भर्खरै :

विश्व पर्यटन दिवसमा संस्कृतिकर्मी, कलाकार तथा पर्यटन व्यवसायीहरू सम्मानित

विश्व पर्यटन दिवसमा संस्कृतिकर्मी, कलाकार तथा पर्यटन व्यवसायीहरू सम्मानित

भक्तपुर, ११ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा विश्व पर्यटन दिवसको अवसरमा गुन्हीपुन्ही सापारू २०८३ मा प्रदर्शन गरिएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवं आधुनिक सांस्कृतिक विधाका उत्कृष्ट कलाकारलाई पुरस्कार वितरण, पुस्तक सार्वजनिकीकरण तथा सांस्कृतिक गुरू–पर्यटनसम्बद्ध सङ्घसंस्था–व्यवसायी र सहयोगीलाई सम्मान कार्यक्रम आइतबार एक समारोहबिच सम्पन्न भयो ।
समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘चिनियाँ मित्रहरू भक्तपुरमा’ नामक पुस्तक सार्वजनिक गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै अतिथि बिजुक्छेँले सम्मानित संस्कृतिकर्मी तथा सांस्कृतिक गुरूलगायत सबैलाई बधाई ज्ञापन गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भक्तपुरका जनताको मुख्य सम्पत्ति यहाँको कला, संस्कृति तथा मूर्त–अमूर्त सम्पदा भएकोले अमूर्त सम्पदालाई समेत लिपिबद्ध गर्न सके त्यसको संरक्षणसँगै व्यापक जनसमुदायमाझ पु¥याउन सकिने र त्यसले जीवन्तता पाउने बताउनुभयो ।
सांस्कृतिक नाच शारीरिक व्यायामसँग समेत सम्बन्धित रहेको धारणा व्यक्त गर्दै उहाँले यसले स्वस्थ रहन सहयोग गर्ने बताउनुभयो ।
बाल्यकालमा सिकेको सीप जीवनभर उपयोगी हुने भन्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरका जनता कलाकार भएको धारणा राख्नुभयो ।
अग्रज सांस्कृतिक गुरूहरूको योगदानकै कारण भक्तपुरको कला तथा संस्कृति आजसम्म जीवित रहेकोले गुरूहरूको योगदानको कदर गरिरहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महिलाहरू शैक्षिक रूपमा अगाडि बढे सामाजिक रूपमा पनि अगाडि बढ्ने स्पष्ट पार्दै सरकारको मुख नताकी स्थानीय सरकारले जनताका लागि व्यवहारमै काम गरेर देखाउनुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा प्रकाशित पुस्तकले नेपाल–चीन सम्बन्ध तथा दुई देशबिचको सहकार्य र सांस्कृतिक अनुभव आदानप्रदानलाई उजागर गर्ने उहाँले बताउनुभयो ।
दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन भाषाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले सभ्यताको विकासमा महिलाहरूको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व पर्यटन दिवसको अवसरमा पुरस्कृत हुने सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले भक्तपुरका सांस्कृतिक गुरूहरूले पुस्तौँदेखि अमूर्त सम्पदाको संरक्षण र पुस्तान्तरणमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै सांस्कृतिक सम्पदा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
नेपाल–चीनबिचको सम्बन्ध तथा भक्तपुर नगरपालिकासँगको सहकार्यलाई थप उजागर गर्ने उद्देश्यले ‘चिनियाँ मित्रहरू भक्तपुरमा’ पुस्तकको विमोचन गरिएको र पुस्तकमा भक्तपुर र चीनबिचको भगिनी सम्बन्ध तथा दुई पक्षबिचको सहकार्यका महत्वपूर्ण विवरण समेटिएको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकमध्ये चिनियाँ पर्यटक दोस्रो स्थानमा रहेको उल्लेख गर्दै उहाँले भक्तपुरको कला, संस्कृति र अमूर्त सम्पदाले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो ।
अमूर्त सम्पदाको संरक्षण र पुस्तान्तरणका लागि स्थानीय जनतालाई निरन्तर उत्साहित गर्दै आएको उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले ‘चिनियाँ मित्रहरू भक्तपुरमा’ पुस्तक प्रकाशन नयाँ संस्कृतितर्फको पाइला भएको बताउँदै नयाँ पुस्तालाई प्रोत्साहित गर्ने माध्यमका रूपमा यसलाई लिनुपर्ने धारणा राख्नुभयो ।
सांस्कृतिक गुरू तथा संस्कृतिकर्मीहरूलाई सम्मान गर्दै भक्तपुर नगरपालिकाले संस्कृतिको संरक्षण गर्दै आएको उदाहरण प्रस्तुत गरेको बताउँदै उहाँले पुरानो पुस्तालाई अभिप्रेरित र नयाँ पुस्तालाई उत्प्रेरित गर्ने यस्तो कार्य उल्लेखनीय भएको बताउनुभयो।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सांस्कृतिक नगरको पहिचान बोकेको भक्तपुरका अमूर्त सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएका सांस्कृतिक गुरूहरूलाई सम्मान गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो ।
भक्तपुरले आत्मनिर्भरतालाई विशेष जोड दिँदै उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माण तथा संरक्षणको काम गर्दै आएको उहाँले बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जनताको प्रतिभाको कदर गर्दै जनतालाई सम्मान गर्ने कार्यक्रम उल्लेखनीय रहेको बताउनुभयो ।
भक्तपुरको कला, संस्कृति र परम्परा एउटै परिवारका तीन पुस्ताले संरक्षण गर्दै पुस्तान्तरण गरिरहेको उल्लेख गर्दै उहाँले स्थानीय कला तथा संस्कृतिको संरक्षणमा यहाँका समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
स्रष्टा समाज भक्तपुरका अध्यक्ष एवं भक्तपुर मासिक पत्रिकाका सम्पादक लक्ष्मण जोशीले ‘चिनियाँ मित्रहरू भक्तपुरमा’ पुस्तकले नेपाल–चीनबिचको ऐतिहासिक सम्बन्धलाई वर्तमान अवस्थासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र चीनीबच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई वर्तमान अवस्थामा समेत निरन्तरता दिन पुस्तक सहयोगी हुने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरूको मूल्याङ्कनसम्बन्धी समीक्षा गर्नुभएको थियो भने भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो ।
भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले यस वर्ष भक्तपुर नगरपालिकाले नगरभित्रका ३३ जना सांस्कृतिक गुरूहरूलाई उहाँहरूको योगदानको कदर गर्दै सम्मान गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले उत्कृष्ट कलाकारहरूलाई पुरस्कार वितरण तथा सांस्कृतिक गुरूहरूलाई सम्मान गर्नुका साथै पर्यटनसम्बद्ध सङ्घसंस्था, पर्यटनसम्बद्ध पथप्रदर्शक, ट्राभल एजेन्सी, पर्यटन व्यवसायी संस्था र सहयोगीहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा मूल्याङ्कनकर्ताहरूलाई मायाको चिनो, आधुनिक विधा र परम्परागत विधाको पुरस्कार, सहयोगीहरूलाई मायाको चिनो तथा विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
सम्मानित हुनुभएका सांस्कृतिक गुरूहरूलाई दोसल्ला ओढाई नगद रू. २०,००० सहित सम्मानपत्र प्रदान गरिएको थियो भने घिन्ताङघिसी, आधुनिक तथा परम्परागत विधाका उत्कृष्ट कलाकारहरूलाई रू. ५,००० नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्मानित हुनुभएका सांस्कृतिक गुरूहरूमा भक्तपुर नगरपालिका–१ का लक्ष्मीनारायण राजलवट, धर्मरत्न बज्राचार्य र सत्यम् किलम्बु† भक्तपुर नगरपालिका–२ का रत्नकाजी नातरी, न्हुछेबहादुर बोयजु र अष्टमान बासुकला† भक्तपुर नगरपालिका–३ का रामप्रसाद बखुन्छे, गोविन्द मल्ल, तुल्सीभक्त त्वायना र सिद्धिरत्न शाक्य; भक्तपुर नगरपालिका–४ का रामगोविन्द प्रजापति, कृष्णलाल किजु र रामगोपाल कपाली† भक्तपुर नगरपालिका–५ का बिकुबहादुर त्वानाबासु, कृष्ण कर्माचार्य, पूर्णप्रसाद आचार्य र रूपेक द्योला† भक्तपुर नगरपालिका–६ का हरिकृष्ण खड्गी, अकलबहादुर अवाल र रामचन्द्र अवाल† भक्तपुर नगरपालिका–७ का महेन्द्रराज शाक्य, जसलाल लाखा, रामभक्त लागे र इन्द्रबहादुर वनमाला, भक्तपुर नगरपालिका–८ का विष्णुगोपाल प्रजापति, पुण्यराम बोहजु र कृष्णराम त्योछिन; भक्तपुर नगरपालिका–९ का कृष्णगोपाल उलक, विष्णुबहादुर मानन्धर र मोतीमाया प्रजापति तथा भक्तपुर नगरपालिका–१० का शेरबहादुर बुयो, विष्णुप्रसाद जरेजु र रत्नसुन्दर शाक्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *