जारशाही संसद्मा बोल्शेभिक सांसद–४
- कार्तिक २२, २०८२
-हरिसुन्दर
९ असारको शनिबार राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भएपछि सो विषयमा अहिले व्यापक चर्चा–परिचर्चा सँगसँगै विद्यालय–विद्यालयहरूमा समीक्षा भइरहेका छन् । विद्यालय आफैले विद्यार्थीकै निम्ति बधाई कार्यक्रम गरिरहेका छन्, विभिन्न पत्रपत्रिकामा फोटोसहित बधाई प्रकाशन गरेका छन् ।
विद्यालयको कक्षा १० को परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई रातो टीका लगाइदिएका छन्, दही सगुन लगाइदिएका छन् । गुलियो लड्डु ख्वाएका छन् । विद्यार्थीले कक्षा १० को परीक्षा उत्तीर्ण गर्नुलाई शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय तथा शिक्षाविद्हरूले अन्य कक्षा उत्तीर्ण भएसरह हो भनेर व्याख्या, विश्लेषण गरे पनि शिक्षक, अभिभावक र विद्यार्थीले भने यसलाई विद्यालय शिक्षाको सबैभन्दा ठूलो सफलता पाउने परीक्षाका रुपमा बुझेका छन्, त्यसरी नै बुझाएका छन्, त्यसैअनुसारको लगानी विद्यालयले गरिरहेका छन् । यसकारण पनि एसईईको महिमा विगत तीन वर्षअघि नै खारेज भइसकेको एसएलसीजत्तिकै देखिएको छ । यसको रौनक अझ पनि उस्तै तरिकाको छ । लेटर ग्रेडिङबारेमा ‘ग्राउण्ड लेवल’ मा गर्नुपर्ने तयारी बिर्सेर मन्त्रालय, विभाग, कुनै ठूला तारे होटलहरूमा मात्र अभिमुखीकरण, छलफललाई केन्द्रित गर्दा अलमलको स्थिति विद्यमान छ । यस्तो नहुनुमा शिक्षा मन्त्रालय नै बढी जिम्मेवार छ ।
कुनै क्षेत्र, तहमा सफलता हासिल गर्नु, परीक्षामा सफलता पाउनु स्वाभाविक रुपमा बधाईका लागि योग्य पात्र बन्नु नै हो । यसैको सिलसिलाको रुपमा एसईई उत्तीर्ण विद्यार्थीलाई पनि बधाई दिने क्रम छ । एसईई उत्तीर्ण विद्यार्थीहरूलाई निश्चित रुपमा बधाईसँगै परामर्श र मार्गनिर्देशनको जरुरी देखिएको छ ।
विद्यार्थीहरूलाई मार्गनिर्देशन, परामर्श जहिल्यै पनि आवश्यक हुन्छ । अझ भर्खर एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि त अत्यावश्यक नै हुन्छ । कारण, ती विद्यार्थीहरू भनेका भर्खर किशोर वयका हुन् । सरकारले अझै पनि अक्षराङ्कन पद्धतिबारेको अन्योल, तह उत्तीर्ण भएपछि कुन विषय, कुन विषय रोज्ने भन्नेबारे द्विविधा कम गर्न सकेको छैन । यस्तो अवस्थामा विद्यार्थीलाई बधाईमात्र दिएर हुन्न, परामर्श पनि दिनु जरुरी छ । विद्यार्थीलाई उचित खालको परामर्श दिने काम विद्यालय या शिक्षकको हो । उचित परामर्शले विद्यार्थीको भविष्य निर्धारणमा महŒवपूर्ण भूमिका खेल्ने भएकाले उनीहरूलाई विषय छनोट, कलेज छनोटलगायतका विषयमा अभिभावक तथा शिक्षकले पनि राम्रो मार्गदर्शन गर्न जरुरी देखिएको छ ।
राम्रो जीपीए हासिल गरेका विद्यार्थीले लहलहैमा वा जीपीएकै आधारमा ‘विज्ञान पढ्छु’ मात्र भनेर हुन्न, अनि अभिभावकले पनि, शिक्षकले पनि उनलाई ‘राम्रो जीपीए आएको छ, तिमीले विज्ञान सङ्कायमा जान सहज हुने विषय पढ्नपर्छ’ भनेर दबाब दिनु हुन्न । पहिला, विद्यार्थीको रुचि र क्षमता बुझ्न आवश्यक छ । यतिमात्र होइन, अभिभावकले पनि विद्यार्थीले पढ्न चाहेको विषयअनुसारको लगानी गर्नसक्छ वा सक्तैन ? त्यो पनि ख्याल गर्न बिर्सनु हुन्न ।
एसईईपछिको शैक्षिक यात्रा एसईईअघिको भन्दा भिन्न छ । यो बेला गरिएको निर्णय नै करियर निर्माणको ‘माइलस्टोन’ भएकोले चनाखो भएर, सजग भएर विषय रोज्नुपर्छ । एसईई उत्तीर्ण विद्यार्थीहरूमध्ये अधिकांशको सोच छ ः ‘अब त आनन्द भयो, स्कूल पढ्नु परेन, कलेज पढ्ने हो ।’ यही सोचले उनीहरूलाई भित्रैबाट ‘गाइड’ गर्दा उनीहरू बरालिन सक्छन् । स्वतन्त्र भएको अनुभूतिसँगै हिंड्दा आफ्नो उद्देश्य, लक्ष्य एकातिर, विषय एकातिर पनि हुनसक्छ । यसले पछुताउनुपर्ने स्थिति हुन्छ । यस्ता कुराहरू, उदाहरणहरू विद्यार्थीलाई शिक्षकले नै बताउनुपर्छ । अझ बधाईसँगै उनीहरूलाई लगाइदिएको टीका, सगुन, खुवाएको मिठाइसँगै प्रभावकारी तरिकाले, उनीहरूको मनमा पस्ने गरी उदाहरणसहितका सन्दर्भ जोड्न सक्यौं भने त्यो हितप्रद हुन्छ ।
कक्षा १० बाट ११ मा पढ्ने विषयका सन्दर्भमा रोज्ने विद्यालयबारे पनि विद्यार्थीलाई बताउनु जरुरी छ । विद्यार्थीहरू भौतिक सुविधाको पछि लाग्ने, विज्ञापन र प्रचारप्रसारलाई ठीक ठान्ने स्वभावका हुने कुरा मनन् गर्दै बधाईसँगै कक्षा ११ मा पढाइ हुने विद्यालयको शैक्षिक उपलब्धि, पुस्तकालय, ल्याब, शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकासका कार्यक्रमबारेमा ख्याल गर्नुका लागि सचेत गराउनुपर्ने देखिन्छ । यतिमात्र कहाँ हो र ? विद्यार्थीहरू विभिन्न विद्यालयहरूले दिने छात्रवृत्तिको लोभमा पनि पर्ने सम्भावना छ । “तिमी यो विद्यालयमा पढ्न आयौ भने यति शुल्क फ्री” भनेर विद्यार्थीले हासिल गरेको जीपीएलाई नै उपयोग गर्ने प्रवृत्ति पनि विद्यालय सञ्चालकहरूसँग छ । यी विषयमा पनि हामीले अमिलो नहुने तरिकाले बताउन पायौं भने विद्यार्थीले पाएको सफलतालाई अझ गतिलो बनाउन सकिने देखिन्छ । भनिन्छ, ‘पैसाले पैसा तान्छ’ । अहिलेको समयलाई जसले जे नाम दिए पनि शिक्षामा पनि व्यापारीकरण हावी भइरहेको सन्दर्भ कहींबाट छिपेको छैन । शिक्षामा आएको यो व्यवस्थाका थुप्रै अवयवहरू सतहमा आएका छन् । यो बेलामा विद्यालय सञ्चालकहरूले विद्यार्थीलाई पनि उपयोग गरी विद्यार्थी तान्ने र त्यसरी विद्यार्थी ल्याउने विद्यार्थीलाई कमिसन दिने कुरा पनि सुनिएको विषयमा विद्यार्थीलाई बताउनैपर्छ ।
सँगै, विद्यालय शिक्षाकै कक्षा १० र कक्षा ११ बीचमा रहेको पाठ्यक्रमको कमजोरीको फाइदा उठाएर सहर बजारमा थुप्रै खालका ब्रिजकोर्स केन्द्रहरू सञ्चालनमा छन् । ती ब्रिजकोर्सहरूले कक्षा ११ पढाइ हुने विद्यालयहरूसँग साँठगाँठ गरी प्रतिविद्यार्थीबापत ‘रकम’ असुल्ने विकृति भित्रिएको छ । शिक्षामा यस्तो खालको दलालीकरणबाट विद्यार्थी मुक्त हुन सकेको खण्डमा मात्र उसको भविष्य राम्रो हुने देखिन्छ । देशको शिक्षाको यस्तो विकृतिहरूबाट बचाउने सन्दर्भ विद्यार्थीलाई बताउन बधाई कार्यक्रमलाई विद्यालयले उपयोग गर्नुपर्छ ।
Leave a Reply