भर्खरै :

नेमकिपा इनाचो चोर्चा–७ द्वारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

नेमकिपा इनाचो चोर्चा–७ द्वारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

भक्तपुर, २९ असोज । नेपाल मजदुर किसान पार्टी इनाचो चोर्चा–७ वडा एकाइ समितिको आयोजनामा विजयादशमी २०८३ को शुभकामना आदानप्रदान तथा सापारु र गुन्हिपुन्हिका अवसरमा आयोजित गाईजात्राको सांस्कृतिक प्रतियोगितामा पुरस्कृत तथा सहभागी संस्कृतिकर्मी र कलाकारहरूलाई बधाई तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संस्कृति हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले संस्कृति नयाँ पुस्तामा हस्तान्तरण भइरहेकोमा खुसी व्यक्त गर्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
पढाइसँगसँगै नयाँ पुस्तालाई गीत, सङ्गीत, सीप, ज्ञान, खेलकुद र तालिममा सहभागी गराउनुपर्ने उल्लेख गर्दै उहाँले समयसापेक्ष गीत, सङ्गीत र सांस्कृतिक गतिविधि पनि संस्कृतिकै अभिन्न अङ्ग भएको बताउनुभयो । शिक्षामात्रै सबै कुरा नभएको स्पष्ट पार्दै उहाँले युवाहरूलाई योग्य, दक्ष र सक्षम बनाउन भक्तपुर नगरपालिकाले विभिन्न भाषा, सीप तथा दक्षतामूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । भक्तपुरबाट शिक्षित जनशक्तिलाई दक्ष बनाउनु नगरपालिकाको उद्देश्य रहेको उल्लेख गर्दै उहाँले नगरपालिका आफ्नै स्रोतसाधनमा निर्भर भएर सञ्चालन भइरहेको बताउनुभयो ।
वर्तमान सरकारबारे चर्चा गर्दै प्रमुख अतिथि प्रजापतिले सरकार परिवर्तन हुनु स्वाभाविक प्रक्रिया भए पनि कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र स्थानीय सरकारजस्ता राज्यका निकायहरूमा क्षति पु¥याएर बनेको वर्तमान सरकारबाट धेरै ठुलो आशा गर्न नसकिने बताउनुभयो ।
उहाँले सरकारको बाचापत्रविपरीत युवाहरूलाई विदेश पठाउने क्रम जारी रहेको, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आफैँ आयोग गठन गरी आरोपबाट उम्कने प्रयास गरिएको, संसद्मा गम्भीर छलफल र विचारविमर्श हुनुपर्नेमा संसद्को गरिमा कमजोर पारिएको तथा पर्याप्त तयारीबिना सुकुमवासी बस्ती हटाइएको आरोप लगाउनुभयो । समयमा मल उपलब्ध नहुनु र संस्थागत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिनुजस्ता कार्यले सुशासनको उपहास गरेको उहाँको भनाइ थियो ।
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलका कोषाध्यक्ष कृष्णगोविन्द लाखाजुले तःमुंज्या जनचेतना फैलाउने महत्वपूर्ण दबु भएको बताउनुभयो । उहाँले तःमुंज्याले राजनीतिक, सामाजिक तथा स्वास्थ्यसम्बन्धी विषयमा जनचेतना जगाउन योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । सांस्कृतिक प्रस्तुतिले मनोरञ्जन प्रदान गर्नुका साथै जनचेतना फैलाउने, विगतका घटनाहरूको स्मरण गराउने र परम्परागत संस्कृतिको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । नेपालभाषाको संरक्षण, संवद्र्धन र जगेर्नामा नेपालभाषा साहित्य तःमुंज्याले महत्वपूर्ण योगदान पु¥याएको उहाँको भनाइ थियो ।
कार्यक्रमका सभापति तथा नेमकिपा इनाचो चोर्चा–७ समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले बजारभाउ निरन्तर बढ्नु, प्राकृतिक विपद् आइरहनु र समाजमा अन्योल कायम रहँदा पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्नु वर्तमान सरकारको कमजोरी भएको बताउनुभयो । उहाँले नयाँ काम गर्नुभन्दा भएका संरचना र उपलब्धि बिगार्ने सम्भावना रहेको भन्दै सरकारका गतिविधिप्रति जनता सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्कृतिकर्मी एवं सांस्कृतिक गुरु कृष्ण दुमरु र राजेश लाखाले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सांस्कृतिक कलाकार तथा संस्कृतिकर्मीहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।
गुन्हिपुन्हिको अवसरमा आयोजित सांस्कृतिक प्रतियोगितामा सिद्धि गणेश सांस्कृतिक समूहको नागाचा प्रथम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *