भर्खरै :

संस्कृति संरक्षण गर्न सामाजिक कार्य गर्ने भावनाको विकास गर्नुपर्ने

संस्कृति संरक्षण गर्न सामाजिक कार्य गर्ने भावनाको विकास गर्नुपर्ने

भक्तपुर, २४ असोज । चण्डेश्वरी धिमे पुचःको आयोजनामा विजया दशमी २०८३ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा ५ का वडा अध्यक्ष योगन्द्रमान बिजुक्छेँले भक्तपुर नगर कलाकारै कलाकार र सम्पदा नै सम्पदा भएको नगर हो भन्नुभयो । उहाँले आजको युवा पुस्ता आफ्नो सीप बढाउन बाजागाजा तथा सांस्कृतिक क्षेत्रमा उत्साहित हुनुको साथै शिक्षालाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले संस्कृति संरक्षण गर्न सामाजिक कार्य गर्ने भावनाको विकास गर्नुपर्ने विचार व्यक्त गर्दै अहिले युवा–विद्यार्थीहरू सामाजिक सञ्जालले गर्दा बिग्रेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
ने.म.कि.पा. भक्तपुर नगर समितिका सदस्य एवम् पुचः का सल्लाहकार नारायणप्रसाद त्वानाबासुले अहिलेको समयमा विद्यालय जाने उमेरका बालबालिकाहरू मोबाइलमा नै झुण्डिएर बस्ने गरेको हुँदा सचेतनामूलक तथा रचनात्मक सांस्कृतिक गतिविधि गरी सचेत गराउनुपर्ने बताउनुभयो । चाडपर्वको समयमा भोजभतेरमा मात्र व्यस्त नभई सामाजिक क्रियाकलापलगायत नयाँ नयाँ किताब, साहित्य आदि अध्ययन गर्नुपर्ने कुरामा जोड दिनुभयो । आफूसँग भएको सीप र कला नयाँ पुस्तालाई हस्तान्तरण गरे कहिल्यै लोप नहुने कुरा पनि उहाँले बताउनुभयो ।
अतिथि विक्रम ढुकुछुले अहिलेको दसैँको चाडपर्व नजिक आउँदा पनि बजारमा दैनिक उपभोग्य ग्यासको अभाव भएको बताउनुभयो ।
धिमे पुचः का अध्यक्ष राजाराम त्वानाबासुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा, भनपा ५ चासुखेल समितिका अध्यक्ष सम्झना लाखे, पुचःका सचिव लक्ष्मीनारायण त्वानाबासुले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *