भर्खरै :

पर्यटकीय क्षेत्र ठमेल ः पानी पर्दा हिलो, घाम लाग्दा धूलो

– रमेश लम्साल÷अच्युत रेग्मी
काठमाडौं, २० साउन । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ ।
ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपुर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ भएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने समस्याका कारण स्थानीयवासीसँगै नेपाल भ्रमणमा आएका पर्यटक नराम्रोसँग प्रभावित हुने गरेका छन् ।
गत वर्ष सडकमर्मत नभएको भन्दै ठमेलमा स्थानीय व्यवसायीले सडकमा नै धान रोपेर प्रतिकात्मक विरोध गरेका थिए । ठमेलको रौनक हराउँदै गएकोमा स्थानीय व्यापारी चिन्तित छन् । सरकारले ठमेल क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको कारण मझौला तथा साना सवारीसाधन नचल्दा केही सहज भए पनि हिलो र धूलोका कारण पैदलयात्रुले सहज रूपमा यात्रा गर्न पाएका छैनन् ।
सडक खन्ने र नपुर्ने प्रवृत्तिका कारण व्यापार व्यवसाय घटेको स्थानीय व्यापारीले गुनासो गरेका छन् । स्थानीय निकायको निर्वाचनपछि ठमेल क्षेत्रले जनप्रतिनिधि पाए पनि आफूहरूको समस्या समाधानमा चासो नदिएकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् । पर्यटकीय क्षेत्रको महत्व र गरिमालाई कायम राख्न तत्काल सडक कालोपत्र गर्न उनीहरूले माग गरेका छन् । वर्षात्का कारण ठमेल क्षेत्रको सडक मर्मत र कालोपत्र गर्न समस्या भएको जानकारी दिंदै स्थानीय जनप्रतिनिधिले केही दिनभित्रैमा समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । जनप्रतिनिधिको भनाइ विश्वसनीय नभएको भन्दै स्थानीय व्यवसायीले भने तत्काल विश्वास गरिहाल्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।
“पर्यटकले निकै सास्ती पाएका छन्, व्यापार व्यवसाय घटेको छ, राजधानीकै मुटुमा यस्तो समस्या छ भने अन्यन्त्र कस्तो होला ?” ठमेलका व्यवसायी किरणदेव घिमिरे भन्नुहुन्छ ।
यस्तै समाजसेवी विश्वम्भरलाल प्रधान राज्यको ठमेललाई हेर्ने दृष्टिकोण ठीक नभएका कारण यहाँका व्यवसायीले दुःख पाएको बताउनुहुन्छ ।
अहिले ठमेलको क्वाबहालदेखि नर्सिङचोक, अमृत क्याम्पसदेखि ज्याठा मार्ग, सञ्चयकोष भवन अगाडि सडक कालोपत्र नहुँदा तथा सडकमा पानी जम्दा स्वदेशी तथा बाह्य पर्यटकका साथै स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । फ्रान्सबाट नेपाल घुम्न आउनुभएका जेराल्ड राजधानीकै बीच भागमा रहेको ठमेलको अवस्था कल्पना नै गर्न नसकिने भएको गुनासो गर्नुहुन्छ । पटक–पटक नेपाल भ्रमणमा आएको बताउनुहुने उहाँले सडक मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *