भर्खरै :

देउजागाउँ आधारभूत विद्यालयमा छात्रवृत्ति तथा पुरस्कार वितरण

देउजागाउँ आधारभूत विद्यालयमा छात्रवृत्ति तथा पुरस्कार वितरण

भक्तपुर, २४ असोज । देउजागाउँ आधारभूत विद्यालयको २३ औँ अभिभावक दिवस छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम शनिबार एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अनुराधा थापामगरले शब्दमा होइन व्यवहारमा देशलाई नयाँ बनाउने हो भने सम्पूर्ण शिक्षा निःशुुल्क, स्वास्थ्य उपचार निःशुुल्क र आत्मनिर्भर अर्थतन्त्रको विकासको लागि उद्योग तथा कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न अनिवार्य छ भन्नुभयो ।
सहरिया कामकाजी महिलाका लागि महिनावारी बिदा दिनुभन्दा पनि छाउगोठमा बस्न बाध्य महिलाहरूको समस्या समाधानमा सरकारले ध्यान दिनु आवश्यक भएको उहाँले बताउनुभयो ।
अतिथि थापामगरले चाडपर्व नजिकिँदै गर्दा सरकारले महँगी नियन्त्रण गरेर जनतालाई राहत दिनुको साटो उल्टै देशलाई विदेशी ऋण बोकाएर टाट पल्टाउने गतिविधिमा केन्द्रित भइरहनु चिन्ताको विषय हो भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यभक्त त्वातीको सभापतित्वमा भएको कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा न. १० का वडाध्यक्ष शिवराम राउत, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका सुरेश बखुन्छँे, प्रअ राजकुमार श्रेष्ठ, शिक्षक निर्मल माक, विद्यार्थीद्वय बालिका विक र जेनिशा राइले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अनुराधा थापामगरले कक्षागतरूपमा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्नुभयो ।
कार्यक्रममा भद्रकाली दाफा भजन समितिले बाँसुरी बाजा र विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *