भर्खरै :

जुम्लामा मेडिकल कलेजको पूर्वशर्त

– नीरज
रू. ९९ करोड लगानीमा जुम्लाको जुम्ला बजारमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) र अस्पतालको भवन राजधानीको कुनै सुविधासम्पन्न अस्पतालको भन्दा कम छैन । प्रदेश नं ६ कै सबभन्दा ठूलो भवन हुनसक्छ–कर्णाली मेडिकल अस्पतालको त्यो भवन । जुम्लालाई दुर्गमको पर्यायको रुपमा बुझ्ने विगतको सोचलाई त्यो भवनको भव्यताले चिर्न धेरै मद्दत गर्नेछ । भवनमात्र होइन, भवनभित्रको बन्दोबस्त पनि समान रुपमा व्यवस्थित छन् । तर भवन बनेको वर्षौ भएर पनि त्यहाँ सरकारले सञ्चालन गर्ने भनेको मडिकल कलेज भने सञ्चालनमा आउन सकेको छैन ।
जुम्लाको मेडिकल कलेज सञ्चालन हुनुपर्नेमा कुनै द्विविधा छैन । ९९ करोड पैसा खर्च गरेर यति भव्य भवन निर्माणपश्चात् त्यसलाई सञ्चालनमा ल्याउने बन्दोबस्त नगर्नु सरकारी अकर्मण्यता नै हो । यसको लागि अहिलेको सरकार जति दोषी छ, यसका पूर्ववर्ती सरकारहरू पनि समान रुपमा दोषी छन् । अहिले कसैले सडकमा आदर्शको बखान गर्दैमा कोही साखुल्ले रहने अवस्था छैन । जुम्लामा मेडिकल कलेज सकेसम्म चाँडो सञ्चालनमा ल्याउनुपर्छ भन्नेमा विमति जनाउने मानिस सायदै कोही होला । तर अहिले सत्तासीन र यसअघि सत्ता भोगेका शासक दलका नेता–कार्यकर्ताले मुखले जतिसुकै कामना गरे तापनि खासमा सात वर्षसम्म कलेज सञ्चालनमा नआउनुका कारण उनीहरू स्वयं नै हुन् । त्यसकारण उनीहरूलाई यो कामना गर्ने कुनै नैतिक आधार छैन । अहिले कसैले मुखले राम राम गर्दछन् भने त्यो पाखण्डीमात्र हो ।
‘जुम्लामा मेडिकल कलेज सञ्चालन भएपश्चात् यसको खास फाइदा कसलाई हुन्छ ?’ भन्ने प्रश्नमा जानुअघि पहिले ‘डाक्टर बन्न के कस्तो योग्यता हुन जरुरी छ ?’ भन्ने प्रश्नमा घोत्लिनु उचित होला । नेपालमा डाक्टरी शिक्षा पढ्न कक्षा ११ र १२ मा विज्ञान सङ्काय पढेको हुनुपर्दछ । विज्ञान सङ्कायअन्तर्गत पनि १२ कक्षामा जीव विज्ञानलाई प्रमुख विषय बनाउनुपर्दछ । शिक्षा, मानविकी वा व्यवस्थापन सङ्काय पढेर डाक्टर हुने बन्दोबस्त नेपालमा छैन । मेडिकल कलेजमा पढ्न विद्यार्थीले न्यूनतम विज्ञान सङ्कायमा १२ कक्षा उत्तीर्ण गर्नुप¥यो ।
जुम्लामा अनसन बसिरहेका डा.गोविन्द केसीले जुम्लाका जनताका छोराछोरीलाई पनि डाक्टर बनाउन त्यो मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् । कलेज सञ्चालनमा ल्याउनुपर्नेमा विमति कसैको नहोला । तर त्यो मेडिकल कलेज सञ्चालन भएपछि जुम्लाका कुन थरी जनताका छोराछोरी डाक्टर बन्ने हुन् ? डा.केसीले जुम्लाका गरीब निमुखा जनताको कुरा गरेका हुन् भने उनको यो चाहना अहिलेको अवस्थामा कदापि पूरा हुनसक्दैन । किनभने जुम्ला जिल्ला र सिड्डो कर्णाली अञ्चलमा विज्ञान सङ्कायको पढाइ हुने माविहरू पाँच वटा पनि छैनन् । जुम्ला जिल्लाको सदरमुकाम जुम्ला बजारको खलङ्गास्थित चन्दननाथ माविमा मात्र कक्षा ११ र १२ मा विज्ञान सङ्कायको पढाइ हुन्छ । अरु कुनै पनि माविमा विज्ञान सङ्कायको पढाइ हुँदैन । मुगु जिल्लाको रोबामा पहिले त्यहाँको एउटा उच्च माविमा विज्ञानको पढाइ हुन्थ्यो । अहिले त्यो बन्द छ । कालीकोटको फोइ महादेवमा केही समय पहिलेसम्म विज्ञानको पढाइ चलेको थियो, अहिले त्यो बन्द हुने अवस्थामा छ । कर्णालीमा तुलनात्मक रुपमा सहज जिल्लाको अवस्था यो छ भने हुम्ला र डोल्पाको अवस्था अझ नाजुक हुनुभन्दा राम्रो हुनसक्दैन ।
कर्णालीका कतिपय विद्यालयले विज्ञान सङ्कायको पढाइ सञ्चालन गर्ने इच्छाशक्ति नराखेका होइनन् । तर विशेषतः विज्ञान सङ्कायअन्तर्गत पढाइने विषयका शिक्षक ती विद्यालयमा बस्न नमान्दा वा नपाइँदा कतिले चलाउने इच्छाशक्ति देखाएर पनि असफल भए, कति चलाएर पनि सफल हुनसकेनन् ।
त्यहाँका अधिकांश आर्थिक रुपमा सक्षम आमाबुबाका छोराछोरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंमा तल्लो कक्षादेखि नै पढ्न आउने गर्दछन् । अलि कम आय भएको परिवारले प्रवेशिका उत्तीर्ण गरेपछि क्याम्पस पढाउन ‘तलतिर’ (नेपालगञ्ज, सुर्खेत, काठमाडांै) पठाउने गरेका छन् । कतिले कक्षा ७ सम्म (पहिले कक्षा ९ सम्म) सहरका विद्यालयमा पढाएर प्रवेशिका ती जिल्लाबाट दिलाउने गरेका छन् । दुर्गमका सरकारी विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका विद्यार्थीलाई सरकारले उच्च शिक्षामा दिने गरेका सुविधा र मौकामा चौका हान्न पनि त्यसो गर्ने कुरा खुला गोप्यता हो ।
कर्णालीको विद्यालय तहको शिक्षाको यो अवस्थाले कर्णालीमा अहिले मेडिकल कलेज वा विश्वविद्यालय नै स्थापना गरे पनि बढी फाइदा लिने भनेको त्यहाँका गरीब निमुखा, आर्थिक रुपमा दिनचर्या चलाउन पनि गाह«ो परिवारका छोराछोरी नभई त्यहीं पनि आर्थिक रुपमा सम्पन्न, नियमित तलब भएका, व्यापारी, जडीबुटी खेती राम्रो भएको सामाजिक तप्का नै हुनेछन् । अझ यो तहअन्तर्गत पनि माथिल्लो तहकाले नै मात्र यो अवसरको फाइदा उठाउन सक्नेछ । शिक्षक वा कर्मचारीहरूमध्ये पनि पुख्र्याेली आम्दानीले खान लगाउन पुग्ने र आफ्नो तलब छोराछोरीको पढाइमा पूर्णतः लगाउन सक्ने परिवारले मात्र यो फाइदा उठाउन सक्नेछन् ।
कर्णालीमा मेडिकल कलेज स्थापना हुँदैमा कर्णालीका गरीब र विपन्न जनताका छोराछोरीले डाक्टर बन्न पाउने हेर्दा हो जस्तो तर्कबाट मुक्त हुन जरुरी छ । यदि साँच्चै त्यहाँका गरिब निमुखा र आर्थिक रुपमा दिनचर्या चलाउन गाह«ो परिवारका छोराछोरीलाई पनि डाक्टर बन्ने सपना देख्न सक्ने बनाउने हो भने सबैभन्दा सुरुमा त्यहाँका विद्यालयहरूमा विज्ञानको पढाइ हुने बन्दोबस्त गर्न जरुरी छ । त्यसको लागि त्यहाँका विद्यालयहरूमा भौतिक पूर्वाधार, विज्ञान प्रयोगशाला र विज्ञानका राम्रा शिक्षकको बन्दोबस्त सरकारले गर्नुपर्दछ । अनिमात्र केही गरीबका छोराछोरी डाक्टर बन्ने सपना देख्न सक्छन् । छ महिना घरखेत र छ महिना भारतमा मजदुरी गरेर चलेको कर्णालीको अर्थतन्त्रले नत्र डाक्टर उत्पादन गर्ने कुरा सत्य होइन ।
के यो लेखाइको आशय कर्णालीमा मेडिकल कलेज स्थापना गर्न दिनु हुन्न भन्ने हो ? सर्वथा होइन । सिंहदरबारको अग्ला अग्ला पर्खालभित्र कैद रहेको विकासलाई कारागारमुक्त बनाउने अहिलेको सचेत समयको माग हो । जुम्ला एउटा उपमा बनेको छ आज । देशका सबै दुर्गम क्षेत्रमा यसरी नै विकास र निर्माण प्रवाहित हुनुपर्दछ । यो लेखनको एउटै आशय, मेडिकल कलेजको स्थापनाले नै मात्र कुनै पनि भूगोलका सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न जनताको उत्थान भयो भन्नु वा हुने भयो भन्नु भ्रमपूर्ण हो ।
काठमाडांैमा देशकै सबभन्दा राम्रा मेडिकल कलेज छन् । तर किन काठमाडौंका रैथाने गरीब जनता सबैले ती कलेजमा पढ्न सकेनन् ? किन पढाउने आर्थिक हैसियत राख्न सकेनन् ? प्रष्टतः ती कलेज तिनका लागि बनाइएका होइनन् । तिनका छोराछोरी पढ्ने विद्यालयको अवस्था पनि कर्णालीका विद्यालयहरूभन्दा भिन्न छैनन् ।
त्यसकारण कर्णालीका गरीब जनताका छोराछोरीलाई डाक्टर बनाउने हो भने कर्णाली मेडिकल कलेजमात्र सञ्चालनमा ल्याएर पुग्ने अवस्था छैन । कर्णालीको शिशु कक्षादेखिकै शैक्षिक स्तरको विकासमा जोड दिइनुपर्दछ । विज्ञान पढाइ हुने विद्यालय र विज्ञान पढ्ने विद्यार्थी बनाउने विषयमा ध्यान दिन खाँचो छ । भवन र भौतिक पूर्वाधार बनाउँदैमा सरकारको जिम्मेवारी पूरा हुने होइन ।
त्यसो नहुने हो भने काठमाडांैजस्तै जुम्ला बजार पनि ज्वाइँ पाल्ने सहरमात्र हुनेछ । वर्षौं वर्ष पालेर फेरि सत्तोसराप सुन्नुपर्ने, फोहोर जति सबै आफूसँग राखेर स्रोत जति बाँड्नुपर्ने, भूकम्प जस्ता दुःखको समयमा सबै छोडेर भाग्ने काठमाडांैजस्तै विचरा हुनेछ–जुम्ला पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *