भर्खरै :

स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको स्काउट मास्टरको भेला

स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको स्काउट मास्टरको भेला

भक्तपुर, १६ असोज । नेपाल स्काउट बाग्मती प्रदेश स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको आयोजनामा स्काउट मास्टरहरूको भेला शुक्रबार भयो ।
भेलामा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा स्थानीय स्काउट प्रमुख रजनी जोशीले कार्यक्रमहरू रमाइलोको लागि मात्र गर्ने नभई त्यसबाट रचनात्मक ज्ञान पनि हासिल गर्नुपर्ने बताउनुभयो ।
उहाँले स्काउट मास्टर तालिमलाई आ–आफ्नो क्षेत्रमा सञ्चालन गरेर नयाँ स्काउट तयार गर्नुपर्ने बताउँदै आउने दसैँलाई पनि रचनात्मकरूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरेर मनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अहिले सरकारले हप्ताको दुई दिन बिदा दिएर विद्यार्थीहरूको पढाइलाई समेत बिगारेको प्रसङ्ग निकालेर सोही बिदालाई सही सदुपयोग गरेर विद्यार्थीको भविष्य अझ राम्रो बनाउने काममा महत्वपूर्ण भूमिका स्काउटले खेल्नुपर्ने बताउनुभयो ।
स्थानीय स्काउट आयुक्त बालकृष्ण वनमालाले स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाले विभिन्न समयमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको प्रसङ्ग निकाल्दै आगामी दिनमा विभिन्न गतिविधिहरू सञ्चालन गर्ने तालिका प्रस्तुत गर्नुभयो ।
आयुक्त वनमालाले ती कार्यक्रमहरूमा विभिन्न स्काउट ट्रुप र स्काउट मास्टरबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय स्काउट भक्तपुर नगरपालिकाका परिषद् सदस्य हरिगोविन्द श्रेष्ठले स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकालाई नगद रु. १० हजार सहयोग गर्नुभएको थियो ।
स्थानीय स्काउट आयुक्त बालकृष्ण वनमालाको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय सामुदायिक विकास आयुक्त पुष्पा प्रजापति, शैक्षिक पद्धति आयुक्त पवनकुमार बल्ल, राजेश गाईंजू, पुण्यराम गोठेले पनि स्काउटलाई अझ राम्रोसँग अगाडि बढाउनुपर्ने आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *