भर्खरै :

अर्थाभावका कारण आयुर्वेदिक औषधालयको सेवा बन्द

गाईघाट, उदयपुर, २० साउन । जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिंदै आएको सेवा अर्थाभावका कारण बन्द भएको छ ।
औषधालयका कर्मचारीका अनुसार एक वर्षदेखि सो औषधालयले उपचारका लागि आउने सेवाग्राही तथा बिरामीलाई दिंदै आएको पञ्चकर्म सेवा तथा केही थेरापी सेवा दुई महिनादेखि बन्द हुँदै आएको हो ।
सिरहा कचनारीबाट औषधालयमा सेवा लिन आएका अर्का सेवाग्राही कृष्णदेव यादवको पनि गुनासो उस्तै छ ।
पञ्चकर्म सेवामा योगा, स्नेह, स्वेदन, बमन, बिरेचन, अक्युपञ्चरजस्ता सेवा औषधालयले प्रभावकारी ढङ्गले उपलब्ध गराउँदै आएपछि केही समयअघिसम्म दैनिक सयौंको सङ्ख्यामा उपचारको लागि सेवाग्राही औषधालय आउने गरेको औषधालयका वैद्य दीपाकला राई बताउनुहुन्छ ।
आफूहरूले प्रभावकारी सेवालाई निरन्तरता दिन नसक्दा अहिले ठूलो सङ्ख्यामा सेवाग्राही मर्कामा परेको र औषधालयमा अहिले दैनिक दशसम्म मात्र सेवाग्राही तथा बिरामी आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।
२००४ सालमा गाईघाटको बोक्सेमा स्थापना भएको सगरमाथा आयुर्वेदिक औषधालय सगरमाथा क्षेत्रकै पहिलो र पुरानो औषधालय हो भने अहिले यहाँ एक डाक्टरसहित चारमात्र कर्मचारी रहँदै आएका छन् ।
खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिरहा र भारतबाट समेत यस औषधालयमा सेवाग्राही उपचारका लागि आउने गरेको भए तापनि आयुर्वेदिक विभागले यसको उचित व्यवस्थापनमा ध्यान नदिंदा यो औषधालय अहिले औषधिबिहीन बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *