भर्खरै :

चे ग्वेभारा : एक क्रान्तिकारी योद्धा–२

चे ग्वेभारा : एक क्रान्तिकारी योद्धा–२

क्युवाली क्रान्ति र क्युवामा समाजवादी व्यवस्था निर्माणको अर्को क्रान्तिमा चे ग्वेभाराको भूमिका या योगदान यो युगले पनि स्मरण गर्छ । नेता फिडेल क्यास्ट्रो र चे ग्वेभाराबिचको सुमधुर मित्रताबारे खुलेर चर्चा यो युगले गर्छ ।
क्युवामा जुलाई २६ को आन्दोलन तुङ्गिएलगत्तै क्रान्तिकारी सेनाले सन् १९५९ मा राजनीतिक शक्ति हातमा लियो र तत्कालै हवानामा क्रान्तिकारी सरकार गठन गर्यो । फिडेल क्यास्ट्रोसँगै बाटिस्टा तानाशाही व्यवस्थाविरुद्ध सङ्घर्ष गरेका नेताहरू क्रान्तिकारी सरकार गठनमा लागे तर गठबन्धनभित्र द्वन्द्व र असमझदारीहरू देखा परे । फिडेल क्यास्ट्रोले त्यसको समाधानका निम्ति देशैभरि राजनैतिक विद्रोह र परिवर्तनको योजना बनाए ।
चे ग्वेभारा नेतृत्वमा कब्जा गरिएको ला कबाना (la cabana) किल्लालाई क्रान्तिकारी शासनअन्तर्गतको महत्वपूर्ण आधारको रूपमा घोषणा गरियो । चे ग्वेभारा त्यो शासन व्यवस्थाको सबैभन्दा बढी सक्षम र प्रभावशाली नेताको रूपमा उदाए । नेता चेले ला कबाना किल्लालाई तुरुन्तै युवाका निम्ति एउटा तालिम केन्द्र या स्कुलको रूपमा विस्तार गरे । यस क्षेत्रमा विविध स–साना प्mयाक्ट्रीहरू सञ्चालन गरे । उनले त्यतिबेला भनेका थिए– “निरङ्कुश बाटिस्टा शासनको अन्त्य भए पनि साँचो क्रान्ति अब सुरु हुन्छ । सम्पूर्ण क्युवाली जनताको जीवनमा परिवर्तन नै वास्तविक क्रान्ति हो ।”
बाटिस्टा शासनको अन्त्यपछि क्युवामा समाजवादी व्यवस्था निर्माणको क्रान्ति सुरु भयो । ला कबानामा बाटिस्टा शासनका अपराधीहरूलाई दण्ड र जनतालाई न्याय दिने कार्य उनले थाले । जनताको आन्दोलन दबाउने अपराधी, शासक, ठग, हत्याराहरू जेलमा कोचिए । त्यस अभियानविरुद्ध संरा अमेरिकाले प्रत्यक्ष हस्तक्षेप या धावा बोल्यो । संरा अमेरिकाले मानवअधिकारको नारा लगाउँदै नेता चेको व्यक्तित्वमाथि हिलो छ्याप्न सुरु गर्यो । संरा अमेरिकाले चेलाई “ला कबानाको कसाई” भन्दै अपमान गरिरहँदा नेता फिडेल क्यास्ट्रोले त्यसको प्रतिकार गरे । फिडेलले संरा अमेरिकी प्रशासनलाई सन् १९५९ जनवरी २१ मा पत्रकार सम्मेलनमार्फत जवाफ दिए । दोस्रो विश्वयुद्धको समयमा जर्मनी नाजी सेनालाई संरा अमेरिकी सेनाले दण्ड दिएको थियो । नाजी सेनाले युरोपमा अपराध र हिंसा भड्काएको भन्दै संरा अमेरिकी सेना नाजी सेनामाथि निर्मम बनेको इतिहास साक्षी छ । नेता फिडेलले भन्नुभएको थियो –“त्यतिबेला युरोपमा नाजी सेनाले गरेको अपराध र क्युवामा बाटिस्टा सेनाले गरेको अपराधमा कुनै भिन्नता छैन । त्यसकारण क्युवामा चेको नेतृत्वमा थालिएको अपराधीलाई दण्ड दिने अभियान न्यायोचित छ† जनपक्षीय छ ।” बाटिस्टा सेनाले क्रान्ति अघि र क्रान्तिको समयमा आम जनतालाई दिएको शासना महिलाहरूमाथिको बलात्कार र हत्या, किसानहरूको नरसंहार र सियरा मायस्ट्रामा क्रान्तिकारी सेनाविरुद्ध निर्मम प्रहार वास्तवमै जघन्य अपराध थिए । त्यो अपराधविरुद्ध दण्डको आह्वान टेलिभिजन, रेडियो, मेगेजिन र पत्रपत्रिकाहरूबाट पनि हुन थाल्यो । करिब ९० प्रतिशत अपराधीलाई नयाँ क्रान्तिकारी सरकारले दण्ड दियो, जेलमा हाल्यो ।
सन् १९५९ जनवरी १८ मा चेका आमाबुबा अर्जेन्टिनाबाट क्युवा पुगे । त्यही बेला चेले अलाइडालाई बुबाआमासँग भेट गराए । आप्mनो ३ बर्षकी छोरी हिल्डितालाई अलाइडासँग भेट गराए । आप्mनो पहिलो श्रीमतीसँग डिभोर्स गरी अलाइडासँग १९५९ जुन २ मा उनले विवाह गरे । नयाँ सरकारले चे ग्वेभारालाई क्युवाको नागरिक घोषणा गरी सम्पूर्ण अधिकार सम्पन्न बनायो ।
सन् १९५९ मे महिनामा क्युवाका प्रधानमन्त्री फिडेल क्यास्ट्रोले क्युवाका लागि नयाँ कृषि सुधार कानुन अघि बढायो । जमिन जोत्नेलाई दिनुपर्ने र व्यक्तिगत स्वामित्वमा रहेको जग्गा जमिन र सम्पत्ति सार्वजनिकीकरणको प्रक्रिया सुरु गरियो । क्युवाका धनीमानी (जो संरा अमेरिका गई लुकेका थिए) र संरा अमेरिकी लगानीकर्ताहरूले आफू जोखिममा परेको भन्दै संरा अमेरिकी सरकार गुहार्न थाले । नभन्दै केही समयमै संरा अमेरिकी लगानीको चिनी कारखाना घाटामा गयो, न्यूयोर्कको स्टक विनिमय निकै तल झर्यो । यो घटनाले क्युवा र संरा अमेरिकाको सम्बन्ध झन चिसियो । क्युवाको कृषि सुधार र संरा अमेरिकी स्वमित्वका कम्पनीहरू कब्जा गर्ने अभियानमा चे ग्वेभाराको महत्वपूर्र्ण भूमिका थियो ।
नयाँ सरकार गठनको छ सात महिनामै चे नेता फिडेलको अत्यन्त निकटको विश्वास पात्र र सल्लाहकार बन्न सफल भए । क्युवाको तर्फबाट दुई महिना लामो अन्तर्राष्ट्रिय भ्रमणमा चेलाई पठाइयो । अलाइडासँगको विवाहपछिको पहिलो भ्रमण कार्यक्रममा आप्mनो स्वकीय सचिव रहे पनि उनलाई भ्रमणमा सँगै लान चे मानेनन् । श्रीमतीलाई भ्रमणमा सँगै लाँदा अन्य कामरेड (जसले परिवार साथमा लान पाउँदैनन्) हरूलाई खल्लो हुन्छ, सही हुन्न भन्दै उनले सम्झाएका थिए ।
उनले सन् १९५९ जुन १२ गतेका दिन क्युवा छोडे (ग्रान्मामा पाइला टेकेको ३ वर्षपछि पहिलो पल्ट) क्युवाको नयाँ सरकार र समाजवादी देश युगोस्लाभिया, मध्यपूर्वका अरब राज्यहरू र एसियाका विभिन्न देशहरूबिच मित्रवत् सम्बन्ध स्थापना गर्नु त्यो भ्रमणको उद्देश्य थियो । क्युवाको नयाँ सरकार या व्यवस्थामाथि संरा अमेरिकाको सैन्य हमलाहरू रोक्न पनि यी देशहरूको साथ र मित्रता जरुरी थियो । संयुक्त राष्ट्र सङ्घमा सार्वभौम क्युवाको पक्षमा, न्याय र शान्तिको पक्षमा उभिने देशहरू क्युवाका निम्ति आवश्यक थियो । उनले भ्रमणका क्रममा युगोस्लाभियाका नेता जोसेफ टितो, इजिप्टका अब्डेल नासर, अल्जेरियाका अहमडबेन बेला, भारतका जवाहरलाल नेहरू, जनगणतन्त्र चीनका नेता माओ त्सेतुङसँग भेट गरे । फिडेल क्यास्ट्रोलाई चेप्रति पूर्ण विश्वास थियो कि भ्रमणको उद्देश्य पक्कै पूरा हुन्छ । चेको नेतृत्वमा पठाइएको त्यो मिसनपछि क्युवाको अस्तित्व र क्युवाली क्रान्तिकारी शासनको अन्तर्राष्ट्रिय प्रभावबारे भएको चर्चाले चेको मिसन सफल देखिएको थियो ।
चे ग्वेभारा अगष्ट १९५९ मा क्युवा फर्के र उनलाई राष्ट्रिय कृषि सुधार संस्थाको औद्योगिकीकरण विभागको संयोजकको भूमिका प्रदान गरियो । तत्कालीन क्युवाको प्रमुख लडाइँ नवऔपनिवेशिक अर्थतन्त्रको रूपान्तरण र कृषि सुधार कार्यक्रम थियो । नेता चेलाई उद्योग मन्त्री बनाइयो । चे भन्नुहुन्थ्यो –“क्युवाको अर्थतन्त्रमा रूपान्तरणको निम्ति कृषि समस्या हल हुन जरुरी छ । कृषि उत्पादन वृद्धिले मात्र अर्थतन्त्रको औद्योगिकीकरण सम्भव हुन्छ ।”

Che Guevara And Fidel Castro. (Photo by: Universal Archive/Universal Images Group via Getty Images)

क्युवालाई आवश्यक अर्थात् क्युवाली जनजीवनलाई आवश्यक उत्पादन जस्तै साबुन, जुत्ता–बुट कारखाना, खानी सञ्चालनमा जोड दिइयो । त्यतिमात्र होइन पेट्रोलियम, निकेल, चिनी प्रशोधन र सुर्ती उद्योगहरू सञ्चालनमा तिब्रता दिइयो । उत्पादनलाई विदेश निर्यात गर्ने योजनाले वैदेशिक विनिमय र सम्बन्धको विकासमा टेवा पुग्नु स्वाभाविक थियो । चे ग्वेभाराले त्यसकारण देशको उत्पादनलाई जोड दिए । उत्पादन गर्ने किसान र मजदुरको अवस्था, विज्ञान र प्रविधि चेको चासोको विषय बन्यो । अलाइडाले लेखेकी छिन् –“एउटा भावुक घटना छ, चे खानी मजदुरहरूलाई भेट्न गए, ती मजदुरहरूमाथि बाटिस्टा सरकारले गरेको शोेषण अमानवीय मात्र थिएन आपराधिक पनि थियो । खाना, पोषण थिएन, कपडा थिएन, बालबच्चा राख्ने र पढाउने बन्दोबस्त थिएन । खानीभित्र जोखिमविरुद्ध लड्ने साधन थिएन । चेले त्यो नव औपनिवेशिक शासन व्यवस्थाको अन्त्य, शोषणको अन्त्यसँगै मजदुरहरूका निम्ति मान्छे भएर बाँच्ने, श्रमको सम्मान गर्ने वातावरण प्रदान गरे । मजदुरहरूलाई पौष्टिक आहार, डाइनिङ हल, राम्रो घर र बच्चाहरूको लागि शिक्षाको अधिकार प्रदान गर्न अगुवाइ गरे ।”
नेता चे सोही वर्षको नोभेम्बरमा क्युवाको केन्द्रीय बैङ्कको अध्यक्ष नियुक्त भए । त्यो पदमा बस्नु भनेको सिँगो क्युवाको आर्थिक मामिला सम्हाल्ने जिम्मेवारी थियो । त्यसपछि नेता चेले देशको निम्ति आर्थिक÷मौद्रिक नीतिहरू बनाए । ‘क्युवाले आँखा चिम्लेर वैदेशिक सहकार्य गर्नेछैन । वैदेशिक सहयोग लिने छैन । क्युवाले आवश्यकताअनुसार व्यापार र वित्तीय सम्बन्ध समाजवादी देशहरू र तेस्रो विश्वसँग मात्र अघि बढाउनेछ’ भन्ने नीति निर्माण गरे । यसले क्युवाको वैदेशिक नीति निर्माणमा पनि सघायो ।
उनको बुझाइ थियो –“ल्याटिन अमेरिकामा संरा अमेरिकी लगानी र आर्थिक सहयोगका कारण ल्याटिन अमेरिका स्वतन्त्र हुन सकेन । त्यसकारण, अर्थतन्त्रमा आत्मनिर्भरता आवश्यक छ । आर्थिक परनिर्भरता कालान्तरमा राजनीतिक परनिर्भरता बन्छ । त्यसकारण क्युवाको अर्थतन्त्र बलियो बनाउन समाजवादी देशहरूसँगको सम्बन्ध राम्रो बनाउनुपर्छ । ल्याटिन अमेरिकी देशहरू, संयुक्त राष्ट्रहरू, अफ्रिकी, एसिया र मध्यपूर्वमा भर्खरै स्वतन्त्र भएका देशहरूसँगको सम्बन्ध राम्रो बनाउनुपर्छ ।” नेता चेले आणविक मिसाइलका लागि सोभियत सङ्घसँग गोप्य सम्बन्ध राख्न क्युवाली सरकारलाई सघाए । उनको त्यो विवेकपूर्ण कुटनीतिले सन १९६२ मा आइपरेको मिसाइल सङ्कटबाट क्युवालाई जोगायो । तर त्यो सूचना प्राप्त हुनासाथ संरा अमेरिकाले सोभियत सङ्घलाई आणविक मिसाइल फिर्ता लान र क्युवालाई फेरि सहयोग नगर्न धम्की दिएको स्मरण यस पुस्तकले गराउँछ ।
नेता चेले क्युवालाई तेस्रो विश्वको गठबन्धनमा सहभागी गराए । पश्चिमी देशको उपनिवेश भोगेका अफ्रिकी, एसियाली, मध्यपूर्वी देशहरू र अन्य स–साना मुलुकहरू जो साम्राज्यवादविरुद्ध लड्दै थिए ती देशहरूसँग हातेमालो गर्न क्युवाले एक्यबद्धता जनायो । उनले संयुक्त राष्ट्र सङ्घमा क्युवाको प्रतिनिधित्व गर्दा आप्mनो भाषणमा तेस्रो विश्वको गठबन्धनप्रति ऐक्यबद्धता जनाएका थिए । उनको मन्तब्य सुनेर नाम चलेका एक अफ्रिकी अमेरिकी राजनीतिक अभियन्ता माल्कोम एक्सले बोलेका थिए –“अहिले यो देशका एक सबैभन्दा क्रान्तिकारी मान्छे हुन् चे ।”
चेको मन्तव्यको शीर्षक थियो –“उपनिवेशवाद परास्त भयो ।” उनले संरा अमेरिकालाई साम्राज्यवादी र युद्धपिपासु विश्व शक्तिको संज्ञा दिए । भियतनाम, कम्बोडिया र लावसमा संरा अमेरिकी सेनाको हस्तक्षेपको विरोध मात्र होइन अफ्रिकामा संरा अमेरिकी सरकारको हमलाविरुद्ध आगो ओकले । कङ्गो र दक्षिण अफ्रिकामा नवउपनिवेशवादी र जातिवादी शासकहरूलाई कठपुतली बनाउन संरा अमेरिका उद्दत्त रहेकोप्रति खेद प्रकट गरे । संरा अमेरिकी साम्राज्यवाद युद्ध चाहन्छ । विश्व शान्ति र विश्वको उन्नयनबारे संरा अमेरिका सोच्दैन । देशहरूलाई फुटाउने र राज गर्ने नीति, साम्राज्यवादी हमला र प्रभुत्वको नीति, युद्धको पूजा गर्ने प्रवृत्तिविरुद्ध चे ग्वेभाराले उँचो स्वरमा आवाज दिए । उनले क्युवाको विषयमा बोलेका थिए –“हामी समाजवादको निर्माण चाहन्छौँ । हामी शान्तिको पक्षपाती हौँ । हामी असंलग्न तेस्रो विश्वका देशहरूसँग छौँ । हामी माक्र्सवादी–लेनिनवादी विचार बोक्छौँ र साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्दै राष्ट्रिय सार्वभौमसत्ताको निम्ति निरन्तर सङ्घर्ष गर्छाँै । हामी शान्तिपूर्ण प्रगति चाहन्छौँ । हाम्रा जनताको राम्रो जीवन हाम्रो आकाङ्क्षा हो । त्यसकारण हामी ती यान्कीहरूको बहकाउमा लाग्दैनौँ, ती शान्तिका लागि उच्च मूल्य चुकाउन हामीलाई भड्काउँदै छन् । नेता चेले क्युवामाथि लागेको आक्षेप अस्विकार गर्दै बोले –“अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप क्युवाले कहिल्यै गर्दैन तर स्वतन्त्रता र मुक्तिका निम्ति लडिरहेका देशहरूलाई सघाउन हामी कहिल्यै पछि हट्दैनौँ ।”
नेता चे स्पष्ट वक्ता थिए । विषयवस्तुलाई घुमाउरो र व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गर्नु उनको विशेषता थियो । समयको आवश्यकताअनुसार वस्तुस्थिति बुझेर व्यावहारिक प्रस्तुति दिनु उनको गुण थियो । उनी अडानमा बस्न रुचाउने र स्पष्ट विचार राख्ने व्यक्तित्व हुन् । उनको व्यक्तिगत समर्पण, इमान्दारी, बफादारी, बलिदानीका कारण उनी महान् बने । उनलाई क्युवाली योद्धाहरू सिद्धान्तको मान्छे, व्यक्तिगत जीवनभन्दा क्रान्तिलाई माया गर्ने क्रान्तिकारी भनी सम्बोधन गर्थे । उनी जनसम्पर्कमा बस्न रुचाउँथे । उनको व्यवहार र व्यक्तित्व देखेर उनलाई पत्रिकाहरूले ‘कट्टर कम्युनिस्ट’ को संज्ञा दिन्थे । उनी भने आफू व्यावहारिक क्रान्तिकारी मात्र हुँ भन्थे । उनी सपना देख्न रुचाउने साहसी युवा थिए । आप्mनो जन्मभूमि अर्जेन्टिनामा क्रान्ति गर्नु, ल्याटिन अमेरिकालाई संरा अमेरिकाको पञ्जाबाट मुक्त गर्नु र तेस्रो विश्वलाई साम्राज्यवादी दासताबाट स्वतन्त्र गर्नु उनको सपना थियो । त्यसकारण उनी क्युवामा मात्रै बसेनन् । अफ्रिका कङ्गोमा गोप्य मिसनमा गए । कङ्गो जानुअघि उनले आप्mना आमाबुबालाई लेखेको पत्रमा उल्लेख छ –“म असल सिपाही हुँ या डाक्टर ? असल डाक्टरभन्दा पनि असल सिपाही बन्नु मेरो आत्मगौरव र रोजाइ बन्यो । माक्र्सवादी विचारले मेरो मस्तिष्कमा जरा गाड्यो र माक्र्सवाद यति शुद्ध छ भन्ने महसुस भयो । आप्mनो दासता र शोषणको सिक्री चुँडाल्न लडिरहेका जनताको निम्ति सशस्त्र क्रान्तिको विकल्प छैन भन्ने मलाई विश्वास छ ।” उनी आप्mनो विचारमा जीवनपर्यन्त अडिग रहे । चेले कहिल्यै कल्पना र सुनेको कुरालाई विश्वास गरेनन् । तथ्यतथ्याङ्क र काममा विश्वास गरे ।
चे ग्वेभाराले नेतृत्व गरेको औद्योगिकीकरण क्युवाको लागि सजिलो थिएन । औद्योगिकीकरणका लागि सोभियत रुसको सहयोगमा चेले खोट देख्न थाले । सोभियत रुसप्रति चेको धारणा बदलिनुको कारण भने निकिता खु्रस्चेवको नेतृत्वको सोभियत रुसले विस्तारै साम्राज्यवादी आचरण देखाउनु थियो । त्यही समय उनले जनगणतन्त्र चीनको भ्रमण गरे । चीन र नेता माओ त्सेतुङ तत्कालीन सोभियत रुसप्रति फरक धाराणा राख्थे । ख्रुश्चेभ नेतृत्वको सोभियत सङ्घमा संसोधनवाद हावी भएको र विस्तारै सामाजिक साम्राज्यवादमा पतन भएको सङ्केत नेता माओले गर्नुभएको थियो । चे ग्वेभारा नेता माओको विचारसँग सहमत थिए । त्यतिमात्र होइन तेस्रो विश्वसम्बन्धी नेता माओको विचारबाट चे ग्वेभारा प्रभावित थिए । ‘विश्व तीन भागमा विभक्त छ । संरा अमेरिकी साम्राज्यवाद र रुसी सामाजिक साम्राज्यवाद पहिलो विश्व, विकसित देशहरू र साम्राज्यवादको समर्थक देशहरू दोस्रो विश्व र स–साना विकासोन्मुख देशहरू तेस्रो विश्व जसमा ल्याटिन अमेरिका, अफ्रिका, चीनसहितको एसिया पर्छ ।’ पहिलो विश्व अर्थात् विश्व साम्राज्यवादविरुद्ध तेस्रो विश्व एकजुट हुनुपर्ने र भविष्यमा साम्राज्यवादको पतनको भाग्य तेस्रो विश्वले नै लेख्ने माओको दूरदृष्टिबाट चे ग्वेभारा प्रभावित थिए । उनले दक्षिणपन्थी अवसरवादको खाल्डोमा भासिँदै गरेको सोभियत रुसविरुद्ध खुलेर तर्कवितर्क गर्न थालेका थिए त्यतिन्जेलसम्म क्युवाले सोभियत रुसबाट वैदेशिक ऋण र सहयोग लिन बन्द गरेको थिएन । त्यसकारण, सोभियत रुस पक्षधर क्युवाली नेताहरूबाट चे ग्वेभाराले हमला व्यहोर्न पर्यो । यद्यपि, उनले स्पष्टसँग आप्mनो धारणा राखे –“वर्तमान विश्वमा क्युवाको समाजवादी व्यवस्था जोगाउन र देशलाई दुर्घटनाबाट जोगाउन सोभियत रुसबाट अलग्गिनुको विकल्प छैन ।” त्यो विषयमा नेता फिडेलले मनन् गरेका थिए । नेता फिडेलले नै चे ग्वेभारालाई अफ्रिकाको मिसनमा जान उत्साहित गरेका थिए । नभन्दै सन् १९६५ तिर चेले क्युवाली सरकार या क्याबिनेटमा राजिनामा दिए ।
उनले आप्mनी श्रीमती र ५ सन्तानलाई क्युवामै छोडेर अफ्रिका गए, क्युवाबाट जाँदा उनले परिवारका लागि सम्पत्तिको नाममा आफ्नो नाम र सत्कर्म मात्र छोडेका थिए । बोलिभियाबाट आप्mना्े जीवनसङ्गिनीलाई सप्रेम पठाएको पत्र पुस्तकमा छ । उनको पुस्तक क्युवामा “समाजवाद र मान्छे” पुस्तकबारे चर्चा छ । मानवताप्रतिको प्रेम, मानवजातिप्रतिको करुणाले मान्छेलाई सत्कर्ममा डो¥याउँछ । मानवताप्रतिको मायाले नै समर्पण र सङ्घर्षका लागि ऊर्जा प्राप्त हुन्छ । उनले लेखेका छन् –“सच्चा क्रान्तिकारी मानवताका लागि प्रेमको बलियो भावनाले मार्गनिर्देश बनेको हुन्छ ।” उनी क्रान्ति अनिवार्य छ भन्थे –“क्रान्तिबाहिर जीवनको गुञ्जायस पनि हुँदैन । नयाँ समाजवादी समाज मात्र महिला र पुरष दुबैका लागि बाँच्न योग्य समाज हो ।”
फिडेल क्यास्ट्रोले चेका बारेमा बोलेका थिए –“उनी मानव हुुनुको मिसाइल हुन् । उनी जीवन्त उदाहरण हुन् । उनको जीवन बाँच्ने शैली उदाहरणीय छ । व्यक्तिगत त्याग, समर्पण र बलिदानीको उनी बेजोड आदर्श हुन् । युवाहरूका निम्ति उनी रोल मोडल हुन् । मानव जातिको भविष्य, देशको स्वतन्त्रता र मानव मुक्तिको बाटो क्रान्ति हो । क्रान्तिका निम्ति विचार र सिद्धान्त जरुरी हुन्छ भन्ने आदर्शका धनी हुन् चे ग्वेभारा ।”
अफ्रिकाको मुक्ति युद्धमा क्युवाको योगदान गज्जबको छ । त्यसको सुरुआत चे ग्वेभाराले गरे । कङ्गो मात्र होइन अङ्गोलामा क्युवाली सेना लड्न गएको इतिहास छ । क्युवाली जनताको ७ प्रतिशत अर्थात् ४५०००० (चार लाख पचास हजार) क्युवाली सेना अफ्रिकाको मुक्ति सङ्घर्षमा सहभागी बने । नेल्सन मण्डेला नेतृत्वको जाति र रङ्गभेदविरुद्धको आन्दोलनमा क्युवाले सघायो । राष्ट्रपति मण्डेलाले लेखेका छन –“क्युवालीहरू डाक्टर, शिक्षक, सिपाही, कृषि विज्ञका रूपमा आए हामीलाई सघाए तर औपनिवेशिक व्यवहार गरेनन् । साम्राज्यवादी र उपनिवेशवादी देशहरूसँग लड्न सिकाए, सघाए । सयौँ क्युवाली योद्धाहरूले हाम्रो मुलुुकको मुक्तिको निम्ति बलिदानी दिए । क्युवाको निःस्वार्थ अन्तर्राष्ट्रवादप्रति शिर निहुराएर सम्मान ।”
नेता चेको उपस्थितिले कङ्गोका जनताको जीवनमा आएको परिवर्तनबारे पनि पुस्तक बोल्छ । तर उनको कङ्गो मिसन सफल भएन । उनको अन्तिम मिसन बन्यो बोलिभिया तर उनी त्यहाँबाट फर्कन पाएनन् । ल्याटिन अमेरिका मुक्त गर्ने सपनाको पहिलो पाइला थियो बोलिभिया । तर, उनको सानो गुरिल्ला सेना बोलिभियाली सेनाबाट सन १९६७ अक्टोबर ९ मा समातिए । उनको बोलिभिया मिसनबारे आलोचनात्मक धारणा पनि नभएका होइनन् ।
उनको हत्याको १२ वर्षपछि निकारागुवामा सान्डिनिस्ता क्रान्तिकारी आन्दोलन अघि बढ्यो र त्यहाँको सोमोजा तानाशाही शासन अन्त्य भयो । १० वर्ष लामो चलेको त्यो आन्दोलनको ऊर्जा या रोल मोडल चे ग्वेभारा थिए । सन् १९९४ मा दक्षिण मेक्सिकोमा क्रान्तिकारी आन्दोलन अघि बढ्यो जसको जग चे ग्वेभाराले हालेका थिए ।
चेको लासलाई सङ्केत नराखिएको चिहानमा गाडिएको थियो । बोलिभियाको भालेग्रान्डेबाट ८ अक्टोबरमा उनको अस्थि क्युवा ल्याई सान्ता क्लाराको समाधिमा राखियो । क्युवा र क्युवाली जनताले उनलाई क्युवाली क्रान्तिको विरासतको रूपमा अभिनन्दन गरिरहनेछ । एक बौद्धिक, राजनीतिक र सैन्य नीतिमा अब्बल व्यक्तित्वको रूपमा पुग्न छोड्नेछैन । युवाहरूलाई चे ग्वेभारा बन्नु भन्ने आशीर्वाद मिल्छ क्युवामा । युवाहरू गाउँछन् –“हामी चे ग्वेभारा जस्तै बन्नेछौं ।” चेको हत्या गरेको बोलिभियामा उनको मृत्युको ३९ वर्षपछि समाजवादी नेता ते मोरालेस राष्ट्रपति बने ।
उनले आप्mनो कार्यकालको सुरुआती भाषणमै चे ग्वेभाराप्रति श्रद्धाञ्जली व्यक्त गरे । आप्mनो कक्षमा चे ग्वेभाराको फोटो ससम्मान टाँगे । उनले रोपेको क्रान्तिको बिउ ल्याटिन अमेरिका, अफ्रिका, मध्य पूर्वी देश र एसियाली देशहरूमा हुर्कँदै छ । उनी भविष्यका क्रान्ति र परिवर्तनहरूको पनि ऊर्जा बन्नेछन् । विश्व युवा मनको क्रान्तिकारी भावनाको स्रोत बनिरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *