भर्खरै :

भारतको धौलीगङ्गाको बाँध खोलिंदै

बैतडी, २७ साउन  । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित गरेर सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाँधबाट बढी मात्रामा पानी छोडिंदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।
धौलीगङ्गा जलविद्युत् परियोजनाको क्षमता २८० मेगावाट रहेको छ । यसअघि सो परियोजनाको छिरकिल्ला बाँधमा पानीको मात्रा बढेपछि गत साउन १२ गते पनि बाँधको ढोका खोलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *