भर्खरै :

पूर्ण खोप सुनिश्चित भक्तपुर नगरपालिका

भक्तपुर, २२ असार । ‘आमाको गर्भदेखि चिहान पुग्दासम्मको सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था नै समाजवाद हो । पूँजीवादी व्यवस्थामा शिक्षा स्वास्थ्यजस्ता आधारभूत कुरामा पनि नाफा नोक्सान हिसाब गरिन्छ । निजीकरण गरिन्छ ।’ उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भक्तपुर नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्न शुक्रबार भक्तपुर नगरपालिकाले आयोजना गरेको सभामा व्यक्त गर्नुभएको हो ।

आमाको गर्भदेखि चिहान पुग्दासम्मको सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था नै समाजवाद हो ।

सांसद सुवालले भक्तपुर नगरले अब भ्रष्टाचारमुक्त, सदाचारयुक्त, प्रदुषणमुक्त, बालश्रममुक्त नगरको रुपमा पनि घोषणा गर्ने तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार कमजोर भएको देशमा जनताले कहिले सुखको अनुभूति गर्न नपाउने बताउँदै सत्तारुढ दलहरुले गणतन्त्रको नाममा कमिसन र लुटतन्त्र मच्चाएको बताउनुभयो । संसदमा नेमकिपाले खेलेको भूमिकाका विषयमा बताउँदै उहाँले शिक्षा र स्वास्थ्यलाई पूर्णतः राज्यको दायित्व अन्तर्गत राख्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिकित्साशास्त्रमा धेरै प्रगति भए पनि सबैको पहुँचमा अझै पुग्न नसकेको बताउनुभयो । धनी र गरिबबीचको खाडलका कारण पैसा हुनेहरुका निम्ति एकथरी सेवा र नहुनेहरुको निम्ति गुणस्तरहीन सेवा राज्यले दिँदै आएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवामा पनि व्यापारिकरण बढ्दा विकृति बढेको बताउनुभयो । उहाँले नगरपालिकाले जनताहरुको सेवालाई ध्यान दिँदै जनस्वास्थ्य केन्द्रहरुको सञ्चालन र घर घरमा नर्सिङ सेवाको बन्दोबस्त गरेको बताउनुभयो ।
नगरपालिका भवनको सभाकक्षमा सम्पन्न घोषणा कार्यक्रममा उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, खोप प्रमुख डा. झलक गौतम, जिल्ला जनस्वास्थ्य कार्यालयका कृष्णबहादुर चन्द, जनस्वास्थ्य केन्द्रका डा. रत्नसुन्दर लासिव र वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।





 

Leave a Reply

Your email address will not be published. Required fields are marked *