक तथ्यअनुसार खगां भैलः प्याखंको परम्परा वि.सं. १९८० भन्दा अघिदेखि रहेको बताइन्छ ।
खगां भैलः प्याखं व्यवस्थापन समितिको आयोजनामा बिहीबार सम्पन्न दीक्षान्त कार्यक्रममा प्याखंका गुरु, कलाकार, स्थानीय ज्येष्ठ नागरिक, जनप्रतिनिधि, संस्कृतिकर्मी, संस्कृति संरक्षणमा सक्रिय व्यक्तित्व तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
कार्यव्यस्तताका कारण औपचारिक कार्यक्रममा सहभागी हुन नसके पनि दीक्षान्तमा सरिक भएका चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले खगां भैलः प्याखंको संरक्षण र निरन्तरताका लागि नगरपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना दिनुभएको थियो ।
चाँगुनारायण नगरपालिका–९ का वडा अध्यक्ष गणेश त्यातले लोपोन्मुख अवस्थामा पुगेको मौलिक प्याखंलाई पुनर्जीवन दिनु महत्वपूर्ण कार्य भएको बताउनुभयो । खगां भैलः प्याखं ताथलीको सांस्कृतिक पहिचानसँग जोडिएको उल्लेख गर्दै उहाँले यसको संरक्षण र निरन्तरताका लागि समुदायको सक्रियता आवश्यक रहेको बताउनुभयो ।
दीक्षान्तको अवसरमा प्याखं तथा धाँ गुरु कृष्णगोपाल छुकां, प्याखं गुरु राजाराम छुकां र राम छुकांलाई विशेष सम्मान गरिएको थियो ।
नयाँ पुस्तालाई परम्परागत ज्ञान
खगां सामुदायिक भवन परिसरमा सञ्चालन गरिएको प्रशिक्षणमा नयाँ पुस्ताका कलाकारलाई परम्परागत नृत्य, अभिनय, चाल, सांस्कृतिक अनुशासन तथा प्याखंसँग सम्बन्धित मौलिक विधिबारे अभ्यास गराइएको थियो ।
प्याखं तथा धाँ गुरु एवं व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णगोपाल छुकांका अनुसार प्रशिक्षणको मुख्य उद्देश्य कलाकार तयार गर्नुमात्र नभई परम्परागत ज्ञान, शैली र सांस्कृतिक अनुशासनलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु रहेको थियो । दीक्षान्तसँगै खगां भैलः प्याखंलाई नियमित रूपमा प्रस्तुत गर्ने तयारीसमेत अघि बढाइएको व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष हरिसुन्दर छुकांले खगां भैलः प्याखं ताथलीको मौलिक पहिचान, इतिहास र सांस्कृतिक सम्बन्धसँग जोडिएको परम्परा भएको बताउनुभयो । “खगां भैलः प्याखंको पुनर्जागरण स्थानीय समुदायको एकता, सहकार्य र सहयोगको परिणाम हो “अब यसलाई आगामी पुस्तासँग जोड्दै निरन्तरता दिने अभियान अघि बढाइनेछ ।” उहाँले भन्नुभयो ।
प्याखं गुरु तथा व्यवस्थापन समितिका सल्लाहकार राजाराम छुकांले खगां भैलः प्याखं ताथलीको सौडोल र तःधचाको गौरवसँग जोडिएको सांस्कृतिक परम्परा भएको बताउनुभयो । प्याखंलाई निरन्तर रूपमा अघि बढाउन समुदायमा एकताको भावना अझ बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
समितिका सचिव सजन छुकांले पनि प्याखंको संरक्षण, निरन्तरता र पुस्तान्तरणका लागि समुदायको निरन्तर साथ आवश्यक रहेको बताउनुभयो ।
समुदायको सहयोगमा सामग्री व्यवस्थापन
प्याखं सञ्चालनका लागि आवश्यक विभिन्न सामग्री व्यवस्थापनका लागि स्थानीय तथा विदेशमा रहेका ताथलीवासी, संस्कृतिप्रेमी, सामाजिक व्यक्तित्व, व्यवसायी तथा शुभेच्छुकबाट आर्थिक तथा जिन्सी सहयोग प्राप्त हुँदै आएको समितिले जनाएको छ ।
संस्कृतिकर्मीहरूका अनुसार खगां भैलः प्याखं भक्तपुर नगरपालिकामा प्रचलित विश्वकर्मा भैलः प्याखं, तुछिमला भैलः प्याखं र ज्याठा गणेश भैलः प्याखंभन्दा पृथक मौलिक परम्परा र प्रस्तुति बोकेको प्याखं हो । यसको मौलिकता, पात्र, प्रस्तुति शैली तथा स्थानीय सांस्कृतिक सन्दर्भलाई अभिलेखीकरण गर्दै संरक्षण गर्नुपर्ने उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *