भर्खरै :

गुठी संस्थानले पैसा नबढाएपछि ङातापोल (पाँचतले मन्दिर) को गजुरमा फहरिएन पतःचा

भक्तपुर, ३१ असार । गुठी संस्थानले आवश्यक बजेटको बन्दोबस्त नगरेपछि असार प्रतिपदाको दिन ङातापोल (पाँचतले) मन्दिरको गजुरमा राखिंदै आएको पतःचा (ध्वजा) सबभन्दा तल्लो छानामा राखिएको छ । परम्परादेखि पतःचा राख्ने जिम्मेवारी तुछिमलाका अवालहरूले बहन गर्दै आएका छन् । गुठी संस्थानसमक्ष सो प्रयोजनका लागि तुछिमलाका अवाल समुदायले कम्तीमा बीस हजार रुपैयाँ र सुरक्षाको बन्दोबस्त माग गर्दै आएका छन् । तर गुठी संस्थानले विगतमा चार हजार रुपैंयाँ दिंदै आएकोमा यो वर्ष एक हजार थप गरी पाँच हजार रुपैंयाँ दिएको छ । त्यो रकम अपुग भएको भन्दै हाल सो सांस्कृतिक कार्यको समन्वय गर्दै आएको तुछिमला टोल सुधार समितिले गजुरमा राख्नुपर्ने पतःचा सबभन्दा तल्लो छानामा राखेको हो । ङातापोलको जन्म दिन मानिने असार प्रतिपदाको दिन पतःचा राख्ने परम्परा छ ।
‘गुठी संस्थानले यो कामको लागि खाजा खर्चस्वरुप केही रकम दिंदै आएका हौं । अघिल्लो वर्षसम्म चार हजार दिंदै आएकोमा यो वर्ष पाँच हजार दिने व्यवस्था गरेका छौं ।’, गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले भन्नुभयो । उहाँले पतःचा राख्ने समुदायले खर्च अति कम भयो भनेर पैसा थप्न माग गरेको तर पतःचा तल्लो तलामा राखेको आफूले देखिनसकेको बताउनुभयो ।
‘एक जना सहयोगीले मलाई जानकारी दिनुभयो । तर आफैं गएर हेरेको छैन ।’, उहाँले भन्नुभयो ।
तुछिमलाका स्थानीय बासिन्दा तथा वडासदस्य सिद्धिराम अवालले ङातापोलको छानामा गएर पतःचा राख्नु जोखिमपूर्ण भएकोले त्यहाँ जान सुरक्षा व्यवस्था गर्न र प्रतिव्यक्ति कम्तीमा एक हजार रुपैयाँको बन्दोबस्त गर्न माग राखेको बताउनुभयो ।
स्थानीयको मागलाई बेवास्ता गरेपछि तल्लो छानामा पतःचा राखेको उहाँको भनाइ छ ।
स्थानीय युवा कृष्णसुन्दर अवालले पैसा बढाएको खण्डमा पहिलेजस्तै यो परम्परा धान्न आफ्नो समुदाय तयार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *