भर्खरै :

विद्यार्थीलाई प्रतिवेदन लेखन सीपसम्बन्धी दुईदिने तालिम सम्पन्न

विद्यार्थीलाई प्रतिवेदन लेखन सीपसम्बन्धी दुईदिने तालिम सम्पन्न

भक्तपुर, १५ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, भक्तपुर नगर समितिको आयोजनामा विद्यार्थीहरूका लागि दुईदिने प्रतिवेदन लेखनसम्बन्धी तालिम आइतबार सम्पन्न भयो ।
नयाँ पुस्तामा अध्ययन, विश्लेषण, लेखन तथा प्रतिवेदन तयार गर्ने सीपको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण ख्वप कलेज अफ ल का शिक्षक ओजस्वी केसी तथा अनिता जधारीले प्रदान गर्नुभएको थियो ।
तालिमका क्रममा प्रतिवेदनको अवधारणा, प्रतिवेदन लेखनको संरचना, तथ्य तथा सूचनाको सङ्कलन, घटनाको वस्तुगत प्रस्तुति, विश्लेषणात्मक लेखन तथा प्राप्त सूचनालाई व्यवस्थित रूपमा प्रतिवेदनमा प्रस्तुत गर्ने तरिकालगायतका विषयमा प्रशिक्षण दिइएको थियो । सहभागीहरूलाई केवल सूचना सङ्कलन गर्नेभन्दा पनि प्राप्त तथ्यलाई अध्ययन र विश्लेषण गरी तार्किक रूपमा प्रस्तुत गर्न सक्ने क्षमताको विकासमा जोड दिइएको थियो ।
कार्यक्रमको समापन समारोह नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा उहाँले आजको पुस्ताले सांस्कृतिक, शैक्षिक तथा विभिन्न व्यावहारिक सीपहरू निरन्तर सिकिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सामाजिक सञ्जालहरूमा नकारात्मक कुराहरूको प्रचारलाई व्यापक बनाइरहेको सन्दर्भ जोड्दै नयाँ पुस्तामा देश र समाजप्रति जिम्मेवार भई सकारात्मक परिवर्तनका लागि रचनात्मक गतिविधि गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष विलम सुवालले नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले देश र जनताको पक्षमा निरन्तर आवाज उठाइरहेको चर्चा गर्दै स्थानीय तहमा भइरहेका विकास निर्माण, सामाजिक तथा सांस्कृतिक गतिविधि र विभिन्न नीतिगत कार्यबारे विद्यार्थीहरू जानकार हुन सकेमा उनीहरूमा सामाजिक तथा नागरिक चेतना अझ विकसित हुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष बिभु किजूले युवाहरूलाई अध्ययन तथा पठन संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थी जीवनलाई केवल औपचारिक शिक्षामा सीमित नराखी निरन्तर अध्ययन, अनुसन्धान, लेखन र बौद्धिक गतिविधिमा सक्रिय बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
दुईदिने तालिमले सहभागी युवा तथा विद्यार्थीहरूमा प्रतिवेदन लेखनसँगै अध्ययन, तथ्य सङ्कलन, विश्लेषण, लेखन र सामाजिक गतिविधिलाई अभिलेखीकरण गर्ने सीप विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । यस्ता कार्यक्रमले युवा पुस्तालाई केवल सहभागी हुनेभन्दा पनि कुनै विषयलाई गहिराइपूर्वक अध्ययन गर्ने, तथ्यका आधारमा धारणा बनाउने र आफ्ना विचारलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने संस्कृतिको विकास गर्न सहयोग पुग्ने देखिन्छ भन्ने धारणा प्रशिक्षार्थीहरूले व्यक्त गर्नुभयो ।
प्रशिक्षार्थीहरूलाई यसअघि नेपालभाषा साहित्य तःमुंज्यामा प्रतिवेदन लेखनको व्यवहारिक अभ्यास गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *