भर्खरै :

चिनियाँ देवकोटा

चिनियाँ देवकोटा

हिजोआज नेपाला युवा पुस्ता रोजीरोटीका लागि खाडी मुलुक हानिन्छन् । खाडी मुलुकका रापिला बालुवा मुस्ने काम नेपाली युवाका आँसु र पसिनाले गरिरहेको छ । मलेसियाका जङ्गलमा सर्प र बिच्छीहरूसँग उत्तिकै पौँठेजोरी खेल्छन् नेपाली युवाहरू ।
भर्खरै बिहे गरेकी श्रीमती, वृद्ध बुबाआमा, कलिला लालाबाला सम्झदै विदेशको भूमिमा श्रम गर्छन् र गुनगुनाउँछन् ‘चालीस कटेसि रमाउँला ।’
यो त्यो समयको कुरा हो जतिबेला खाडी मुलुकले विदेशी कामदारलाई काम दिन सक्ने बनेकै थिएन । उनीहरू आफैँ मरुभूमिमा तड्पिरहेका थिए । आजभन्दा ८ दशक अगाडिसम्म नेपालीहरू काम खोज्नका लागि उत्तरी हिमाल र पठार मरुभूमि नाघेर तिब्बतको ल्हासा पुग्थे । हिउँदभरि हिउँले पुरिने ल्हासामा जाडो सकिनासाथ पुग्ने नेपालीहरू लगगभ ८ महिना काम गरेर हिउँ पर्न सुरु गरेपछि उही बाटो नेपाल फर्कन्थे ।
यही वियोगान्त पीडालाई वि.स. १९९१ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन लेखेर युवा पुस्ता नेपालीको पलायन संस्कृति र बाध्यता उजागर गरेका थिए । त्यही मुना मदनले सम्भवतः पहिलोपटक नेपाल र चीनलाई साहित्यमार्फत जोडेको हो ।
नेपाल र चीनबिचको सम्बन्ध जनस्तरसम्म कसरी फैलिएको छ भन्ने कुरा मुनामदनमा मिहिन ढङ्गमा व्यक्त गरिएको छ । पैसा कमाउन तिब्बत गएका मदन बिरामी पर्दा एकजना तिब्बती (भोटे) ले गरेको सेवाले दुई देशबिचको नागरिक सम्बन्धलाई बिम्बात्मक रूपमा उभ्याएको छ । नेपाली झ्याउरे लयमा लेखिएको मुनामदन अहिलेसम्ममा सबैभन्दा बढी बिक्री हुने कृति पनि हो ।
नेपाल र चीनलाई साहित्य जोड्ने मुना मदनलाई अङ्ग्रेजी र त्यसपछि चिनियाँ भाषामा पनि अनुवाद गरिएको छ । चिनियाँ भाषामा चाहिँ एक दशक अगाडि अनुवाद भएको हो ।
लिउ चिआन
चीनको सामाजिक विज्ञानको चिनियाँ प्रतिष्ठानअन्तर्गत राष्ट्रिय संस्थाको अन्तर्राष्ट्रिय रणनीतिका प्राध्यापक लिउ चिआनले मुनामदनलाई चिनियाँ भाषामा अनुवाद गरेका हुन् । उनले अनुवाद गरेको मुनामदन खण्डकाव्य सन् २०११ को डिसेम्बरमा चिनियाँ भाषामा प्रकाशन भएको छ । प्राध्यापक लिउलाई मुनामदन अनुवाद गर्नका लागि चीनका लागि तत्कालीन नेपाली राजदूत टङ्क कार्कीले अनुरोध गरेका थिए । कार्कीको अनुरोधलाई स्वीकार गर्दै लिउले छोटो समयमै मुनामदन अनुवाद गरेको बताउँछन् ।
मुनामदनका सर्जक लक्ष्मीप्रसाद देवकोटा र यसका चिनियाँ अनुवादक लिउ चिआनका बिचमा एउटा गजबको समान संयोग मिल्न आउँछ । लक्ष्मीप्रसाद देवकोटाले मुनामदन लेख्दा उनी कहिल्यै ल्हासा गएका थिएनन् । तर, उनले त्यहाँको चित्रण सजीव ढङ्गले गरेका छन् । साँझको बेला पोतला दरबारमा बलेका दियोहरूले झलमल्ल देखिएको कुरादेखि चौरीगोठ र पशुपालक तिब्बतीको दैनिक जीवनलाई देवकोटाले जीवन्त उतारेका छन् ।
मुनामदन प्रकाशन भएको ७५ वर्षपछि चिनियाँ भाषामा अनुवाद गर्दा प्राध्यापक लिउले नेपाल टेकेका थिएनन् । उनले त्यस अगाडि रवीन्द्रनाथ टैगोरका तीनवटा कृति चिनियाँमा अनुवाद गरिसकेका थिए । उनी दक्षिण एसियाका बारेमा खोज अनुसन्धान गर्ने विज्ञ त थिए तर त्यतिबेला आफूलाई नेपाली साहित्य र संस्कृतिका बारेमा त्यति धेरै ज्ञान नभएको उनले यो स्तम्भकारसँग बताए ।
प्राध्यापक लिउले बङ्गाली र हिन्दी साहित्यबाट पनि चिनियाँ भाषामा अनुवाद गरेका छन् । त्यसो त उनलाई चिनियाँ र अङ्ग्रेजीबाहेक बङ्गाली भाषा पनि आउँछ । उनी भन्छन्, “नोवल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको साहित्त्न्दा मुनामदन धेरै उत्कृष्ट छ । मैले टैगोरका किताब पनि अनुवाद गरेको छु तर देवकोटाको मुनामदनजस्तो रसिलो र मन छुने भाव मैले कहीँ पनि पाइँन ।” मुनामदनको वियोगान्त कारूणिक कथा नै यसको बहुमूल्य विशेषता भएको उनको ठम्याइ छ ।
अनुवाद गर्नुअगाडि लिउलाई मुनामदनका बारेमा केही पनि थाहा थिएन । उनले न त नेपालको भ्रमण गरेका थिए न त नेपाली साहित्यका बारेमा बुझ्ने कुनै अवसर नै पाएका थिए । उनले भने, “मैले देवकोटाको पागल कविता अङ्ग्रेजीमा पढ्न पाएको थिएँ ।”
सन् २०१० तिर नेपालबाट एउटा सांस्कृतिक प्रतिनिधिमण्डल पेइचिङ आएको रहेछ । त्यतिबेलाका राजदूत टङ्क कार्कीले उनलाई पनि सो सांस्कृतिक कार्यक्रम अवलोकन गर्न बोलाएका रहेछन् । संयोगवश त्यहाँ मुनामदन गीतिनाटक पनि प्रस्तुत गरियो र राजदूत कार्कीले यसलाई चिनियाँ भाषामा अनुवाद गर्न आफूलाई आग्रह गरेको उनले सुनाए ।
मुनामदन गीति नाटकले उनको मन तानिसकेको थियो । उनले मुनामदन खण्डकाव्यको अङ्ग्रेजी अनुवाद पढे । जम्मा एक हजारभन्दा केही बढी लाइनमात्र भएको यो खण्डकाव्य चिनियाँमा अनुवाद गर्न उनले प्रतिबद्धता व्यक्त गरे । नभन्दै उनले तीन महिनाको समय लगाएर अनुवाद सिध्याए र सन् २०११ को डिसेम्बरमा मुनामदनको चिनियाँ अनुवाद प्रकाशनमा आयो ।
मुनामदन अनुवाद गर्दा आफूले नेपालका विभिन्न डकुमेन्ट्री हेरेको प्राध्यापक लिउले सुनाए । यसको उद्देश्य नेपाल बारेमा धेरै बुझ्ने चाहन्थे उनी । मुनामदनमा नेपाली समाज, गरिबी, नेपाली माया, धरातल, घर र आँगनलाई जीवन्त उतार्नु पर्ने भएकाले उनका लागि यो निकै चुनौतीको विषय थियो । किताब प्रकाशन गरेर मात्र सन् २०१२ मा पहिलोपटक नेपाल पुगेका प्राध्यापक लिउलाई त्यतिखेर ढुक्क लाग्यो जतिखेर उनले कल्पना गरेको नेपालीपनलाई प्रत्यक्ष नियाल्दा खासै फरक पाएनन् ।
उनले नेपाल भ्रमणको क्रममा डिल्लीबजारमा रहेको लक्ष्मीप्रसाद देवकोटाको घर र त्रिचन्द्र कलेजको पनि अवलोकन गरेको बताए । उनले अवलोकन गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारको घर नेपाल प्रज्ञाप्रतिष्ठानले भत्काइसकेको छ । त्यहाँ देवकोटा सङ्ग्रहालय निर्माण हुँदै छ । त्यो सङ्ग्रहालयले देवकोटा निवासको पुरानो तत्वलाई कति बोक्ने हो त्यो हेर्न बाँकी छ ।
प्रख्यात चिनियाँ साहित्यकार लु सुनको घरलाई चीन सरकारले संरक्षण गरेर लु सुन सङ्ग्रहालय बनाएको छ । पेइचिङ, साङहाई र क्वाङचौमा रहेका लु सुनका तीनवटै घरलाई चीन सरकारले सङ्ग्रहालय बनाएर लु सुनको जीवनी झल्किने सबै कुराको संरक्षण गरेको छ ।
पहिले नेपालको बारेमा खासै चासो नराख्ने प्राध्यापक लिउलाई मुनामदन अनुवाद गरेपछि भने नेपाल जाने हुटहुटी नै चलेको बताउँछन् । मुनामदन अनुवाद गरेको केही महिनापछि नै आफू नेपाल भ्रमणमा गएको उनले सुनाए ।
अनि अर्को रमाइलो संयोग के छ भने उनी अझै तिब्बतको ल्हासा पुगेका रहेनछन् । उनले ल्हासा जाने रहर लागेको तर अहिलेसम्म नजुरेको बताए । नेपाल र तिब्बत (भोट) लाई प्रत्यक्ष जोडेको मुनामदन अनुवाद गरे पनि आफू अहिलेसम्म तिब्बत नपुगेको कुरा उनले खुलाए ।
प्राध्यापक लिउको जन्म चीनको वल्लो शान्सी प्रान्तमा भएको हो । उनले कर्मथलो चाहिँ पेइचिङलाई बनाएका छन् । पेइचिङमा बस्ने भएकाले उनी नेपालबाट आएका साहित्यकार तथा साहित्यमा रुचि राख्ने प्रायःलाई भेट्ने गर्छन् । त्यस्ता भेटमा उनको गफको मुख्य विषय नै लक्ष्मीप्रसाद देवकोटा र उनको मुनामदनका बारेमा हुने गरेको उनले सुनाए । भविष्यमा अझै धेरै नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गर्नुपर्ने आवश्यकता देख्ने प्राध्यापक लिउले केही सुझाव पनि दिएका छन् । उनी भन्छन्, “चिनियाँ भाषा र नेपाली भाषा राम्रो जान्ने व्यक्तिसँगै साहित्यमा रुचि राख्ने व्यक्तिहरूको एउटा समूह बनाउनुपर्छ । नत्र सोझै नेपालीबाट चिनियाँमा अनुवाद गर्न गा¥हो छ ।” अनूदित साहित्यले दुई देशबिचको सम्बन्धलाई अझै मजबुत बनाउने उनको ठहर छ ।
पेइचिङस्थित नेपाली दूताबासले आयोजना गर्ने विभिन्न समारोहहरूमा सहभागी हुने गरेका छन् प्राध्यापक लिउ । दक्षिण एसियाको साहित्य तथा संस्कृतिमा उनीसँग लामो अनुभव छ । नेपाली झ्याउरे लयको लोकप्रिय कृति मुनामदनलाई चिनियाँ भाषामा अनुवाद गरेर उनले दुई देशबिचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धमा नयाँ इँटा थपेका छन्  ।
– सीआरआईबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *