दसैँ
- आश्विन ३०, २०८३
यसपालि त दसैँ प्रकृतिलाई लागेको छ
मान्छेलाई अन्योलमा पारी जीवन ढालेको छ
यता जाउँ वा उता जाउँ जाने कुनै ठाउँ छैन
सारा सम्पत्ति रित्तियो बस्ने कुनै गाउँ छैन ।
कति जनमानसलाई घरवारविहीन गरी दसैँ मनायो
रमाउने र पर्व मनाउने समयमा प्रकृतिले दुःखी बनायो
मनमा कति सपना बोकेर हिँडेको होला चकनाचुर बनायो
आत्मादेखिका इच्छा र चाहना बाढीले बगायो ।
एक्कासी भोटेकोसीमा आएको बाढीले सारा दुनियाँ रुवायो
मान्छेको मानस्पटलभरि हरेक पल पिरैपिर जमायो
प्राणी, जीवजन्तु र मान्छे कैयौँलाई बाढी पहिरोले फसायो
दसैँ त खुसी र आनन्दले प्रकृतिले पो मनायो ।
खसी काटेझैँ मानव शरीर ठाउँठाउँमा काटेको छ
तालाबाला सन्तानको मुटु लुगा फाटेझैँ फाटेको छ
कही छहरा पहरा र पहिरोले बाटो छेकेको छ
प्रकृतिको ठुलो भेलले दसैँको यात्रा रोकेको छ ।
प्रकृति तिमीले मनाउने दसैँ त मनाइनै सक्यौ
तिम्रा रहर र आकाङ्क्षा पूरा गरिनै हाल्यौ
अब त मान्छेलाई पनि रमाउने मौका देऊ
प्राणीलाई पनि अधिकार दिलाई बाँच्न देऊ ।
दसैँ आयो भन्ने समयमा दशा आयो भन्दै गर्दा
पृथ्वी पल्टेको सरी पीडा साराले अनायास भोग्नुपर्दा
तिम्रो दसैँले अनगिन्ती मानिसको आँसु रोकिन्न
हरेक नागरिकको पर्व र संस्कृति तिम्रो घमण्डले अब जोगिन्न ।
Leave a Reply