भर्खरै :

‘रङ्गशाला’ पीडित सङ्घर्ष समिति गठन

भक्तपुर, २३ साउन । सूर्यविनायक नगरपालिका वडा नं १० साविक चित्तपोल वडा नं १ स्थित भकारी मूल क्षेत्रमा निर्माण गर्न लागेको ‘अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला’ बाट पीडित स्थानीय किसानहरूको बुधबार एक भेला भयो ।
उक्त भेलाले शिवशरण कार्कीको संयोजकत्वमा १९ सदस्यीय रङ्गशाला पीडित सङ्घर्ष समिति गठन गरेको छ ।
सङ्घर्ष समितिले बुधबार सूर्यविनायक नगरपालिका वडा नं १० का वडाध्यक्ष शिवराम राउतसमक्ष एक विरोधपत्र बुझाएको छ । रङ्गशाला निर्माणले कृषियोग्य जमिन विनास हुने, हजारौं परिवार विस्थापित हुने, बेरोजगार बढ्ने भएकोले रङ्गशाला बनाउने निर्णय फिर्ताको लागि पहल गर्न सङ्घर्ष समितिले ध्यानाकर्षण गरेको हो । उक्त विरोधपत्रको सुनुवाइ नभएमा स्थानीय पीडित जनता सङ्घर्षमा उत्रने चेतावनी पनि सङ्घर्ष समितिले दिएको छ ।
अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न साउन १८ गते युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले उक्त क्षेत्रको जग्गा तत्काल ल्याण्डपुलिङ्गको माध्यमबाट चार किल्लाको सिमाना तोकी प्लटिङ्ग, कित्ताकाट, घर निर्माण कार्य बन्द गरी ६ महिनाभित्र म्एच् तयार गरी नेपाल सरकारले तीन वर्षभित्र काम सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन सम्बन्धित सरोकारवालाहरूलाई निर्देशन दिएको कुरा विभिन्न सञ्चारमाध्यममा आएको हुँदा सङ्घर्ष समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *