भर्खरै :

एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई भनपामा स्वागत

एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई भनपामा स्वागत

भक्तपुर, ९ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी हुन भक्तपुर आउनुभएका पोखरा एभेन्जर्सका खेलाडी तथा अफिसियलहरूलाई भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको तर्फबाट एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी हुन आएका पोखरा एभेन्जर्सका खेलाडी तथा अफिसियलहरूलाई स्वागत गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले क्रिकेट पछिल्लो समय युवामाझ लोकप्रिय खेलका रूपमा विकास हुँदै गएको बताउँदै नेपालमा एनपीएल क्रिकेट प्रतियोगिता आयोजना हुनु सकारात्मक र महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।
खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई राजनीति र कूटनीतिसँग पनि जोडिएको क्षेत्र भएको उहाँले बताउनुभयो । खेलकुले देशहरूबिचको सम्बन्ध विस्तार गर्न तथा आपसी सद्भाव र समझदारी अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै खेलकुद क्षेत्रको विकासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाउनुका साथै आर्थिक गतिविधि र पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने उहाँको भनाइ थियो ।
खेलाडीहरू प्रतियोगितामा सहभागी हुँदा आफ्नो व्यक्तिगत प्रदर्शनका लागि मात्र नभई देशको प्रतिनिधित्व गरेर जाने भएकाले उनीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
भक्तपुर क्षेत्रफलका हिसाबले सानो नगरपालिका भए पनि ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण नगर भएको उल्लेख गर्दै उहाँले भक्तपुरको मौलिक कला, संस्कृति र सम्पदाबारे पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा पोखरा एभेन्जर्सका जनरल म्यानेजर अमित लोहनीले टोलीलाई न्यानो स्वागत गर्नुभएकोमा भक्तपुर नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
त्यसैगरी भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले स्वागत मन्तव्य राख्दै खेलकुदले आपसी सद्भाव, अनुशासन, सहकार्य र भाइचाराको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले पोखरा एभेन्जर्सका खेलाडी तथा अफिसियलहरूको टोलीलाई भक्तपुर नगरपालिकाद्वारा प्रकाशित पुस्तकहरू मायाको चिनोस्वरूप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *