भर्खरै :

अपराधीहरूमाथि कारबाही गर्न कडा कानुन आवश्यक

–वस्तुराज ‘शीतल
दिनहुँझंै देशमा बालबालिका अपहरण गर्ने, बेपत्ता पार्ने, अपहरण गरेर पैसा माग्ने र पैसा नदिए हत्या गर्ने प्रयासमा घटनाहरू बारम्बार दोहोरिरहेका छन् । त्यस्तै महिला बेचबिखन, बलात्कार र बलात्कारपछि हत्या हुने काम पनि भइरहेको छ । बालबालिकाको बेपत्ता, अपहरण महिला किनबेच, बलात्कार, मानव तस्कर र मानव अङ्ग बेचबिखन सबै काम सामाजिक अपराधहरू हुन् । यी सबै अपराधहरू निन्दनीय छन् । त्यस्ता अपराधमा संलग्न कुनै पनि अभियुक्त या दोषीहरू सजायभागी हुनुपर्छ, तिनीहरूमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ । तर विडम्बना ¤ तिनै अपराधीहरू सत्तासीन दलका नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरूबाट सुरक्षित हुन्छन्, तिनीहरूकै वरिपरि घुमिरहेका हुन्छन् । त्यसैले तिनीहरू कारबाहीमा पर्दैनन् । त्यही कारण अपराधीहरूले ठाउँ पाइरहेका हुन्, अपराध गर्ने अवसर पाएका हुन् ।
जघन्य अपराधमा संलग्न अपराधीहरूलाई दुईचार वर्ष जेल हालेर, २०÷३० हजार रुपैयाँ जरिवाना गरेर अपराध घट्दैन । अपराध घटाउन कडा कानुन बनाउनु आवश्यक छ । बेपत्ता पार्ने, अपहरण गर्ने, किनबेच गर्ने र बलात्कार गर्ने अपराधीहरूलाई मृत्युदण्ड दिने व्यवस्था हुनुपर्छ । कडा कानुनको अभावमा जघन्य अपराधका घटना दोहोरिरहेका छन् । सरकारले सबै नागरिकको सुरक्षित हुन्छ भनी फुके पनि हत्या र हिंसाका घटनाहरू एकपछि अर्को बढ्दै छन् । गरीबी, अशिक्षा, राजनीतिक र सांस्कृतिक चेतनाको कमी र पुँजीवादी व्यवस्थाले गर्दा यो समस्या थपिंदै गएको हो । पुँजीवादी व्यवस्थामा हुने आपराधिक कार्यको विरोध गर्नैपर्छ, विरोध गरेर जनताबीच छ्यास्नैपर्छ । पुँजीवादी व्यवस्थामा देखिने यस्ता विकृत्ति र विसङ्गति अन्त्य गर्न नै समाजवादी गणतन्त्र आवश्यक भएको हो, पुँजीवादी गणतन्त्र फालेर समाजवादी गणतन्त्र स्थापना गर्न सङ्घर्ष गर्नुपरेको हो । पुँजीवादी सत्तामा बसेर समाजवादी गणतन्त्र स्थापना हुँदैन । कम्युनिष्टको सरकार देश विदेशमा फुक्न होइन बहुमत गरिब जनताको पक्षमा काम गर्न हुनुपर्छ । बालबालिकाहरू सुरक्षित हुनुपर्छ, महिला बेचबिखन र मानव तस्कर रोकिनुपर्छ । सामाजिक अपराधीहरू कारबाहीमा पर्नुपर्छ । कारबाही गर्न कडा ऐन–कानुन बनाउनुपर्छ । अपराधीहरूलाई पार्टीमा हुल्याएर दलले सुरक्षित गर्नुहुँदैन । निर्वाचनमा चन्दा र मत दियो भनेर दलले अपराधीहरूको पृष्ठपोषण गर्नुहुँदैन । सत्तासीन दलका नेता तथा कार्यकर्ताहरू किंकर्तव्यविमूढ भएकै कारण समस्या दोहोरिरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *