वागीश्वरी बनसीमा शुभकामना कार्यक्रम
- आश्विन २९, २०८३
भक्तपुर, २९ असोज । भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिको आयोजनामा नेपालीहरूको महान् चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा समितिका संयोजक एवं भक्तपुर नगरपालिकाका पर्यटन प्रमुख गौतमप्रसाद लासिवाले स्थानीय पथप्रदर्शकहरूले भक्तपुरको इतिहास, सम्पदा, कला, संस्कृति तथा जीवनशैलीबारे पर्यटकहरूलाई आधिकारिक जानकारी दिनुपर्ने बताउनुभयो । पथप्रदर्शकहरूले आफ्नो क्षमता अभिवृद्धिका लागि पठन संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पथप्रदर्शकहरूले व्यक्तित्व विकासमा ध्यान दिनुका साथै असल आचरण अपनाएर जिम्मेवार नागरिकका रूपमा पर्यटकहरूको मन जित्ने व्यवहार गर्नुपर्ने उहाँले बताउनुभयो । पर्यटनसँग सम्बन्धित सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी काम गर्नुपर्ने तथा सामाजिक सञ्जाल र डिजिटल प्रणालीको दुरूपयोग हुन नदिन सचेत रहनुपर्ने उहाँको भनाइ थियो । चाडपर्वका बेला आफ्नो स्वास्थ्यको ख्याल गर्दै मद्यपान, धूमपान तथा जुवातासजस्ता विकृतिबाट टाढा रहनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । देशको अहित हुने सूचना पर्यटकहरूलाई प्रवाह गर्नु अपराध भएकाले यस्ता गतिविधिप्रति सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले शुभकामना व्यक्त गर्दै पथप्रदर्शकहरूले आफ्नो ज्ञानको अधिकतम उपयोग गरी पर्यटकहरूसँग शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासमा पथप्रदर्शकहरूको विशेष भूमिका रहने भएकाले उनीहरू व्यावसायिक र इमानदार हुनुपर्ने उहाँको भनाइ थियो । भक्तपुरको दिगो पर्यटन विकासका लागि पथप्रदर्शकहरूले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पर्यटक प्रहरी पोस्ट भक्तपुरका प्रमुख एवं प्रहरी नायब निरीक्षक सरु पञ्चले नेपाल सरकारका नियम तथा कानुनअनुसार अनुमति प्राप्त पथप्रदर्शकले मात्र पथप्रदर्शन गर्न पाउने स्मरण गराउँदै सबै पथप्रदर्शकलाई नीति तथा नियमअनुसार काम गर्न आग्रह गर्नुभयो । पर्यटक प्रहरी पर्यटक तथा पर्यटन व्यवसायीको सुरक्षा र सहयोगका लागि सदैव तयार रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
भक्तपुर पर्यटन विकास समितिका कोषाध्यक्ष एवं संस्कृति विषयकी विद्यावारिधि शोधार्थी रमिला दुवालले भोटेकोसी क्षेत्रमा गएको हिमपहिरोसम्बन्धी गलत प्रचारका कारण देशभरको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको बताउनुभयो । भक्तपुरको पर्यटनको दिगो विकासका लागि स्थानीयहरू अझ बढी जिम्मेवार भएर काम गर्नुपर्ने उहाँको सुझाव थियो । भक्तपुरको कला, संस्कृति, सम्पदा, स्थानीय जीवनशैली, परम्परागत उत्पादन, स्थानीय सीप तथा उद्योगहरू पर्यटनका आधार भएकाले तिनको संरक्षणमा सबै सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष एवं पथप्रदर्शक परिचालन समितिका सदस्य रामसुन्दर भेलेले संस्कृति मनाउने क्रममा विकृतिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा पथप्रदर्शक परिचालन समितिका सदस्य शरद खत्रीलगायत पथप्रदर्शकहरू रामकेशरी भैल, जयराम शाही, राकेश बाग, कृष्णप्रसाद ब्याञ्जु, बब्लु रजक र सुरेश परियारलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
Leave a Reply