भर्खरै :

ख्वप तिलगंगा आँखा अस्पतालमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर

ख्वप तिलगंगा आँखा अस्पतालमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर

भक्तपुर, १७ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल आँखा कार्यक्रमअन्तर्गत ख्वप तिलगंगा आँखा अस्पतालमा आयोजित निःशुल्क मोतिबिन्दु स्वास्थ्य शिविरको उद्घाटन गर्नुभयो ।
शिविरमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले नगरपालिकाले समय–समयमा सञ्चालन गर्दै आएको स्वास्थ्य शिविर तथा भक्तपुरमा आँखा उपचार सेवा उपलब्ध हुनुले स्थानीय नागरिकलाई ठुलो सहजता भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले शिविरबाट मोतिबिन्दुको समस्याबाट पीडित नागरिकले सहज रूपमा उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले समाजसेवाको भावनाले समर्पित भई स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका संस्थाहरूसँग सहकार्यलाई निरन्तरता दिँदै आएको बताउँदै अरनिको समाजसँग पनि लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै ख्वप अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेकोमा सम्बन्धित संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका र चिनियाँ मित्रहरूबिचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै उहाँले दुई पक्षबिच भ्रमण आदानप्रदान पनि भइरहेको र आगामी दिनमा चिनियाँ मित्रहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै विभिन्न क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । भक्तपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि हुनु पनि दुई पक्षबिचको सम्बन्धको सकारात्मक पक्ष रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा अरनिको समाजका अध्यक्ष डा. सुशील प्रजापतिले समाजको सङ्क्षिप्त परिचय दिँदै निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरबाट स्थानीय नागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा चीनस्थित सियाओमिङ आई बैङ्क फाउन्डेसनका संस्थापक प्राध्यापक याओ सियाओ मिङ, चीनको सिचुआन प्रान्तीय विदेश मामिला कार्यालयको अन्तर्राष्ट्रिय मामिला विभागका निर्देशक लुओ हाओले पनि बोल्नुभएको थियो ।
त्यसैगरी, ख्वप तीलगंगा आँखा अस्पतालका व्यवस्थापक धिरज अधिकारीले अस्पतालबाट प्रदान हुँदै आएका स्वास्थ्य सेवा तथा सुविधाबारे जानकारी दिँदै शिविरअन्तर्गत आज र भोलि निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिने बताउनुभयो । ख्वप तिलगंगा आँखा अस्पतालले जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी शिविरबाट छनोट भएका मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने उहाँले अवगत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *