भर्खरै :

भक्तपुरले गरेका उपलब्धि

 अर्जुन पौडेल
सिसडोल डम्पिङसाइटमा थोरै समस्या आउँदा काठमाडौं र ललितपुर महानगरमात्रै होइन, बनेपा नगरपालिकासमेत फोहोरले दुर्गन्धित बन्छ । काठमाडौं उपत्यकाका अन्य स्थानीय तहको हालत पनि उस्तै छ, भक्तपुर नगरपालिकाबाहेक । स्वास्थ्य, शिक्षा, उद्योग, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत समग्र विकासमा भक्तपुर नगरपालिका नमुना बनेको छ । आखिर भक्तपुरले अन्य स्थानीय तहले गर्न नसकेको राम्रो काम के गरेको छ ? अरूले सिक्नैपर्ने के गरेको छ भक्तपुरले ?
सरसफाइ ः नगरको फोहोर नगरभित्रै मोहरमा बदल्दै
भक्तपुर नगरपालिकामा फोहोरले कुनै पीडा दिएको छैन बरु, फोहोरले मोहर दिलाएको छ । दैनिक ३० टन उत्पादन हुने फोहोर नगरभित्रै व्यवस्थापन गरिएको छ । कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ । हरेक परिवारलाई सशुल्क दुईवटा बाल्टिन नगरपालिकाले उपलब्ध गराएको छ ।
फोहोर फालिदिएबापत नगरपालिकाले प्रत्येक घरबाट केबल ३० रुपैयाँ कर लिन्छ । नागरिकको घरबाट उठाएको कुहिने फोहोर कम्पोस्ट मल बनाएर किसानलाई सस्तोमा बेच्छ । नगर क्षेत्रकै किसानलाई मल किन्न प्राथमिकता दिन्छ । नकुहिने फोहोर तत्काल बेचिदिन्छ । फोहोर बेचेरै नगरपालिकाले वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएको मेयर सुनिल प्रजापतिले बताए । फोहोर उत्पादन घटाउन नगरपालिकाले नगरवासीलाई अनुदानमा कम्पोस्ट बिन पनि उपलब्ध गराएको छ । दुई हजार पाँच सय पर्ने कम्पोस्ट बिन नगरवासीले एक हजारमा खरिद गर्नसक्छन् । त्यस्तै कौसी खेतीलाई पनि प्रवद्र्धन गर्दै आएको छ । फोहोरबाटै बायोग्यासलगायत वैकल्पिक ऊर्जा निर्माण गर्ने सोच पनि भक्तपुर नगरपालिकाले बनाएको छ ।
नगरभित्र १ सय ४९ जना सफाइ कर्मचारी छन् । कसैले फोहोर फाले सफाइ कर्मचारीले तत्काल टिपेर लैजान्छन् । त्यसैले त भक्तपुर नगर क्षेत्र सफा छन् । भनपाले प्रत्येक महिनाको १ र १५ गते सबै जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लव, डाफा–भजन, सङ्घसंस्थाको सहभागितामा कहिले मठ–मन्दिर त कहिले खोलानाला र घाट सफाइ गर्दै आएको छ । नगरभित्रका ९२ विद्यालयलाई उनीहरूले रोजेको सम्पदा सफा राख्ने जिम्मा दिइएको छ । नगरवासीसँग फोहोर फालेबापत महिनाको ३० रुपैयाँमात्र कर लिँदै आएको छ । यसैगरी नगर क्षेत्रका हनुमन्ते र खासाङखुसुङ खोला सफाइका लागि ढलको पानी सीधै खोलामा मिसिनबाट रोक्न केन्द्रीय सरकारको सहयोगमा खोलाको दुवै किनारमा फोहोर बग्ने ढल राख्ने काम भइरहेको छ ।
शिक्षा ः नगरकै सात कलेज
नगरभित्र रहेका ९२ मध्ये ३५ स्कुल सामुदायिक छन् । केही सरकारी विद्यालयमा शिशुकक्षादेखि स्नातकोत्तरसम्मको पढाइ हुन्छ । कुनै सरकारी विद्यालयमा चार हजारभन्दा बढी विद्यार्थी छन् । वागीश्वरी मावि, बासु मावि, आदर्श मावि भक्तपुरका चर्चित सरकारी विद्यालय हुन् । यी विद्यालयले एसईई परीक्षामा राम्रो नतिजा निकाल्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगरपालिकाका मेयरदेखि अन्य पदाधिकारी छन् । सामुदायिक विद्यालयको शैक्षिकस्तर उठाउन यस वर्षदेखि मन्टेस्वरी सिकाइ प्रविधिको तालिम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले सातवटा कलेज आफैं सञ्चालन गर्दै आएको छ । दुईवटा इन्जिनियरिङ कलेज छन् । यी कलेजबाट हरेक वर्ष ४३२ इन्जिनियर जन्मिन्छन् । यी दुवै कलेज इन्जिनियरिङमा देशकै उत्कृष्ट मानिन्छन् । देशका ७६ जिल्लाका विद्यार्थी यहाँ पढ्ने गरेको मेयर प्रजापतिले बताए । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको इन्जिनियरिङ कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्छ । किनभने यहाँ पढ्ने हरेक विद्यार्थीले अरु कलेजमा भन्दा ५० प्रतिशत कम शुल्कमा पढ्न पाउँछन् । इन्जिनियरिङका विद्यार्थीलाई स्थानीय सम्पदाको बनोटबारे पनि पढाइन्छ । नगरपालिकाले नर्सिङ कलेज पनि सञ्चालन गर्दै आएको छ । हरेक वर्ष ४० जना नर्स उत्पादन हुन्छन् । यीबाहेक, ओभरसियर, व्यवस्थापन, शिक्षा, मानविकी र विज्ञान विषयमा स्नातकोत्तरसम्मको पढाइ हुन्छ ।
भक्तपुर नगरपालिकाले शिक्षक, अभिभावक र विज्ञसँग सल्लाह गरी कक्षा १ र ६ का लागि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नयाँ पाठ्यक्रममा भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुदलगायत समेटिएको छ । ख्वप विश्वविद्यालय बनाउने प्रयास भइरहेको छ । तर, नगरपालिकाले सम्पूर्ण तयारी सकेको विधेयक संसदमै वर्षौंदेखि अल्झिएको मेयर प्रजापतिले बताए । उनले भने, ‘हाम्रोभन्दा पछि प्रयास गरेका राजश्री जनक विश्वविद्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भए, हाम्रो भने स्वीकार गरिएन ।’
स्वास्थ्य ः घरघरमा निःशुल्क नर्सिङ सेवा, ५० रुपैयाँमा विशेषज्ञ सेवा
भक्तपुर नगरपालिकाका नागरिकले घरमै निःशुल्क नर्सिङ सेवा पाउँछन् । घर–घरमा नर्सिङ सेवा प्रदान गर्ने भक्तपुर एकमात्र नगरपालिका हो । नगरका १० वटै वडाका लागि एक–एक जना नर्स नियुक्त गरेको र उनीहरू हरेक घरमा दिनहुँ पुगेर नर्सिङ सेवा प्रदान गर्ने गरेको प्रमुख प्रजापति बताउँछन् । नर्ससँगै स्वास्थ्य स्वयंसेविका पनि सेवामा खटिन्छन् । घरघरमा पुगेर रक्तचाप र सुगर परीक्षण, गर्भवती र सुत्केरी जाँचलगायत गर्छन् ।
नगरपालिकाले तीनवटा जनस्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको छ । नौजना विशेषज्ञ डाक्टर र २३ जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ । बालरोग, स्त्रीरोग, नाक, कान, घाँटीरोग, छालारोग, नसा तथा हाडजोर्नी विशेषज्ञबाट नगरवासीले स्वास्थ्य सेवा लिंदै आएका छन् । उनीहरूले केबल ५० रुपैयाँको टिकट काटेर विशेषज्ञ सेवा लिन सक्छन् । दोस्रोपटक ३० रुपैयाँमै उक्त सेवा लिन सकिने नगरपालिकाले जनाएको छ ।
आगामी वर्ष २५ शय्याको ख्वप अस्पताल सञ्चालन गर्ने लक्ष्य भक्तपुर नगरपालिकाको छ । त्यसका लागि भौतिक पूर्वाधार निर्माण तीव्ररुपमा भइरहेको छ । नगरपालिकामा विशेषज्ञ डाक्टर कम भए भनेर यस वर्षबाट नगरपालिकाले आफ्नै खर्चमा दुईजना डाक्टरलाई एमडी, एमसीएच गर्न पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको छ ।
बालबालिका ः मासिक एक हजार रुपैयाँमा शिशु स्याहार
नगरपालिकाले ६ वटा वडामा शिशु स्याहार केन्द्र सञ्चालन गरेको छ । नगरवासीले मासिक एक हजार रुपैयाँ तिरेपछि दिनभर बालबच्चा यहाँ राख्न सक्छन् । कामकाजी महिलाले आफ्ना बालबच्चा यहाँ राखेर काममा निस्किने गरेका छन् । बच्चाको सम्पूर्ण स्याहारसहित दिनमा दुईपटक खाना खुवाइन्छ । प्रत्येक वडामा कम्तीमा एउटा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने उद्देश्यअनुसार काम भइरहेको मेयर सुनिल प्रजापतिले बताए ।
बजार ः दैनिक अनुगमन
भक्तपुर नगर क्षेत्रका बजार अनुगमन बरोबर हुन्छ । नगरपालिकाको नेतृत्वमा प्रहरी र उद्योग वाणिज्य तथा उपभोक्ता समितिका प्रतिनिधिले बरोबर अनुगमन गर्छन् । कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र म्याद नाघेको वस्तु बेच्ने, दर्ताविना व्यवसाय सञ्चालन गर्ने, ढक–तराजु नवीकरण नगर्नेलाई सचेत गराउने काम गर्दै आएको छ । नगरपालिकाभित्र सञ्चालित मासुपसल र वधशालाको पनि नियमित अनुगमन र चेकजाँच हुने गरेको छ ।
सम्पदा पुनर्निर्माण ः ४७ योजनामा २७ पूरा भइसके
भक्तपुरको अधिकांश पुरातात्विक संरचनाको पुनर्निर्माण सुरु भइसकेका छन् । केही पुनर्निर्माण भइसके, केही सम्पन्न हुने क्रममा छन् । सम्पदा संरक्षणका ४७ योजनामध्ये २७ वटा पूरा भइसकेका र बाँकी पनि पूरा हुने क्रममा रहेको नगरपालिकाले जनाएको छ । एक वर्षभित्र क्षति पुगेका अधिकांश सम्पदाको पुनर्निर्माण सकिसक्ने लक्ष्य रहेको मेयर प्रजापतिले जानकारी दिए । उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिएकोले कुनै विवाद छैन । ‘उपभोक्ता सचेत छन्, सम्पदा संरक्षणमा जागरुक छन्, त्यसैले गलत हुन दिएका छैनन् ।’ उनले भने ।
सम्पदा पुनर्निर्माणमा ठेकेदारी प्रथा छैन । ठेकेदारले बाहिरबाट मजदुर ल्याउने, स्थानीय सम्पदाबारे उनीहरूलाई थाहा नहुने, छिटो सक्न गुणस्तरहीन काम गर्नसक्ने र नगरपालिकाको पैसा बाहिर जाने भएकाले ठेकेदार निषेध गरिएको नगरपालिकाको तर्क छ । उपभोक्ता समितिमार्फत काम गराउँदा स्थानीयले नै रोजगारी पाउने र सम्पदाप्रति अपनत्व महसुस हुने नगरपालिकाको बुझाइ छ ।
नगरभित्रका पुरानो बस्तीमा नयाँ घर बनाउँदा पनि पुरानो शैली मास्न नपाउने, बाहिरी भागमा इँटा देखाउनुपर्ने, अगाडिको भागमा झिँगटी लाउनुपर्ने र काठ देखाउनुपर्ने प्रावधान कायम गरेको छ । नियम पालना गर्नेलाई काठ, झिँगटी र इँटाको खर्चमध्ये ३५ प्रतिशत नगरपालिकाले अनुदान दिने गरेको पनि मेयर प्रजापतिले बताए ।
वडा नम्बर १ मा रहेको भाज्यपोखरीलाई पुरानै शैलीमा निर्माण गर्ने तयारी भइरहेको छ । २७ रोपनी क्षेत्रफलमा निर्मित पोखरीमा पानी चुहिनबाट रोक्न कालो माटो झारिसकिएको र नक्सा डिजाइन अन्तिम चरणमा पुगेको उनले बताए ।
एनजीओ निषेध ः नगर क्षेत्र
गैरसरकारी संस्थाहरूले कामभन्दा प्रचार बढी गर्ने, महत्वपूर्ण सूचना लिएर विदेश पु¥याउने भएकाले गैरसरकारी संस्थाको उपस्थिति शून्यमा झार्ने नीति भक्तपुर नगरपालिकाको छ । ‘आजैमात्र पनि दुईवटा संस्था आएका थिए नगरभित्र काम गर्न भनेर । हामीले अनुमति दिएनौं ।’ मेयर प्रजापतिले सुनाए ।
भूकम्पबाट क्षति पुगेको भक्तपुरको राष्ट्रिय कला सङ्ग्रहालय राणा कालमा नयाँ शैलीमा पुनर्निर्माण गरिएको थियो । यसलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने निर्णय भयो । तर, मल्लकालीन नक्सा कतै भेटिएन । खोज्दै जाँदा अन्ततः बेलायतको एक लाइब्रेरीमा भेटियो । गैरसरकारी संस्थाहरूले देशको सूचना विदेश पु¥याउँछन् भन्ने गतिलो उदाहरण यही भएको प्रजापति बताउँछन् । यसैगरी गैरसरकारी संस्थाले मानिसको मनस्थिति पनि बिगारिदिने उनको तर्क छ । युगोस्लाभिया टुक्राटुक्रा हुनुमा गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको उनको बुझाइ छ । टुक्रिनुअघि युगोस्लाभियामा ५० औं हजार गैरसरकारी संस्था कार्यरत रहेको उनले बताए ।
गृहिणीलाई सीपमूलक तालिम दिने, सिलाइकटाइका तालिम दिने, युवाहरूलाई खेलकुदको प्रशिक्षण दिने, विभिन्न सांस्कृतिक कार्यक्रमका लागि आर्थिक सहयोग दिने, संस्कृति परम्परा रक्षा गर्न प्रोत्साहन गर्नेजस्ता काम नगरपालिकाले गर्दै आएको छ ।
आवास योजना ः यसरी बनायो दुई आवास क्षेत्र
नगरपालिकाको लगानी र रेखदेखमा दुईवटा आवास योजना सञ्चालनमा छन् । एउटामा जग्गा अधिग्रहण गरेर १,६५३ रोपनी क्षेत्रफलमा बाटो, ढल निकास आदिको काम भइरहेको छ ।
अर्को आवास क्षेत्र ५१४ रोपनी जग्गामा फैलिएको छ । पुरानो नगर क्षेत्रको मौलिकता कायम राख्न र त्यहाँ हुने भिडभाड कम गर्न सरकारी कार्यालय पनि आवास क्षेत्रभित्र सार्ने काम जारी छ । व्यवस्थित सहर निर्माणका लागि आवास योजना सञ्चालन गरिएको प्रजापतिले बताए । नगरपालिकाले समयमै आवास योजना सञ्चालन नगरेको भए जग्गा दलाली गर्नेले ५–१० रोपनी जग्गा लिएर स्थानीयलाई केही रकम दिएर प्रशस्त आम्दानी गरिसक्ने उनको भनाइ छ । जति लगानी बाटोमा खर्च भयो त्यही लगानीमात्र कटौती गरेर जमिन फिर्ता दिँदा हिजो जनतालाई रोपनीको आउने मूल्य अहिले आनाकै आउने उनले बताए ।
खेलकुद ः युवालाई विभिन्न खेलको तालिम
मेयर प्रजापतिका अनुसार युवालाई कुलतमा फस्नबाट जोगाउन, अनुशासित बनाउन र स्वस्थ नागरिक तयार गर्न नगरपालिकाले कराते, किकबक्सिङ, फूटबल, भलिबल, टेबुलटेनिसको तालिम दिंदै आएको छ । ती तालिम विद्यालयस्तरमा विस्तार गर्ने सोच रहेको उनले सुनाए । नगरपालिकाभित्र दुईवटा सानाठूला खेलकुद मैदान छन् ।
सम्पदा संरक्षण
भक्तपुर नगरपालिकाले गरेका महत्वपूर्ण काममध्ये सम्पदा संरक्षण पनि एक हो । संस्कृति र परम्परालाई संरक्षण गर्न नगर क्षेत्रभित्र डाफा, भजन चलाउने, नाचगानका लागि प्रोत्साहन गर्ने, बाँसुरी बाजाको प्रतियोगिता पनि नपाले गर्दै आएको छ ।
कानुन निर्माण ः संविधानसँग नबाझिने गरी नगरको आफ्नै कानुन
देशभरका स्थानीय तहले कानुन अभावमा काम गर्न पाएनौं भन्ने गुनासो गरिरहेका छन् । तर, भक्तपुर नगरपालिकालाई काम गर्न कानुनले रोकेको छैन । देशको संविधानसँग नबाझिने गरी शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, बजार अनुगमनलगायत विषयमा कानुन निर्माण गरेर काम गर्दै आएको छ । ‘अधिकार छैन भनेर बस्ने होइन, आफूलाई चाहिने अधिकार आफैं बनाउने हो,’ मेयर सुनिल प्रजापतिले भने । उनले भने, “संविधानले स्थानीय निकायलाई कानुन बनाउने, कार्यान्वयन गर्ने र न्यायपालिकाको काम गर्ने अधिकार पनि दिएको छ जुन अधिकार केन्द्रीय सरकारलाई पनि उपलब्ध छैन ।”
पुस्तकालय ः आधुनिक पुस्तकालय सञ्चालन
पाठकको माग र विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले आधुनिक पुस्तकालय पनि सञ्चालन गरिरहेको छ । पुस्तकालयमा साहित्य, दर्शन, इतिहास, कला–संस्कृति आदि विषयका पुस्तक राखिएका छन् । पुस्तकालयमा निःशुल्क इन्टरनेट सेवा दिने नपाको लक्ष्य छ ।
एकै वर्षमा सबै भएको होइन
भक्तपुरको विकास हालका जनप्रतिनिधिले एकै वर्षमा गरेको भने होइन । भक्तपुरमा विगतदेखि स्थानीय तह र संसदमा प्रतिनिधित्व गर्ने दल नेमकिपा हो । अहिले पनि भक्तपुर नगरको नेतृत्वमा रहेका प्रजापति नेमकिपाकै हुन् । उनी भक्तपुरको विकासको श्रेय पार्टीलाई दिन्छन् । हुन पनि सबै विकास नेमकिपाको चुनावी घोषणापत्रअनुसार नै भइरहेको छ । ०५४ को स्थानीय चुनावमा शिक्षण संस्था स्थानीय निकायले सञ्चालन गर्ने पार्टीको घोषणा, सम्पदा संरक्षणमा जनसहभागिता गराउने पार्टीको नीतिले नै नगरलाई व्यवस्थित बनाएको उनी बताउँछन् ।
केही गर्न इच्छाशक्ति चाहिन्छ
देश र जनताको निम्ति केही गर्ने दृढ इच्छाशक्ति चाहिन्छ । कानुन, बजेट, कर्मचारी तपसिलका विषय हुन् । संविधानले देशको मूल कानुनसँग नबाझिने गरी कानुन बनाउने, कार्यान्वयन गर्ने र न्यायपालिकाको समेत काम गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । यो सुविधा केन्द्रीय सरकारलाई समेत छैन । जनताको आकाङ्क्षाअनुसार इमानदारीपूर्वक काम गर्नुपर्छ । हरेक काम पारदर्शी हुनुपर्छ । हामीले गरेका हरेक काममा जनसहभागिता छ र जनताको अपनत्व छ ।
(केही तथ्याड्ढीय त्रुटीको संशोधनसहित नयाँ पत्रिकाबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *