भर्खरै :

सम्बन्ध विच्छेद बढ्दो

रोल्पा, २० साउन । घरेलु हिंसाका कारण रोल्पामा सम्बन्ध विच्छेदको क्रम पनि बढ्दै गएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्दा फाँटमा अघिल्लो आर्थिक वर्षमा दर्ता भएका एक सय १७ घरेलु हिंसाका घटनामध्ये ८२ मिलापत्र भए पनि ३१ सम्बन्ध विच्छेदका लागि अदालत गएका थिए । प्रहरी कार्यालयमा उजुरी दिएर मिलापत्र हुन नसकेका ती मुद्दासहित सो वर्ष जिल्ला अदालत रोल्पामा एक सय ६९ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको बताइएको छ ।
आ.व. ०७३÷७४ मा जिल्ला प्रहरी कार्यालयमा ८८ घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा नौ मुद्दामात्रै सम्बन्ध विच्छेदका लागि अदालत गए । घरेलु हिंसाका घटना बढ्दै जाँदा त्यसको प्रभाव सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको देखिएको छ । हरेक वर्ष बढ्दै जाने सम्बन्ध विच्छेदका घटनाले परिवारको शिक्षा, स्वास्थ्य तथा जीविकालाई समेत प्रभाव पार्ने गरेको सामाजिक अभियानकर्मीले बताएका छन् ।
स्थानीय तहमा गठन भएका न्यायिक समितिका कारण जिल्ला अदालतसम्म आउने देवानी मुद्दाको संख्या घटे । तर, सम्बन्ध विच्छेदका मुद्दा घटेका छैनन । न्यायिक समितिले सम्बन्ध विच्छेद पूर्व मेलमिलापका लागि सहजीकरण गर्छ । तर पनि मुद्दा दर्ताको सङ्ख्या नघटेको बताइएको छ । जिल्ला अदालतमा दर्ता भएका कूल मुद्दामध्ये ५५ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदको रहेको जिल्ला अदालतको तथ्याड्ढमा उल्लेख छ ।
स्थानीय सरकारले घरेलु हिंसा न्यूनीकरणका विभिन्न कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दा समेत हिंसा घटेको देखिएको छैन । प्रहरीले समेत सडक नाटक तथा विभिन्न प्रचारात्मक कार्यक्रम गरी घरेलु हिंसा न्यूनीकरणका अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
विगतमा घरेलु हिंसा भए पनि प्रहरीसम्म उजुरी गर्न आउनेको सङ्ख्या निकै कम हुने गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *