भर्खरै :

रास्वपा सरकार र भारत सरकारबिचको सहमति कसको हितमा ?

रास्वपा सरकार र भारत सरकारबिचको सहमति कसको हितमा ?

दुई देशका सरकार प्रमुखहरूको संयुक्त वक्तव्यमा सीमास्तम्भ मर्मत सम्भारमा भएको प्रगतिको सन्तोष व्यक्त गरियो । सीमास्तम्भ मर्मतको नाममा भारतले नेपालको जग्गा भारततर्फ पारेकोलाई रास्वपा सरकारले समर्थन गरेको अर्को देशघात हो । तत्कालीन नेकाका प्रम देउवाले लुम्बिनी भ्रमणमा आएका मोदीलाई तल्लो अरुण सुटुक्क दिएकोमा नेपाली जनताको विरोध भइरहेको हो । संयुक्त वक्तव्यमा रास्वपाले त्यो देशघातलाई पनि समर्थन ग¥यो । नेपालको पञ्चेश्वर, सप्तकोसी, सुनकोसीको पानीसमेत भारतलाई दिने संयुक्त वक्तव्यको नेपाली जनताले विरोध गर्नु जरुरी छ ।
रास्वपा सरकारले भारतसँग ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण लिने सहमति ग¥यो । यसरी रास्वपा सरकार नेपाली जनतालाई ऋणमाथि ऋण बोकाउँदै छ । संयुक्त वक्तव्यमा ‘ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण दस्ताबेज’ उल्लेख गरी नेपालको ऊर्जा भारतको पोल्टामा राखिएकोलाई पनि रास्वपा सरकारले समर्थन गरेको थप देशघात हो । नेपाली जनताले नेपालको नदीनालाको पानी भारतले सिँचाइ र अन्य क्षेत्रमा उपयोग गरेको लाभ नेपाललाई भुक्तानी गर्नुपर्ने विषय उठाउँदै आएकोलाई संयुक्त वक्तव्यमा छोडेको छ । यो नेपाली जनतालाई मान्य छैन ।
रास्वपा सरकार प्रमुख र भारतका समकक्षीबिच आठ बुँदाको सहमति गरियो । पहिलो बुँदामा फरेन्सिक विज्ञानमा सहकार्य उल्लेख छ । गत वर्ष भदौ २३ र २४ गते तोडफोड र आगजनीमा रसायन प्रयोग भएको परीक्षण गर्न भारत पठाइएको नमुनाबाट के अब छिट्टै प्रतिवेदन आउने र दोषीलाई कारबाही हुने हो ? के भारत अनुकूलको रास्वपा सरकारको आयु लम्ब्याउन उल्लिखित रसायन परीक्षणको प्रतिवेदन कहिल्यै नआउने हो ?
सहमतिको दोस्रो बुँदामा प्रहरी प्रशिक्षणको विषय उल्लेख छ । यसको अर्थ पनौतीको प्रहरी प्रतिष्ठान निर्माण भारत सरकारको सहयोगमा भारतीय ठेकेदारमार्फत बनाइएकोलाई समर्थन गराइने हो ? नेपाल प्रहरी प्रतिष्ठानको नक्सा नेपाल सरकारलाई थाहा नहुने किन ? के नेपाल सरकारसँग सुरक्षासँग जोडिएको प्रहरी प्रतिष्ठान निर्माण गर्न केही अर्ब रूपैयाँ छैन ? सन् १९५० को नेपाल–भारत सन्धिमा नेपाललाई भारतको सुरक्षा छातामा राखिएकोलाई थप बल प्रदान गर्न यो सहमति गरिएको हो ?
नेपालका सरकारी अधिकारीहरूलाई भारतको सुशासन अध्ययन गराउनेसमेत सहमतिको बुँदा ३ मा उल्लेख छ । भारतमा सुशासन कायम भएको भए ३० करोड भारतीय दिनको एक छाक खाने र ५० करोड भारतीय खुला शौचालय जाने स्थितिमा कसरी हुन्छ ? नेपालका अधिकारीहरूलाई सुशासनको अध्ययन जनसङ्ख्या र भूगोलको आकार मिलेको क्युवा र प्रजग कोरियामा गराउनु जरुरी छ । नेपालका अधिकारीहरूलाई भारतमा प्रशासनिक अध्ययनमा पठाइरहेको लामो भयो तर एक सचिवले ‘सिंहदरबार भ्रष्टाचारको केन्द्र’ बनेको बताएको बाहिरियो ।
सहमतिको चौथो बुँदामा आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिमा सहकार्य हुने उल्लेख छ । नेपालको जडीबुटी कब्जा गर्न भारतले रामदेवको पतञ्जली तयार गरेकै छ । नेपालका कतिपय जिल्लामा रामदेवको पतञ्जलीले जडीबुटी खेती गर्न जग्गा कब्जा गर्दै छ । सिंहदरबार वैद्यखाना र मनोहरास्थित जडीबुटी प्रशोधन केन्द्र सुकाउने सरकारी अधिकारीहरू नै भएको पनि बाहिरिएकै हो ।
सहमतिको पाँचौँ बुँदामा स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने उल्लेख छ । स्याटेलाइट (भूउपग्रह) विज्ञान त नेपाल जतिकै भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियासँग पनि छ । भारतको उपग्रहमा नेपाल निर्भर हुनु नेपालको सार्वभौमिकतामा भारतीय थिचोमिचो स्वीकार गर्नु हो ।
सहमतिको छैटौँ बुँदामा सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यको विषय उल्लेख छ । भारतको जनसङ्ख्या नेपालको तुलनामा धेरै छ । नेपालको भूगोलअनुसार ठुलठुलो सहर निर्माण उपयुक्त हुँदैन भने भारतलाई ठुला सहरको जरुरी हुन्छ । नेपाललाई २०–३० हजारको सहर उपयुक्त हुन्छ भने भारतलाई ५–१० लाखको सहर आवश्यक होला ? यो विषय सरकारहरूले कसरी बुझेनन् ?
सहमतिको बुँदा सातमा स्वास्थ्य र चिकित्सा विषय उल्लेख छ । नेपालको लागि औषधि आयात हुने मुख्य देश भारत हो । यसैको लागि यो सहमति गरिएको भए यसबाट नेपालको व्यापार थप बढ्नेछ ।
सहमतिको बुँदा ८ मा पशुपालन र मत्स्यपालनको विषय उल्लेख छ । रास्वपा सरकारले नेपालको जलस्रोतमाथि भारतको कब्जा र भारतीय कव्जामा राखिएको नेपालको भूमि फिर्ता ल्याउने विषय भारतसँग उठाउने साहस गरेन । यसबारे नेपाली जनताले रास्वपा सरकार र तिनका नेताहरूसँग प्रश्न उठाउनु आवश्यक छ ।
नेपालको तर्फबाट सरकारका प्रमुख सचिव र भारतको तर्फबाट सम्बन्धित सचिवले हस्ताक्षर गर्नुपर्ने गरी मुख्य सचिव किन भारत पुगे ? रास्वपा सरकार प्रमुखले भारतीय विदेशमन्त्रीलाई उठेर स्वागत गर्नुपर्ने वार्ता कसरी तय
गरियो ? यी प्रश्न पनि उठिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *