सार्वजनिक संस्थान चलाउन असक्षमहरू सरकार चलाउन पनि असक्षम हुने
- आश्विन ८, २०८३
संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभा भदौ २३ गते संयुक्त राज्य अमेरिकामा सुरु भयो । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले असोज ६ गतेको सम्बोधनमा भने, “विगत एक दशकमा विनाशकारी परिणामसहित युद्धहरू भए, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरिए, असमानताका दरार फराकिलो भयो, विश्वास कमजोर भयो, जलवायु सङ्कट दैनिक वास्ताविकतामा परिणत भयो । विश्व संस्थाका उच्च अधिकारीको यो चिन्ता सदस्य देशहरू १९३ वटाकै सरोकारको विषय हो । यो संरा अमेरिकाका ट्रम्प र इजरायलका नेतन्याहुले खुलमखुला हाँक दिइरहेकोलाई सङ्केत हो ।
संरा अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्र सङ्घका महासचिवको चिन्ताविपरीत भनाइ राखे । संरा अमेरिका पहिलेभन्दा बलियो भएको यसको सेना संसारमै शक्तिशालीसहित विस्तार भएको, सबै क्षेत्रमा पहिलो बनेको, गत वर्ष १५ लाख अमेरिकी जनता गरिबीमुक्त भएको, ३२५ वर्षयता हत्या दर कम भएको र वासिङटनमा ८७ प्रतिशत अपहरण घटेको दाबी गरे । यथार्थमा ट्रम्पको सम्बोधन राष्ट्र सङ्घका बाँकी १९२ देशलाई धम्की नै थियो । संरा अमेरिकाको भन्दा चार गुणा बढी जनसङ्ख्या भएको चीनमा तीन वर्ष अघि नै सारा जनता गरिबीमुक्त भए । संरा अमेरिकामा कति गरिबी बाँकी छ ट्रम्पले उल्लेख गरेनन् ।
ट्रम्पले राष्ट्र सङ्घका एक सदस्य इरानलाई संसारको एक नम्बरको आतङ्कवादी देश भएको र क्षेप्यास्त्र, ड्रोन निर्माण गरी भण्डारण गरेको, अमेरिकी सेना र युरोपसम्म हान्न सक्ने क्षेप्यास्त्र बनाएको आरोप लगाए ।
इरानका राष्ट्रपति पेजेश्किनले सम्बोधनमा ट्रम्प र नेतन्याहुलाई इरान स्वयम् आतङ्कवादबाट पीडित भएको र संसारमा अमेरिकी र इजरायली शासकहरू नै आतङ्कवादी भएको जवाफ दिए ।
ट्रम्पले सम्बोधनमा इरानलाई आणविक हतियार कहिल्यै राख्न नदिने, इस्लामिक रिपब्लिक अफ इरान नष्ट गर्ने, संरा अमेरिकासँग कल्पनाभन्दा पनि बढी हतियारहरू भएको, बीसबुँदे गाजा शान्ति योजनाको शान्ति बोर्डमा ३० देश अर्बौँ डलर योगदानसहित सामेल भएको, मोरक्को, बहराइन, कतार, कुवेत, कजाकिस्तान, इन्डोनेसिया, अल्वानिया, कोसोभो, इजिप्ट, जोर्डनलगायत सामेल भएको, कम्बोडियो–थाइल्यान्ड, कोसोभो–सर्विया, कङ्गो–रुवान्डा, पाकिस्तान–भारत, आर्मेनिया–अजरबैजान युद्ध समाधान गरेको दाबी गरे ।
“संरा अमेरिकी र इजरायलका सरकारहरूले इरानको सहर, खेलकुद हल, विद्यालय, अस्पताल र पूर्वाधारमा बमवारी गरे भने सर्वोच्च नेता खोमेनी र हमासको उच्च राजनीतिक नेता इस्माइल हानियाको इरानमा हत्या गरेको पनि उल्लेख छ । संरा अमेरिकी र इजरायलले अन्तर्राष्ट्रिय कानुनको पालन नगर्ने, गाजामा ७० हजारभन्दा बढी निर्दोष जनतालाई क्रुरतापूर्वक हत्या गरेको, प्यालेस्टिनी वार्तामा इरान टेबलको पछाडि भएको हुँदा बमवारी गरेको तर इरानलाई आत्मसमर्पण गराउन नसक्ने, विनाशकारी हतियार भएको इजरायलमा निरीक्षण नगराउने उल्टो इरानमा निरीक्षण गराउनेलगायत आत्मरक्षा गर्नेहरू आतङ्कवादी नहुने” इरानी राष्ट्रपतिको भनाइ थियो ।
संरा अमेरिकी सरकारले २५० वर्षयता संसारका ९०० भन्दा बढी ठाउँमा सेना र हतियार तैनाथ गरेको र ५०० भन्दा बढी ठाउँमा सैनिक हस्तक्षेप र धम्की दिएको तथ्याङ्क यसअघि नै सार्वजनिक भएको हो । यसरी संसारमा शान्ति खल्बलिनुमा संरा अमेरिका र इजरायल नै जिम्मेवार भएको पुष्टि हुन्छ । यसकारण, संयुक्त राष्ट्रसङ्घको भूमिका तटस्थ हुनुपर्छ भनिए पनि भइरहेको छैन ।
Leave a Reply