यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
श्वेता अधिकारी
सन् २०३० सम्ममा विश्वको कूल जनसङ्ख्या ८ अर्ब पुग्ने अनुमान गरिएसँगै खाद्य सुरक्षा विश्वकै महत्वपूर्ण चासोको विषय बन्न पुगेको छ । यस्तो अवस्थामा सीमित स्रोत र साधनको उचित प्रयोग गरी कृषि क्षेत्रलाई सुदृढ बनाउँदै लग्नु आजको आवश्यकता देखिएको छ । संयुक्त राष्ट्र सङ्घीय महासभाबाट सन् २०१६–३० सम्मका लागि दिगो विकासका १७ लक्ष्य र १६९ वटा सूचक अनुमोदन भएको छ । उक्त लक्ष्यमध्ये दोस्रो लक्ष्यको रुपमा रहेको खाद्य सुरक्षा अति नै महत्वपूर्ण भएको र यो लक्ष्य कृषिसँग सम्बन्धित भएकोले यसै विषयसँग केन्द्रित रहेर लेख्ने जमर्को गरेको छु ।
म कृषि तथा वन विज्ञान अध्ययन संस्थानमा कृषि सङ्कायमा अध्ययनरत आठौं सेमेष्टरको विद्यार्थी हुँ । पढाइकै सिलसिलामा रोल्पामा आफ्नो इन्टर्नशीप पूरा गर्दै गर्दा सामाजिक सञ्जालमा एउटा दिगो विकाससम्बन्धी तालिमका लागि आवेदन खुलेको थाहा पाएँ । आफ्नो सुपरीवेक्षकको सल्लाहसँगै आवेदन भर्दा मैले विश्वभरिबाटै छानिएका १७ जना दिगो विकास क्षेत्रमा काम गर्ने विज्ञहरूसँगै इजरायलमा हुने तीनहप्ते दिगो विकास तालिममा सहभागी हुने मौका पाएँ । तालिममा कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै मैले नेपालको कृषि अवस्थाको बारे प्रस्तुत गर्ने र त्यहाँको खेती प्रणालीको बारे पनि बुझ्ने अवसर पाएँ ।
प्राकृतिक तथा भौगोलिक रुपले कृषि गर्न खासै व्यवहारिक नभए तापनि इजरायलको कृषि क्षेत्रमा आएको क्रान्तिले सारा विश्वलाई चकित पारेको छ । इजरायलको जम्मा २० प्रतिशत भूमिमात्र खेतीयोग्य छ । त्यहाँको प्राकृतिक पानी आपूर्तिको अवस्थालाई संयुक्त राष्ट्र सङ्घको विश्लेषणमा इजरायललाई पानीको गरिबी राष्ट्रको रुपमा लिइन्छ । यस्तो जटिल अवस्थामा पनि सन् १९४८ पछि इजरायलको खेतीयोग्य जमिन तीन गुणाले र उत्पादन १६ गुणाले बढेको पाइन्छ । अहिले इजरायलको कुल खाद्य आवश्यकताको ९५ प्रतिशत आफ्नै स्वदेशी उत्पादनबाट पूरा भइरहेको छ । इजरायलको कृषि क्रान्तिले त्यहाँको मरुभूमिमा हरियालीमात्रै ल्याएको छैन बरु कृषि क्षेत्रमा भएका खोज र अनुसन्धानलाई विश्वभरि फैलाई खाद्य सुरक्षाको स्थितिमा महत्वपूर्ण योगदान पनि दिएको छ । आज हामीले कृषि गर्दा प्रयोग गर्ने ‘थोपा सिंचाइ’ जस्तो अत्याधुनिक प्रविधिको सुरुआत इजरायलबाटै गरिएको थियो । त्यस्तै निर्वाहमुखी कृषिका लागि निकै उपयोगी सूक्ष्म सिंचाइ प्रविधि, अन्न सुरक्षित राख्ने ‘ग्रेनप्रोकोकोन’ नामक आधुनिक भकारी, हावाबाट शीत सङ्कलन गर्न सकिने प्लास्टिकको ट्रेलगायत विभिन्न बाली संरक्षण प्रविधि, उष्ण हावापानी सहन सक्ने विभिन्न बालीका जातहरूको विकास गरी इजरायलले सम्पूर्ण कृषि क्षेत्रलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
कृषिका लागि सिंचाइ अपरिहार्य आवश्यकता हो । आधाभन्दा बढी क्षेत्रफल मरुभूमिले ओगटेको देश इजरायलले कसरी पूरा गरेको छ त यस आवश्यकतालाई ? यो प्रश्न इजरायलको कृषि क्षेत्रबारे सोच्दा सबैको मनमा प्रश्न उठ्न सक्छ । त्यहाँ करिब ८६ प्रतिशत पानीको आवश्यकता प्रयोग भइसकेको पानीलाई सङ्कलन गरी विभिन्न प्रक्रियाद्वारा पुनःप्रयोग गरी पूरा गर्ने र बाँकी आवश्यकता भने जमिनमुनिको नुनिलो पानीबाट अत्याधुनिक उपकरणको प्रयोग गरी नुन हटाई पूरा गर्ने गरिन्छ । इजरायलमा कृषि क्षेत्र निकै विकसित उद्योगको रुपमा स्थापना भएको पाइए तापनि देशको आर्थिक क्षेत्रमा कृषिको योगदान अन्य क्षेत्रको तुलनामा खासै ठूलो छैन । केही वर्ष यता इजरायलको आर्थिक स्थितिले कृषि क्षेत्रबाट आधुनिक उत्पादनमुखी परिष्कृत उद्यमीकरणतर्फ मोड लिएको पाइन्छ । यति हुँदाहँुदै पनि इजरायल कृषि उत्पादन निर्यात क्षेत्रमा अगाडि छ । हरेक वर्ष करिब दुई अर्ब डलर मूल्य बराबरको फलफूल तथा तरकारी इजरायलले अन्य देशमा निर्यात गर्ने गर्दछ ।
भनिन्छ आवश्यकता नै आविष्कारको जननी हो । प्राकृतिक रुपले असम्भव भए पनि इजरायलले त्यो गरेर देखाएको छ जुन विकास प्राकृतिक रुपले निकै धनि भए पनि धेरै देशले गर्न सकेका छैनन् । मृतसागरको उत्तरतर्फ रहेको जुडीयन मरुभूमिका कृषकहरूले मृतसागरको खनिज पदार्थहरूको प्रयोग गरी कडा स्वादको प्याज, धनियाँलगायत अन्य तरकारीको उत्पादन गरिरहेका छन् । त्यस्तै अरब क्षेत्रको नेगेव मरुभूमिमा फल्ने साना जातका गोलभेंडा अन्य ठाउँभन्दा दुईदेखि तीन गुणा गुलियो भएकोले अन्तर्राष्ट्रिय बजारमा समेत रुचाएको पाइएको छ । प्रतिकूल भौगोलिक र प्राकृतिक अवस्था भए तापनि त्यस क्षेत्रका किसानले अर्गानिक स्याउ, छोकडा, अङ्गुर, खर्बुजालगायत थुप्रै फलफूल पनि उत्पादन गरिरहेका छन् ।
इजरायलको कृषि क्षेत्रमा भएको उल्लेखनीय विकासमा इजरायली सरकारको ठूलो भूमिका रहेको पाइन्छ । कुल गार्हस्थ उत्पादनमा २.६५ प्रतिशतमात्र कृषिको प्रतिनिधित्व र कृषि क्षेत्रमा केवल ६५ प्रतिशत जनसङ्ख्या आवद्ध भए तापनि इजरायली सरकारले कृषि क्षेत्रमा हरेक वर्ष ठूलो रकम अनुदान दिने गर्दछ । त्यसका साथै विभिन्न निजी संस्थाहरूको प्राविधिक पाटोमा निकै ठूलो योगदान रहेको पाइन्छ । निर्वाहमुखी कृषिभन्दा पनि व्यवसायीकरणतर्फ जोड दिनका लागि उद्यमीहरूलाई प्रोत्साहन गर्ने धेरै परियोजनाहरू लागू गरिएको पाइन्छ । त्यस्तै हरेक वर्ष इजरायलले विभिन्न कार्यक्रमको माध्यमबाट विश्वभरिका किसानहरूलाई आधुनिक सीप एवं प्रविधिबारे जानकारी तथा तालिम पनि दिने गरेको छ । नेपालबाट पनि हरेक वर्ष तालिममा सहभागी हुने बताइएको छ ।
पानीको स्रोतको हिसाबले धनि देश भएर पनि नेपालमा हरेक वर्ष सिंचाइको अभावका कारण कृषि क्षेत्रमा ठूलो घाटा व्यहोर्न परिरहेको छ । इजरायलमा गरिने जस्तो ‘सूक्ष्म सिंचाइ’ प्रभावकारी ढङ्गले लागू गर्न सकिने हो भने कृषि क्षेत्रले खडेरीको मार बेहोर्नुपर्दैनथ्यो । त्यस्तै हामीले बालीनाली भित्याइसकेपश्चात् उपजलाई विभिन्न प्रकारका रोगबाट जोगाउन आवश्यक प्याकेजिङ्गदेखि लिएर भण्डारणसम्ममा थोरै लगानीबाट हुने विभिन्न प्रभावकारी उपायहरू अपनाउन जरुरी छ । अर्को सिक्नुपर्ने कुरा भनेको अर्गानिक खेतीतर्फको आकर्षण पनि हो । अहिले इजरायलको उत्पादनले बजार पाउनुमा कृषकहरूले अर्गानिक खेति अँगाल्नु पनि एउटा कारण हो । अर्गानिक खेती गरेर पनि ठूलो मात्रामा उत्पादन गरी व्यवसायीकरणतर्फ अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण इजरायलको कृषि पद्धतिबाट लिन सकिन्छ । नेपालको कृषि व्यवसाय पूर्णरुपले अर्गानिक हुनसक्छ तर त्यसका लागि चाहिने आवश्यक ज्ञान, सीप एवं स्रोत साधन पनि उपलब्ध हुन जरुरी छ । नेपालजस्तो कृषिप्रधान देशले आधुनिक कृषिको केन्द्र इजरायलबाट धेरै कुरा सिक्नसक्छ । सिकाइलाई व्यवहारिक रुपमा लागू गर्ने हो भने देशको कृषि क्षेत्रमा कायापलट नआउला भन्न सकिन्न । इजरायलको कृषि अवस्थालाई नियाल्दा हामी पनि कृषिमा सक्षम र आत्मनिर्भर हुनसक्छौं । सन् २०३० सम्मको दिगो विकासको लक्ष्यअन्तर्गत खाद्य सुरक्षामा नेपालले जनाएको प्रतिबद्धता पूरा होला भन्ने आकलन गर्न सकिन्छ ।
(लेखिका कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवनमा संलग्न हुनुहुन्छ ।)
Leave a Reply