भर्खरै :

मेक्सिकोमा पनि नेपालकै तालको चुनाव

अजित शुक्ला
मेक्सिकोमा आइतबार सम्पन्न राष्ट्रपति तथा दुवै सङ्घीय व्यवस्थापिका सदस्यको निर्वाचनमा हरेक पुँजीवादी निर्वाचनमा जस्तै मत किन्न, मतपेटिका चोर्ने, मतदातालाई सामान र पैसा बाँड्नेजस्ता काम भएको समाचारहरूले जनाएका छन् । चुनावमा हुने यस्ता अपराधबारे अनुसन्धान गर्ने न्यायाधीश कार्यालयका अनुसार बिहीबारसम्ममा एक हजार एक सय ५ वटा त्यस्ता घटनासम्बन्धी उजुरीहरू परेका थिए । परेका उजुरीमध्ये अधिकांश उजुरी मत किनेको र मतदाता परिचयपत्र चोरेको अपराधसम्बन्धी उजरी धेरै छन् । चुनावमा हुने यस्ता धाँधलीबारे अध्ययन गरिरहेको गरिबीविरुद्ध नागरिक पहल नामको संस्थासहित ६० वटा संस्थाहरूको समूहले सार्वजनिक गरेको प्रतिवेदनअनुसार राजनीतिक पार्टीहरूले प्रतिमत २५ अमेरिकी डलरदेखि ५०० अमेरिकी डलरसम्म खर्च गरेको पाइएको छ । मतदानको दुई अघि उनीहरूले त्यस्तो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
पार्टीहरूले मतदाताहरूलाई खानेकुरा भएको बाकस, घरेलु प्रयोगका सामग्री, विद्युतीय पैसा(मोबाइलमा ब्यालेन्सआदि), निर्माण सामग्रीदेखि रोजगार वा सामाजिक सुरक्षा भत्ता जस्तै वृद्धभत्ता, बेरोजगारी भत्ताआदि दिने आश्वासन दिएका थिए । मेक्सिकोको रिभुल्युशनरी इन्स्टिच्युट पार्टी(पीआरआई) र त्यसका भातृसंगठनबाट त्यस्ता धाँधलीका घटनाबारे उजुरी गरेका थिए । त्यस्ता उजुरी देशैभरिका नगरपालिकाबाट आएका थिए । सत्तासीन नेशनल एक्सन पार्टीका कार्यकर्ताबाट यस्ता धाँधलीका काम भएको भनाई छ ।
मेक्सिको निर्वाचनमा यस्ता घटना भने यो पहिलो पटक होइन । यसअघिका चुनावमा पनि यस्ता घटना हुने गरेका थिए । आफ्नो पक्षमा मतदान गर्न मतदातालाई डर–धम्की देखाउनेसम्मका काम पनि हुने गर्दछ । जानकारहरूका अनुसार यो पटकको निर्वाचनमा त तुलनात्मक रुपमा यस्ता काम न्यून भएका छन् । दशकअघिको चुनावमा त मतदान केन्द्रमा हमला हुनुलाई सामान्य घटनाको रुपमा लिइन्थ्यो । तुलनात्मक रुपमा आजभोलि यस्ता घटना कम छ र मानिसले चुनावी परिणाममा पहिलेभन्दा विश्वास गर्न थालेका छन् ।
मेक्सिकोका अधिकांश मानिस राजधानी मेक्सिको सिटी र अरु शहरी क्षेत्रमा बस्ने गर्दछन् । उनीहरूले मत भने आफूले जुन स्थानबाट मतदाता परिचयपत्र लिएका हुन्, त्यही स्थानमा मतदान गर्नु पर्दछ । मतदाताले तोकेको स्थानभन्दा अन्यत्रबाट मतदान गर्ने हो भने निर्वाचन अधिकारीलाई पूर्वजानकारी दिनुपर्दछ । तर चुनावमा यसरी अन्यत्र मतदान गर्ने मतदाताको लागि पुग्दो मात्रामा मतपत्र पठाउने नगरेको भन्ने व्यापक आलोचना हुने गरेको छ । अधिकांश मतदान केन्द्रमा बन्दोबस्त गरिएको मतपेटिका नै अपुग भएको जनगुनासो थियो । प्युब्ला राज्यमा मतदानको समय सकिन लाग्दा केही पाँच–छ जना सशस्त्र युवा मतदान केन्द्रमा प्रवेश गरी हवाईफायर गरी सबै मतदान कर्मचारीलाई नियन्त्रणमा लिई मतपेटिका नियन्त्रणमा लिएको थिए । केही ठाउँमा फैलिएको हिंसामा परी कम्तीमा एक जना मानिस मारिएको खबर छ ।
निर्वाचनको क्रममा मतदाताहरूलाई पुँजीवादी पार्टीहरूले आफ्नो पक्षमा मतदान गरेका मतदातालाई कुपन बाँधेर विभिन्न सामान बाँडेका थिए । टेलिसुरले त्यसरी गोप्य रुपमा सामान बाँडेका भिडियो सार्वजनिक गरेको छ ।
पुँजीवादी निर्वाचनले जनताको वास्तविक चाहना प्रतिविम्बित गर्न नसक्ने सत्य नेपालमा जस्तै मेक्सिकोमा पनि देखिएको छ । चुनाव जित्न जस्तोसुकै अनैतिक काम गर्न पनि पुँजीवादी राजनीतिक दल र उम्मेदवार तत्पर हुने वास्तविकता मेक्सिकोको चुनावमा पनि देखिएको छ । यसरी चुनावमा पैसाको लेनदेन र खर्च गर्नेले जित्ने हुनाले पुँजीवादी बन्दोबस्तमा भ्रष्टाचार व्यापक हुने गर्दछ । मेक्सिको संसारमा धेरै भ्रष्टाचार हुने देशमध्ये एउटा हो । भ्रष्ट राजनीतिक प्रणालीका कारण त्यहाँका जनताको आधारभूत आवश्यकता समेत पूरा हुन नसक्दा दैनिक हजारौंको सङ्ख्यमा त्यहाँका जनता काम र भविष्यको खोजीमा संरा अमेरिकी राज्य टेक्सस पस्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *