जनसत्कार उपभोक्ता साकोसको १६ औँ वार्षिक साधारणसभा
- आश्विन २४, २०८३
भक्तपुर, २४ असोज । नेपालमा डाटा सेन्टर स्थापनाको चर्चा चलिरहेका बेला यससँग सम्बन्धित अवसर र चुनौतीका विविध पक्षबारे जानकारीमूलक अभिमुखीकरण कार्यक्रम शिक्षकहरूबिच सम्पन्न भएको छ ।
अभिमुखीकरण तथा छलफल कार्यक्रममा स्रोतव्यक्तिका रूपमा ख्वप ई. कलेजका सहायक प्राचार्य एवं भूगर्भविद् डा. सुवेगमान बिजुक्छेँले प्रस्तुति दिनुभएको थियो ।
उहाँले पश्चिमा औद्योगिक देशहरूले वातावरण प्रदूषणका स्रोत बनेका उद्योगहरूलाई जसरी तेस्रो विश्वका मुलुकहरूमा स्थानान्तरण गर्दै आएका थिए त्यसरी नै अहिले कालो धुवाँको मुस्लो निष्कासन नगर्ने तर पानी र बिजुलीको अत्यधिक खपत गर्ने तथा वातावरणको तापक्रम बढाउने डाटा सेन्टरहरू विश्वभरिका गरिब र विकासोन्मुख देशहरूमा स्थानान्तरण गर्ने प्रवृत्ति बढिरहेको चर्चा गर्नुभयो ।
स्रोतव्यक्ति बिजुक्छेँले डाटा सेन्टरहरूले खपत गर्ने कुल बिजुलीको हिसाब हेर्दा अमेरिकी कम्पनीहरूले करिब ४५ प्रतिशत, चीनले २५ प्रतिशत, युरोपले १५ प्रतिशत र बाँकी अन्य देशहरूले खपत गर्ने बताउनुभयो । ती सेन्टरलाई चिस्याउन पानीको खपत अझ बढी हुने र त्यसको प्रत्यक्ष असर स्थानीय समुदायमा पर्ने भएकोले यस विषयमा बहस हुनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
जेन्युइन स्कुलमा शिक्षकहरूको क्षमता अभिवृद्धि एकाइको आयोजनामा भएको कार्यक्रमको दोस्रो सत्रमा डिजिटल युगमा मोबाइलको बढ्दो लतले पुस्तक अध्ययन र पठन संस्कृतिमा नकारात्मक असर पारेको विषयमा चर्चा गरिएको थियो ।
पठन संस्कृति प्रवद्र्धनका अभियन्ता सुदेश डोटेलले यस विषयमा विद्यालय, अभिभावक तथा अन्य सरोकारवालाले गम्भीरतापूर्वक मनन गर्नुपर्ने बताउनुभयो ।
पुस्तक पठन संस्कृतिको प्रवद्र्धनका लागि घरमा अभिभावक र विद्यालयमा शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।
विभिन्न विद्यालय तथा अभिभावकसँग गरिएका अन्तरक्रिया, अनुभव र घटनाका अध्ययन (केस स्टडी) लाई अभियन्ता डोटेलले रोचक ढङ्गले प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयमा त्रैमासिक रूपमा शिक्षक तथा विद्यार्थीहरूले नयाँ पुस्तक र विविध विषयवस्तुबारे छलफल गर्ने परम्परा विगत केही वर्षदेखि चल्दै आएको क्षमता अभिवृद्धि एकाइका संयोजक तथा विद्यालयका पूर्वप्रधानाध्यापक योगेन्द्रमान बिजुक्छेँले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजन धौभडेलले स्वागत गर्नुभएको थियो ।
Leave a Reply