भर्खरै :

पार्टी कार्यकर्ताका परिवारबीच का. रोहित

भक्तपुर, १९ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पार्टी कार्यकर्तासँगै कार्यकर्ताका परिवार पनि राजनीतिक रुपमा सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । शनिबार आयोजित पार्टी कार्यकर्ताहरूका परिवारसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले पार्टी कार्यकर्ताका सन्तानलाई राजनीतिक विपक्षीले कुलतमा फसाउने र बिगार्न सक्ने भएकोले तिनलाई पनि पार्टीको भावनाबाट प्रशिक्षित बनाउनुपर्ने बताउनुभयो ।
‘महात्मा गान्धीका छोरालाई विरोधीहरूले कुलतमा फसाएका थिए । पश्चिम बङ्गालका पूर्वमुख्यमन्त्री ज्योति बसुका छोराको बारेमा पनि विरोधीहरूले गलत प्रचार गरेका थिए ।’, उहाँले भन्नुभयो ।
२०४५ सालको भक्तपुर काण्डको समयमा पार्टी कार्यकर्ताका परिवारले एकले अर्कालाई नचिन्दा धेरै दुःख भोग्नुपरेको विगत स्मरण गर्दै परिवारका सदस्य सचेत भएको कार्यकर्तालाई काम गर्न सहज भएको धारणा राख्नुभयो ।
उहाँले पार्टीका केही कार्यकर्ताले घरमा सहयोग गर्न नसक्दा परिवारका सदस्यले गुनासो गर्ने गरेको र त्यसैको विरोधीले फाइदा उठाउने गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई सामाजिक भावनाले शिक्षित गर्न नसक्दा आमाबुवा बिरामी पर्दा पनि विदेशमा बसेका छोराछोरीले पैसा पठाइदिने तर आफू आउन नसक्ने बताउने गरेको प्रसङ्गबारे चर्चा गर्नुभयो ।
उहाँले नेमकिपाको घोषणापत्रअनुसार नै भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा सुधारको निम्ति काम गरिरहेको प्रकाश पार्दै भन्नुभयो, ‘भक्तपुर नगरपालिकाले गरिरहेका सकारात्मक गतिविधिबाट देशका अन्य नगरपालिकाले सिक्न खोजिरहेका छन् ।’
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नियमित हेरचाहको जनताबीच कष्टसाध्य रोग बढिरहेको र तिनको समाधानको लागि नेमकिपाले घर–घरमा नर्सिङ्ग सेवा सुरु गरिसकेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नपा वडा नं ९ दत्तात्रय एकाइ समितिको आयोजनामा भएको सो कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, कृष्णभक्त लवजू, आरके प्रजापति, कृष्णबहादुर प्रजापति, नातिभाइ ह्योम्बा, जगतलाल मानन्धर, सन्तेमाया गाइजू, एस मानन्धरलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *