जनसत्कार उपभोक्ता साकोसको १६ औँ वार्षिक साधारणसभा
- आश्विन २४, २०८३
भक्तपुर, २४ असोज । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा विजया दशमीको अवसरमा नगरस्तरीय किसान कार्यकर्ताहरूको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
उक्त चियापान कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्लाका उपाध्यक्ष एवम् चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले सरकारले देश र जनताको हितमा विकास नगरी जनताको टाउकोमा ऋणको भारी बोकाउने काम गरेको आरोप लगाउँदै एमाले, काङ्ग्रेस, माओवादी पार्टीका जनप्रतिनिधिहरू भएको स्थानीय तहका नगरपालिकाले कलेज, अस्पताल खोलेर सेवा नगरेको बताउनुभयो ।
पुँजीवादी सरकारमा गएर जनताको हित गर्न नसकेको उल्लेख गर्दै उहाँले शोषित पीडित जनता एकजुट भई समाजवाद स्थापना गर्न नेमकिपाले जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा गणेशराम सुवालले किसानहरूको सङ्घर्षबाट मोहियानी हक जोगाउन सफल भएको हो भन्नुभयो । उहाँले ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैँ एमाले, काङ्ग्रेस, माओवादी, रास्वपालगायतका पार्टीहरू सरकारमा गएर रासायनिक मल कारखाना खोल्न नसकेको हुँदा ती पार्टीहरूले जनताको हित नगर्ने बताउनुभयो ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकीको सभापतित्वमा भएको थियो ।
त्यसैगरी नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा विजया दशमी, शुभदीपावली, नेपाल संवत् ११४७ र छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले दसैँ र शुभ दीपावलीको अवसरमा गाउँ, टोल तथा बस्ती–बस्तीमा सरसफाइ गर्ने, नयाँ नयाँ किताबहरू पढ्ने र सृजनात्मक गतिविधिमा समाहित भई चाडपर्व मनाउनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो आर्थिक अवस्थाअनुसार खर्च गरी चाड मनाउनुपर्ने, अरुको देखासिकी गरी अनावश्यक खर्च गर्न नहुने, मितव्ययिता अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले अत्यधिक मदिरापान र जुवातासबाट टाढा रहनुपर्ने र टाढा राख्न आवश्यक रचनात्मक क्रियाकलापहरू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यार्थीलाई अनुशासनमा राख्ने, कपाल काट्न लगाउने, विद्यालयको पोशाक लगाउने, कक्षाकोठामा शान्त र अनुशासित रहन र गृहकार्य गर्न प्रेरित गर्ने विषयमा शिक्षकलाई अवरोध गर्न नहुने विषयमा जोड दिनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिकामा बेथिति, अनियमितता र पक्षपात भएकोबारे चर्चा परिचर्चा हुने भएकोले त्यस विषयमा पनि चाँगुनारायणका जनता सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी, भक्तपुरका सदस्य एवं वाग्मती प्रदेश सांसद गीता काफ्लेले महिलाहरू राजनीतिक रूपमा सचेत र सङ्गठित भई देश र जनताको सेवामा समर्पित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले वाग्मती प्रदेशको संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा रही देश र जनताको हितमा आवाज राख्दै आएको जानकारी दिनुभयो ।
नेक्रा महिला सङ्घ, चाँगुनारायण नगर समितिका अध्यक्ष सानु लागेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा चाँगुनारायण नगर कार्यपालिकाका सदस्य कमला भारती र कविता श्रेष्ठले पनि शुभकामना मन्तव्य प्रकट गर्नुभयो ।
Leave a Reply