भर्खरै :

चे ग्वेभारा : एक क्रान्तिकारी योद्धा

चे ग्वेभारा : एक क्रान्तिकारी योद्धा

“एउटा क्रान्तिकारी जीवन विरासतको नाम– चे ग्वेभारा ।
विश्व युवा मनहरूको प्रिय नाम– चे ग्वेभारा ।।”
आप्mनो जीवनकालमा मात्र होइन यो युगले पनि अर्नेष्टो ग्वेभारा डेला सेर्नालाई यसरी नै सम्बोधन गर्छ । विश्व इतिहासको एक प्रभावशाली व्यक्तित्वको रूपमा यसरी नै स्मरण गर्छ । सन् २००० को जनवरीमा टाइम्स मेगेजिनले लेखेको थियो –“बिसौँ शताब्दीको सबैभन्दा प्रभावशाली सय व्यक्तित्वमध्ये चे ग्वेभारा पनि एक हुन् ।” त्यस्तै गरी प्रख्यात फोटोग्राफर अल्बर्टो कोर्डाले खिचेको “GuerrilleroHeroico” नामको चेको फोटोलाई विश्वविख्यात फोटो र २० औँ शताब्दी प्रतिकको संज्ञा दिइएको थियो । उनको नाम, उनको विचार र क्रान्तिकारी भावना, मानिसले मानिसमाथि गर्ने शोषणविरुद्ध उनको आक्रोश २० औँ शताब्दीको आवाज थियो भने २१ औँ शताब्दीका लागि प्रेरणा र मार्गदर्शन बन्यो । साम्राज्यवाद विरोधी उनको सङ्घर्ष, समाजवादप्राप्तिको निम्ति उनको बलिदानी २० औँ शताब्दीका निम्ति एउटा लडाइँ थियो भने २१ औँ शताब्दी र नयाँ युगका लागि महत्वपूर्ण अपिल बन्यो । उनले बाँचेको जीवन र उनले रोजेको मृत्यु यो शताब्दीका निम्ति प्रेरणाको गीत बनेको छ । रिचार्ड एल ह्यारिसले लेखेको पुस्तक “चे ग्वेभाराको जीवनी” ‘A BiographyMChe Guevara’ ले यही भन्छ । यही पुस्तकको परिधिमा रहेर चे ग्वेभाराको जीवन, व्यक्तित्व, सङ्घर्ष र योगदानबारे सङ्क्षिप्त चर्चा गरौँ !
चे ग्वेभाराले आप्mनो व्यक्तित्वबाट सन् १९६० र १९७० को दशकलाई नै चकित पारेका थिए । एकताका मेक्सिकोका राजनीतिक लेखकले (जो सन् २००० बाट २००३ सम्म मेक्सिकोको परराष्ट्र मन्त्री थिए) लेखेका थिए –“६० को दशकमा हाम्रो अस्तित्वका लागि हामी केही आकर्षक र देखिने मान्छेहरूप्रति मात्र कृतज्ञता जनाउँदै छौँ । वास्तवमा यो समय चे ग्वेभारा विना कल्पना बाहिर छ, वास्तवमा आभारको हकदार उनी ज्यादा हुन् ।” त्यो समयमा उनको शानदार जीवन आकृति क्रान्तिको प्रतीक बन्यो । सामाजिक न्यायका निम्ति उठेको प्रतिकार युद्धको उभार बन्यो उनको जीवन । आप्mनो युगमा त उनी हजारौँ हजार मानिसहरूका निम्ति अनुकरणीय व्यक्तित्व थिए नै’ आजको समयले पनि उनलाई रोल मोडल मान्न छोडेको छैन । उनी त्यस्ता व्यक्ति हुन् जो आप्mनो सिद्धान्त र आत्मसम्मानको लागि बाँचे जसले त्यसैको लागि जीवन बलिदान गरे । उनको मृत्युको ५ शताब्दीपछि पनि उनी शोषित पीडित जनता, युवा क्रान्तिकारीहरू, प्रगतिशील बुद्धिजीवी, सामाजिक अभियन्ता, क्रान्तिकारी, गुरिल्ला लडाकुको मन र सम्पूर्ण विश्वका न्यायपूर्ण आन्दोलनहरूमा बाँचेका छन् ।
क्युवाली क्रान्तिमा नेता चेको योगदान बेजोडको थियो । क्युवाली जनताको गुरिल्ला युद्धदेखि सत्ता प्राप्तिसम्मको लडाइँमा चे क्युवाली जनतासँगै उभिए । क्युवाली क्रान्तिको सफलतापछि नयाँ समाजवादी देश क्युवाको उनले नेतृत्व गरे । त्यतिमात्र होइन सम्पूर्ण ल्याटिन अमेरिकामा क्युवाली शैलीको समाजवादी क्रान्ति विस्तार गर्न दत्तचित्त भई उनी अगाडि बढे । त्यसकारण आज पनि सिङ्गो ल्याटिन अमेरिकाभर उनी त्यो क्षेत्रमा सामाजिक क्रान्तिको प्रतीकको रूपमा पुजिन्छ । उनले ल्याटिन अमेरिकामा अमेरिकी साम्राज्यवादको प्रभुत्वविरुद्ध सङ्घर्ष गरे । ल्याटिन अमेरिकी जनतामाथि संरा अमेरिकाको राजनीतिका सामाजिक र आर्थिक दमनको खुलेर विरोध गरे । आर्थिक सहयोग र डलरको माध्यमबाट ल्याटिन अमेरिकालाई आप्mनो तखतमा राख्न खोज्ने संरा अमेरिकालाई ल्याटिन अमेरिकामा प्रवेश नदिन आह्वान गरे । क्युवाली समाजवादलाई समृद्ध बनाउँदै ल्याटिन अमेरिकाका अन्य देशहरूमा समाजवादी आन्दोलन सफल बनाउनु नेता चेको सपना थियो । संरा अमेरिकाको दमनकारी विदेश नीति, जातीय विभेद र साना देशहरूमाथि वडाराष्ट्र अहङ्कारवादी नीति, साना देशका जनतालाई दास बनाउने मानसिकताविरुद्ध उनी लडे । ल्याटिन अमेरिकामा बढ्दो सामाजिक असमानाता, गरिबी, राजनीतिक भ्रष्टाचारको फाइदा संरा अमेरिका उठाउँदै थियो त्यसकारण त्यो बेथिति अन्त्यको निम्ति समाजवादी क्रान्तिको विकल्प छैन भन्थे नेता चे । मेक्सिको, बोलिभिया, इक्वेडर, निकारागुवा, भेनेजुयला, पुर्टाेरिकोलगायतका देशहरूमा भएका स्वतन्त्रता आन्दोलन र न्यायपूर्ण सङ्घर्षहरूमा नेता चेको विशेष चासो र सहभागिता थियो । त्यसकारण ल्याटिन अमेरिका र क्यारोबियाली देशहरू आज पनि नारा लगाउँछन् –“CheVive चे जिन्दावाद ।”
चेको जीवनले एक साधारण व्यक्ति कसरी क्रान्तिकारी योद्धा बन्न सक्दछ भन्ने गज्जबको दृष्टान्त दिन्छ । अर्जेन्टिनामा जन्मेर मेक्सिको हुँदै क्युवाली क्रान्ति जितेर बोलिभियामा आप्mनो ३९ वर्षको जीवन बलिदान गर्ने उनलाई सङ्घर्षको बाटो हिँड्ने प्रेरणा कहाँबाट मिल्यो ? यो प्रश्नको ऐतिहासिक परिस्थिति, समाज र सेरोफेरो, सामाजिक मनोवैज्ञानिक तत्वहरूमाथि धेरै – धेरैले अध्ययन गरेको भेटिन्छ । यस पुस्तकले पनि यो विषयमा धेरथोर चर्चा गरेको छ । अध्ययन र पेशाले मेडिकल डाक्टर चेले आप्mनो स्टेथेस्कोप बिसाएर बन्दुक किन समाते ? उनको जीवन आफै यो प्रश्नको जवाफ बन्यो ।
क्रान्ति सबैभन्दा माथि हुन्छ । उनले दिएको जीवन सन्देश यही हो । ‘क्रान्ति या मृत्य’ु, ‘समाजवाद या मृत्यु’ को युद्धमा बन्दुक बोक्नु समयको आवश्यकता थियो । युद्धमैदानमा घाइते कामरेड र गुरिल्लाहरूको उपचारसँगै शत्रु परास्त गर्ने हतियार उठाउने अन्तर्राष्ट्रवादी डाक्टर थिए चे ग्वेभारा । पुस्तकले उनलाई चिनाउनुका साथै ल्याटिन अमेरिकाको इतिहास, अर्थतन्त्र, राजनीति र सामाजिक समस्याबारे चर्चा गर्छ ।
चे ग्ेवेभाराको जन्म माता सेलिया डिलासेर्ना र पिता अर्नेष्टो ग्वेभारा ल्यान्चको कोखबाट सन् १९२८ जून १४ का दिन अर्जेन्टिनाको रोसारियामा भएको थियो । सम्पन्न परिवारमा जन्मिएका उनको दम रोग पत्ता लागेपछि मातापिताले अर्जेन्टिनाको अल्टा ग्रासियामा बसाइँ सर्ने निर्णय गरे । उनकी माताले उनलाई सानैमा घरैमा पढाइन् । उनले अल्टा ग्रासियाबाट प्राथमिक तहको शिक्षा र सान्टिआगो कोर्डोबाबाट माध्यमिक तहको शिक्षा हासिल गरे । सन् १९४६ मा उनले माध्यमिक तहको पढाइ सकाए । उनका दुई दाजुभाइ दुई दिदीबहिनी थिए । चे ग्वेभारा सानैदेखि खेलाडी स्वभावका थिए । हरसमय निकै सक्रिय रहन्थे ।
चे ग्वेभारा एउटा बेग्लै राजनीतिक वातावरणमा हुर्किए । उनका आमाबुबा स्पेनको गृहयुद्धमा वामपन्थी गणतन्त्रवादीहरूका पक्षधर थिए । उनको परिवार कट्टर नाजी विरोधी थिए । उनका बुवा नाजीविरोधी सङ्घर्षसँगै जोडिएका थिए भने पछि युवावस्थामै चे नाजीविरोधी युवा सङ्गठनमा संलग्न भए । दोस्रो विश्वयुद्धको समयमा चेकी आमा युद्धका पीडितहरूको सहयोगमा जुटेकी थिइन् । युरोपमा फासीवादको उदय र विस्तारविरुद्ध निर्मम विरोध गर्नेहरूमध्ये उनको परिवार पनि एक थियो ।
सानैमा चेले आप्mनो बुबाको पुस्तकालयबाट ग्रीक साहित्य, माक्र्सवाद र माक्र्सवादी साहित्यका पुस्तकहरू छानेर पढ्न थालेका थिए । आप्mनो बाल्यकालमै पाएको यो वातावरणले उनलाई क्रान्तिको दिशामा मार्गनिर्देश गरेको अनुभूति हुन्छ ।
उनको सक्रिय बाल्यकालको एउटा दुःख या अभिशाप भने दम रोगको आक्रमण थियो । पटकपटकको आक्रमणविरुद्ध उनले एउटा कविता लेखेका थिए –
गोली र त्यो गोलीले के गर्न सक्छ मलाई
जब मेरो नियति नै डुबेर मर्नु छ भने ।
तर, म मेरो नियतिलाई परास्त पार्छु ।
इच्छशक्तिले नियतिलाई परास्त पार्न सक्दछ ।
हो, मृत्यु स्विकार्य छ
गोली छातीमा थापेर, सङ्गीन थापेर ।
अन्यथा, मलाई मृत्यु स्विकार्य छैन ।
डुबेर मर्ने नियति मञ्जुर छैन ।
म लड्दा लड्दै मरूँ ।
मेरो नाम लडाइँ भूमिमा अमर होस् ।।
यो कविता उनले सन् १९४७ मा लेखेका थिए अर्थात् उनको मृत्युको २० वर्षअघि ।
उनी उच्च शिक्षा इन्जिनियरिङ विषयमा गर्न चाहन्थे । तर, उनका प्रिय हजुरआमाको कष्टकर मृत्यु र आप्mनो रोगको उपचारका विधिको उत्सुकताले उनलाई चिकित्सा क्षेत्र डो¥यायो । सन् १९४७ मा सुरु गरी सन् १९५३ मा उनले बुइनस आइरिस विश्वविद्यालयमा चिकित्सा शिक्षा पुरा गरे । मेडिकल पढ्दै गर्दा नै उनले मोटरसाइकलबाट सम्पूर्ण उत्तरी अर्जेन्टिना घुमिसकेका थिए । त्यति मात्र होइन बोलिभिया, पेरु, इक्वेडर, पानामा, कोस्टारिका र ग्वाटेमाला भ्रमण सम्पन्न गरिसकेका थिए । मेडिकल अध्ययनकै दौरान उनले ६ महिना समुुद्रको तेल ट्याङ्करहरूमा नर्सको काम पनि गरे । सन् १९५२ मा उनी र उनका साथी अल्बर्टो ग्रेनाडोले ल्याटिन अमेरिका भ्रमणका लागि मोटरसाइकल यात्रा सुरु गरेका थिए । त्यसको स्मरण १९९३ मा “मोटरसाइकल डायरी” को रूपमा प्रकाशित भयो । त्यस्तै २००४ मा त्यही पुस्तकमा आधारित चलचित्र निर्माण भयो ।
ल्याटिन अमेरिकाको यात्राले उनलाई विभाजित र दरिद्र ल्याटिन अमेरिकाको दुःख बोध गरायो । मानवमाथिको शोषण, गरिबी, जातीय विभेद र दूरदराज अर्थात् कुनाकाप्चाका मानिसहरूको साँचो पीडाबारे जानकारी मिल्यो । उनको संस्मरण माटरसाइकल डायरी भन्छ –“ल्याटिन अमेरिकाको भ्रमणले मेरो राजनीतिक चेतना फराकिलो बन्यो । सामाजिक अन्याय र शोषणको पराकाष्ठा भोगिरहेको ल्याटिन अमेरिकालाई जोगाउन के गर्ने भन्ने चिन्तनको क्षितिज उघारियो । समाजवादी आन्दोलन र क्रान्तिको अध्ययन सुरु गरियो ।” उनले त्यही यात्रामा ल्याटिन अमेरिकी जनताको दुःखको कारण संरा अमेरिकी साम्राज्यवाद हो भन्ने अनुभव गरे । उनी सानैमा प्रगतिशील विचार राख्थे । देशभक्ति, साम्राज्यवाद र अमेरिकाविरोधी भावना अझ बलियो बन्यो । माक्र्सवादी बन्नुभन्दा अगाडि नै माक्र्सवादी साहित्य र समाजवादी चिन्तनबाट प्रभावित चेले ल्याटिन अमेरिकी जनतामाथि शोषणको अन्त्यको बाटो सङ्घर्ष या क्रान्ति मात्र हो भन्नेमा प्रतिबद्ध बने । उनले कतै लेखेका छन् –“चिकित्सा विज्ञान पढ्नु मेरो रोजाइ थियो । त्यो छनोट मेरो व्यक्तिगत फाइदा र सफलतासँग जोडेर हेरेको थिएँ । पछि थाहा पाएँ मेरो अध्ययनले सिँगो मानवजातिको सेवा गर्न सकिने रहेछ । मैले मेरो व्यक्तिगत सफलताभन्दा मानवजातिको हित रोज्नुपर्छ ।”
सन् १९५४ मा ग्वाटेमालाको अर्बेन्ज सरकारलाई सीआईएको भाडाको शक्तिले हत्याएपछि चे ग्वेभारा मेक्सिको गए । मेक्सिको शहरमै उनले नेता फिडेल क्यास्ट्रो र राउल क्याष्ट्रो भेटेका थिए र क्युवाली क्रान्तिको जुलाई २६ आन्दोलनसँग जोडिए । सन् १९५६ को अन्तिम हप्ता क्युवाका लागि मेक्सिको छोडी जुलाई २६ आन्दोलनमा भाग लिन पुगेका ८२ सदस्यहरूमध्ये चे ग्वेभारा एक थिए । त्यही वर्ष उनी सियरा माइस्ट्रा पहाडहरूमा निरङ्कुश बाटिस्टा सरकारविरुद्ध खडा गरिएको क्रान्तिकारी सैन्य मोर्चामा जोडिए । जुलाई २६ को आन्दोलनका निम्ति नोभेम्बर ३०, १९५६ मा सान्तियागो डि क्युवामा पुलिस र सेना भगाउन ठूलै हमला गरिएको थियो । ओरियन्ट प्रदेश ग्रान्मामा बस्ने योजना मुताबिक फिडेल, चे र ८२ जवान गुरिल्ला सेना अघि बढेको थियो । कार्यतालिकाबमोजिम नहुँदा अचानक जहाजमा तेल सकियो, जहाज १५ माइल वर नै रोकियो । ठूल्ठूला हातहतियारहरू लिएर हिँड्न सम्भव भएन । शत्रुबाट बच्न उनीहरूले हिलो माटोमा २ घन्टा पौडी खेल्नुपर्यो । उनीहरू पुग्नुपर्ने ग्रान्मा नजिक बाटिस्टा सरकारले सेना तैनाथ गरेको थियो । त्यसकारण, दिनको उज्यालोमा यात्रा गर्न सम्भव थिएन । जङ्गलमा रातको प्रतिक्षामा रहेका फिडेलहरूमाथि बाटिस्टा सरकारले अचानक आक्रमण गर्दाको परिस्थिति भयानक थियो । धेरैजसो कामरेडहरू मारिए, केहीलाई बन्दी बनाइयो र सारा हातहतियार हडप्यो । चे ग्वेभारा, फिडेल, राउल क्याष्ट्रो र अन्य १२ जना मात्र सियरा मायस्ट्राको बाटो लाग्न सफल भए । चे ग्वेभारालाई घाँटीमा गोलीको घाउ लागेको थियो । तर उनले आप्mनो मेडिकल सामग्रीको बाकस जङ्गलमै छाडेका थिए ।
उनले एउटा निबन्धमा लेखेका छन् –“त्यो जङ्गलमा पहिलो पटक म दुविधामा परेँ । चिकित्सा विज्ञानप्रतिको मेरो समर्पण या क्रान्तिकारी सेना हुनुको कर्तव्य ? के चुन्ने ? म अलमलमा परेँ । मेरो पैताला नजिक औषधी उपचारको बाकस र हातहतियारको थेली दुवै थियो । त्यो दुइवटै बोक्न सक्ने स्थितिमा म थिइनँ । मैले औषधी उपचार बाकस छोडेर हातहतियार उठाएँ र त्यहाँबाट बुट्यानको जङ्गल पार गर्दै अगाडि बढेँ ।” उनीसँगै इमिलिओ अल्ब्रेन्टोसा पनि थिए । अचानक गोली चल्यो । उनले आप्mनो छातीमा गोलीको झट्का महसुस गरे र घाँटीमा घाउ । उनकै अघि अल्ब्रेन्टो ढले । गहिरो चोटबाट रगत बग्नुका साथै रगतै छाडेर मृत्यु कुर्दै थिए अल्ब्रेन्टो । चेले उनलाई एक्लो छाडेनन् । यस पुस्तकले उनी र उनीसँग जोडिएका कामरेडहरू र मानिसहरूसँग पनि भेट गराउँछ ।
सन् १९५७ सम्ममा उनी उत्कृष्ट गुरिल्ला योद्धा बन्न सफल भए साथै फिडेल क्याष्ट्रोले उनलाई उच्च श्रेणीको कमाण्डरमा बढुवा गरे । उनी बाटिस्टा शासनको क्रुरताविरुद्ध आगो ओकल्थे । बाटिस्टा र फिडेलका सेनाबिच भिन्नता थियो । बाटिस्टा सरकार आप्mनै सेनाप्रति निर्मम र अमानवीय थियो भने फिडेल बाटिस्टाकै कैदी सेनालाई पनि मानवीय व्यवहार गर्थे । त्यो भिन्नताले शत्रु सेना या कैदीमा पनि सकारात्मक परिवर्तन देखिएको प्रसङ्ग पुस्तकमा छ । त्यो भिन्नताले फिडेलको सङ्घर्ष, चे ग्वेभाराको लडाइँ विजयमा टुङ्ग्याउन सघायो । चे र फिडेलहरूलाई क्युवाली किसानहरूको साथ थियो । किसानहरू आप्mनो झुपडी र बस्तीमा गुरिल्ला सेना लुकाउने ठाउँ दिन्थे, हतियार बिसाउने आश्रय दिन्थे । क्युवाली किसानहरूको पूर्ण साथविना क्रान्ति सम्भव थिएन ।
फिडेल क्यास्ट्रोले चे ग्वेभाराको विषयमा यसो लेखेका छन् –“चे त्यस्तो व्यक्ति हुन् जसको सरलता, व्यवहार, स्वाभाविक आचरण, कामरेडी भावना, व्यक्तित्व, मौलिक स्वभावका कारण जो कोही पनि प्रभावित हुन्छन् । उनलाई मनपराउन उनको पृथक विशेषतासम्म पुग्नै पर्दैन । सबैभन्दा पहिला गुरिल्ला सेनाबिच एकजना डाक्टरको हैसियतले सबैसँग घुलमिल भए र त्यसपछि उनी एक उत्कृष्ट सेनाको रूपमा स्थापित भए । उनको सैन्य कौशल र चिन्तन बडो गज्जबको थियो । बन्दुक समाउँदै घाइते लडाकु सेनाको उपचार गराउँदै अगाडि बढेको चे ग्वेभारा नै क्रान्ति सफलताको सङ्केत थियो ।”
सियरा माइस्ट्रामा बाटिस्टाले हमला गर्दा घाइते गुरिल्ला सेना छोडेर भाग्नुपर्ने अवस्थामा पनि चे ग्वेभारा घाइते सेनासँगै बसे र शत्रुको प्रतिकार गरे तब त्यहाँ फिडेल थिएनन् । उनी शत्रुविरुद्ध जाइलाग्न अग्रमोर्चामा थिए । सियरा माइस्ट्राको त्यो पहाड र जङ्गलले उनलाई प्रभावशाली नेताको रूपमा हुर्कायो । निःस्वार्थ अरूको देशमा क्रान्तिको लागि जीवन समर्पण गर्नुलाई उनले आप्mनो जीवनको ध्येय बनाए । जस्तै कठिन परिस्थितिहरूसँग सामना गर्न उनी प्रतिबद्ध थिए । बाटिस्टा सेनाबाट फ्रान्क पाइसको हत्यापछि क्युवाली गुरिल्ला युद्धले अर्को मोड लियो । उनको हत्यापछि क्युवाली जनता अझ उत्साहसाथ बाटिस्टाको बर्बरताविरुद्ध लड्न तयार भए । फ्रान्क पाइ एक सर्वप्रिय जुझारु लडाकु थिए ।
सन् १९५८ मा चेले युद्धको एउटा महत्वपूर्ण मोर्चाको नेतृत्व गरेर सान्टा क्लाराको राजधानी कब्जा गर्ने चुनौतिपूर्ण काम गरे । त्यो घटनाले बाटिस्टाको शासन अन्त्यको शङ्खघोष गरेको थियो । चेको त्यो अगुवाइ र नेतृत्वका कारण बाटिस्टा पनि डराएर क्युवा छोडेको थियो । नभन्दै सन् १९५९ जनवरीमा क्रान्ति सफल भयो । त्यसपछि चे काबाना फोट्र्रेसको कमाण्डरमा नियुक्त भए । त्यतिमात्र होइन क्युवाको केन्द्रीय बैङ्कको अध्यक्ष समेत बने । उनले दुई महिनाका लागि युरोप, अफ्रिका र एसियामा कूटनीतिक मिसनको नेतृत्व समेत गरे ।
क्युवाली क्रान्तिको मैदानमै एक जुझारु र सक्रिय अलाइद्रा मार्च तोरेससँग उनको भेट भयो । उनीसँगको पहिलो भेटमै अलाइडाले आप्mनो शरीरमा लुकाइराखेको ५० हजार पेसोज दिएकी थिइन् । नेतृत्वको निर्देशनअनुसार उनी चे ग्वेभाराको मातहतमा रहेर बाटिस्टा शासनविरुद्धको लडाइँमा सहकार्य गर्न आएकी थिइन् । सुरुमा चे ग्वेभाराले उनको आग्रह अस्विकार गरे र क्याम्पमै नर्सको जिम्मेवारीमा रहन आदेश दिए । अलाइडाले त्यसको प्रतिवाद गरिन् । “विगत दुई वर्षदेखि गुरिल्ला लडाकु बनेर काम गरेको अनुभव छ, म यहाँ नर्स होइन योद्धा बन्न आएकी हुँ” भन्ने अलाइडाको आक्रोश सुनेर चे ग्वेभारा उनीलाई आप्mनो स्वकीय सचिवसम्म बनाउने निधो गरेका थिए । सन् १९५९ जून २ मा उनले आफ्नो पहिलो श्रीमतीसँग छोडपत्र गरी हवानाकी छोरी अलाइडासँग विहे गरे ।
क्रान्तिपछि ल्याटिन अमेरिका, क्यारेवियाली देश र अफ्रिकी देशहरूमा चे ग्वेभाराको क्रान्तिकारी व्यक्तित्व र विचार प्रचार भयो । साम्राज्यवादविरुद्ध नेता चेको आक्रोश, क्रान्ति र समाजवादप्रति चेको समर्पण र गरिल्ला युद्धबारे चेको विचारको खुलेर प्रशंसा मात्र होइन आत्मसात हुन थाल्यो । विशेषतः क्रान्तिकारी गुरिल्ला युद्धबारे उनको धारणा विश्वको चासो बन्यो । साम्राज्यवाद र समाजवादबारे चेको धारणा र क्युवाली क्रान्तिपछि क्युवामा नेता चेको योगदानबारे पनि पुस्तकले चर्चा गरेको छ । त्यति मात्र होइन अफ्रिकामा चेको गुुप्त मिसन र दुःखद निधनबारे पुस्तकमा सविस्तार छ । उनका कृति र उनको जीवनमा आधारित चलचित्रहरूबारे पनि पुस्तकले जानकारी दिन्छ । उनको जीवन समर्पण र योगदानबारे थप चर्चा अर्को अङ्कमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *