भर्खरै :

‘विद्यार्थीलाई कमिसन कुम्ल्याउने माध्यम नबनाऊ’

भक्तपुर, १६ असार । ‘२०१२–१३ सालमा आफू काठमाडौंको ताहाचलस्थित दरवार स्कूलमा पढ्दाको दुःख सम्झेर भक्तपुरमै कलेज स्थापना गर्नुपर्छ भन्ने सोचले कलेज स्थापनाको लागि आन्दोलन गरिएको हो ।’
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रभात अङ्ग्रेजी माविबाट शनिबार आयोजित एसईई उत्तीर्ण विद्यार्थीहरूको बधाइ तथा मार्ग निर्देशन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
काठमाडौंका अधिकांश कलेजहरूको मुख्य उद्देश्य विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिई अनुशासित बनाउनेभन्दा पनि पैसा वा नाफा कमाउने रहेको चर्चा गर्दै उहाँले काठमाडौंका केही ठूला विद्यालयहरूले एसएलसी परीक्षा बोर्डलाई प्रभाव पारी आफ्नो पक्षमा परिणाम निकाल्ने गरेकाले एसईई परीक्षा प्रणाली लागू गरिएको तर यस प्रणालीमा पनि धेरै समस्या बाँकी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कमिसनको निमित्त काठमाडौंका निजी कलेजहरूमा विद्यार्थी लाने वा पठाउने काम निन्दनीय रहेकोले विद्यार्थी किनबेचजस्तो कार्यमा शिक्षकहरू लाग्न हुन्न ।’
विद्यार्थीले एसईईको ग्रेडको आधारमा उच्च शिक्षाको विषय छनोट गर्नुभन्दा पनि देशको लागि आवश्यक जनशक्ति तयार गर्ने गरी विषय छनौट र अध्ययन गर्नुपर्ने खाँचो औंल्याउँदै अध्यक्ष रोहितले भन्नुभयो– ‘अहिलेको सन्दर्भमा देशको कृषिलाई आधुनिकीकरणतर्फ लानु आवश्यक छ ।’
पढद्ैमा सांस्कृतिक स्तर नउठ्ने र अनुशासनविनाको शिक्षा जीवनोपयोगी नहुने बताउँदै उहाँले विद्यार्थीलाई अनुशासित र सङ्घर्षशील बनाउन शिक्षकहरूले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।
जुनसुकै विषय अध्ययन गरे पनि विशेषज्ञता हासिल गरी देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावना राख्नुपर्नेमा अध्यक्ष रोहितको जोड थियो ।
‘प्रजग कोरियामा तीन लाख इञ्जिनियरहरू छन् । उनीहरूले आफ्नै भाषाबाट अध्ययन गरी इञ्जिनियर भएका हुन् । यसले कोरियाको विकास गर्न सहयोग पुगेको छ’– उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालले प्रभातमा अध्ययनरत विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
‘किताबी ज्ञानमा मात्र सीमित नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे पनि विद्यार्थीहरू जानकार हुनुपर्छ’ – उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुरलाई सांस्कृतिक नगरको रूपमा विकास गर्न यहाँका नागरिकहरू सभ्य, सुसंस्कृत र अनुशासित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवालले विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनबारे मार्ग निर्देशन गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णबहादुर प्रजापति र शिक्षिका बदनकेशरी प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *