भर्खरै :

सुस्तावासीप्रति ऐक्यबद्धता

नारायणी नदीमा आएको बाढीले आफ्नो गाउँ र खेत डुबाउन लाग्दा नवलपरासी जिल्लाको सुस्ता क्षेत्रका नेपाली जनताले भारतले बनाएको पश्चिमी गण्डक नहर भत्काएका छन् । भारतले बनाएको नहर र तटबन्धका कारण हरेक वर्ष आफ्नो धनजन गुमाउँदै आएका सुस्ताका नेपाली जनताको यो कदम धेरै वर्षदेखिको संयमको विस्फोटन हो । २०२५ सालभन्दा अघिदेखि नै सुस्ताका जनताले एकातिर भारतीय पक्षको हेपाहा प्रवृत्तिको सामना गर्दै आएका छन् भने अर्कोतिर नेपाल सरकारको पनि उपेक्षा भोगिरहनुपरेको छ । सीमावर्ती भारतीय गाउँका अपराधी र भारतीय सीमा सुरक्षा बलले सुस्तावासी नेपाली जनतालाई अनेक प्रकारबाट सास्ती गर्दै आएका छन् । नेपाली जनताको उखुबारीमा आगो लगाउनेदेखि स्थानीय जनतामाथि हातपात र चेलीबेटीमाथि नराम्रो व्यवहार समेत भोग्दै आउनुपरेको छ–सुस्ताबासी जनताले । भारतीय सीमा सुरक्षा बलले पटक–पटक गरेर सयौं बिघा नेपाली भूमि अतिक्रमण गरिसकेका छन् । तर सुस्ताका नेपाली जनताले हरेक प्रकारका चुनौती सामना गरेर नेपाली सीमाको रक्षा गर्दै आएका छन् । तर त्यसको बदलामा सिंहदरबारमा ‘राष्ट्रियता’ को प्रवचन दिने आजसम्म सरकारमा गएका कुनै पनि शासक दलले सुस्ताको पीडा समाधान गरेन मात्र होइन, बरु उपेक्षाको तीरले सुस्तावासीको घाउमा नुनचुक डल्ने काम गरे ।
सुस्तामा मात्र होइन, आज तराईका अधिकांश जिल्लाहरू बाढी पीडित भएका छन् । लाखौं–लाख नेपाली जनताले धनजनमात्र गुमाउनुपरेको छैन, उनीहरूको उठिबाससमेत भएको छ । तराईमा यसरी बाढीको समस्याको जड पानी पर्नुमात्र नभई सिमानामा भारतले बनाएका बाँध र तटबन्धहरू हुन् । ती बाँध र तटबन्धका कारण नेपालको तराई भूभाग भारतको पानी भण्डारण गर्ने ठाउँ बन्दै आएको छ । नेपालीलाई डुबानमा डुबाएर भारतले आफ्नो भूभागमा सिंचाइ गर्दै आएको छ । डुबानका कारण नेपाली जनताको खेतीबाली नष्ट हुने गरेको छ ।
वर्षौ–वर्षदेखिको यो अवस्थाबाट वास्तवमा नेपाली जनता आजित भइसकेका छन् । सिंहदरबारको सरकारले यस्तो समस्या समाधानका लागि केही कदम चाल्ने नेपाली जनताले आशा नगरेका होइनन् । तर सीमावर्ती नेपाली जनताको यो अपेक्षाबाट सिंहदरबारमा घुम्ने मेचमाथि बसेको मानिसको कानमा बतास लागेन । अन्ततः आज नेपाली जनता आफैं भारतीय पक्षको अन्यायपूर्ण व्यवहारको प्रतिकारमा उत्रेका छन् । अघिल्लो वर्ष सप्तरीको तिलाठीमा देवनारायण यादवले भारतीय पक्षको प्रतिकार गरेर जनस्तरमा भारतीय हेपाहा प्रवृत्तिको विरोध गरेका थिए भने यो वर्ष सुस्ताका नेपाली जनताले गण्डक नहर भत्काएर यो गौरवलाई निरन्तरता दिएका छन् ।
भारतीय विस्तारवादी व्यवहारको विरोध गर्ने सङ्घर्षमा नेपाल सरकार सधैं नेपाली जनताभन्दा पछि नै परेको इतिहासले देखाएको छ । भारतले सुस्तामा अतिक्रमण गर्दा विसं २०२५ सालमा नेपाली जनताले पञ्चायती निरङ्कुश शासनलाई चुनौती दिंदै विरोध प्रदर्शन गरेका थिए । तत्कालीन पञ्चायती सरकारले प्रदर्शनकारी जनतामाथि दमन गरेको थियो । बहुदलीय बन्दोबस्त स्थापना भएपछिका शासकहरू भारतप्रति अझ नतमस्तक बने । भारतले नाकाबन्दी लगाउँदा नेपाली जनताले विभिन्न तरिकाबाट भारतीय दमनको विरोध गरेपछि मात्र सरकार बाध्य भएर भारतीय नाकाबन्दीको विरोध गर्न तम्सेको थियो । नत्र तात्कालीन सरकारले नाकाबन्दीलाई नाकाबन्दी भन्न पनि हिम्मत जुटाउन सकेको थिएन ।
सुस्तामा भारतीय नहर भत्काएर नेपाली जनताले फेरि पनि सरकारभन्दा हिम्मतिलो बनेर भारतीय हेपाहा व्यवहारको विरोधको थालनी गरेका छन् । सुस्तावासी नेपाली जनताप्रति सम्पूर्ण देशभक्त नेपाली जनताको ऐक्यबद्धता ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *