भर्खरै :

लख चैत्य प्रतिस्थापनको समापन सम्पन्न

भक्तपुर, १८ साउन । भक्तपुर नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक महत्व रहेको वचुहिटीको प्राङ्गणमा शुक्रबार एक भव्य समारोहबीच लख चैत्यको प्रतिस्थापनको समापन कार्यक्रमको आयोजना भयो ।
चैत्यको विधिवत प्रतिस्थापनपछि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले चैत्यको महत्व र वचुहिटीको ऐतिहासिक महत्वबारे चर्चा गर्नुभएको थियो ।
समारोहमा पुष्परत्न शाक्य, रामकृष्ण मानन्धरलगायतले बोल्नुभएको थियो । चैत्यको विधिवत प्रतिस्थापन समारोहमा साँखुको सँक्व मानन्धर डाफा खलः बाँसुरी बाजा र सकुलानको गुँला ङक घलंको समूहले आ–आफ्नो बाजा बजाएका थिए ।
गत साउन ४ गते विधिपूर्वक जग शिलान्यास गरी लख चैत्य निर्माण गरिएको थियो । गत वर्ष २०७४ साउन ९ देखि भदौ ६ सम्म साकुलानमा एकमहिने व्रत बसेको थियो । उक्त व्रतमा स–साना सवालाख चैत्य गर्भमा राखी साउन ४ गते शिलान्यास गरिएको थियो ।
ललितपुर निवासी राजु लामाले निर्माण गर्नुभएको सो लख चैत्यको ४ लाख ५० हजार रुपैयाँ परेका चैत्य व्यवस्थापन समितिका सल्लाहकार विष्णुबहादुर मानन्धरले बताउनुभएको छ ।
समारोहमा सहभागी सबैलाई भोजनको व्यवस्था गरिएको थियो ।
उक्त वचुहिटी सरसफाइ गर्दा पहिले भेटिएको एक शिलालेखमा संवत् १४४ भिक्षणी सङ्घ उल्लेख भएको एक शिलालेख पुरातत्व विभागमा उहिल्यै बुझाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *