भर्खरै :

माक्र्सवादी विचार र फिडेल

सुरेन्द्रराज गोसाई
१० मार्च १९५२ मा सैनिक ‘कू’ लगत्तै का. फिडेल क्याष्ट्रोले गुआनावोमा माक्र्सवादी अध्ययन मण्डल गठन गर्नुभयो । कार्ल माक्र्सको जीवनी तथा विचारबाट फिडेल प्रभावित हुनुभयो । मानिसलाई माक्र्सवादी बनाउनु नै सबैभन्दा महत्वपूर्ण कार्य हो भन्ने उहाँले बोध गर्नुभयो । आफ्नो प्रभावशाली भाषण कलामार्पmत उहाँले माक्र्सवादी शिक्षा प्रचारको आरम्भ गर्नुभयो । सन् १९५२ को सैनिक ‘कू’ हुनुभन्दा केही वर्ष अगाडि नै क्याष्ट्रो माक्र्सवादी–लेनिनवादी बनिसक्नुभएको थियो ।
कार्ल माक्र्स र अन्य समाजवादी चिन्तक तथा लेखकहरूका साहित्य अध्ययन नगरेसम्म फिडेल काल्पनिक समाजवादप्रति झुकाव राख्नुहुन्थ्यो । फिडेल भन्नुहुन्छ – ‘माक्र्स र लेनिनका रचना अध्ययन गर्नुभन्दा अगाडि म एक काल्पनिक समाजवादी थिएँ र जोसे मार्टीबाट नैतिक मूल्य मान्यता ग्रहण गरें ।’
फिडेल क्याष्ट्रोले सर्वप्रथम अध्ययन गर्नुभएको कार्ल माक्र्सको रचना ‘कम्युनिष्ट घोषणापत्र’ हो । त्यस कृतिको प्रभाव उहाँमा जीवनपर्यन्त कायम रह्यो । माक्र्सवादी साहित्यप्रतिको गम्भीर अभिरूचि र गहिरो आकर्षणकै कारण क्याष्ट्रोले एक एक गरी माक्र्स र एँगेल्सका रचनाहरू अध्ययन गर्न थाल्नुभयो । उहाँले विशेषगरी राजनीतिक तथा दार्शनिक रचनाको सूक्ष्म अध्ययन गर्नुभयो । मनमा गढेर रहेको न्याय र नैतिक मूल्यको भाव माक्र्सवादी साहित्यको अध्ययनपश्चात् झन् प्रवल बन्यो र क्याष्ट्रो दिन प्रतिदिन नयाँ क्याष्ट्रोमा रूपान्तरण हुँदै जानुभयो ।
क्याष्ट्रो भन्नुहुन्छ – ‘समाज के हो र समाज विकासको नियमबारेको ज्ञान मलाई माक्र्सवादले दियो । म त वनमा हराएको अन्धो मान्छेभैंm थिएँ । मलाई उत्तर कता या दक्षिण कता भन्नेसमेत ज्ञान थिएन । वर्गसङ्घर्षको इतिहासको वास्तविक ज्ञान नभएको खण्डमा अथवा समाज धनी र गरीबमा विभक्त भएको र मानिसद्वारा मानिसमाथि भइरहेको शोषण तथा दमनबारे जानकारी भएन या चेतना नभएमा मानिस जङ्गलमा हराएसरि नै हुन्छ ।’
सन्दर्भ ः ९३ औं फिडेल क्यास्ट्रो जन्म दिवस
फिडेल क्याष्ट्रो माक्र्सका रचना पढ्नुभन्दा अगाडि नै पुँजीवादको राजनीतिक अर्थशास्त्रको खण्डन गर्दै बहस चलाउनुहुन्थ्यो र पुँजीवाद विवेकसम्मत नभएको तर्क गर्नुहुन्थ्यो । कार्ल माक्र्स र माक्र्सवादी सिद्धान्तको महत्व र प्रभावबारे बडो सटिक भाषामा क्याष्ट्रो भन्नुहुन्छ – ‘यदि क्रिष्टोफर कोलम्बससँग कम्पास नभएको भए उनी कतै पुग्न सक्ने थिएनन् । तर कम्पास पत्ता लागिसकेको थियो । मसँग पनि कम्पास थियो र त्यो माक्र्सवाद र लेनिनवाद थियो । म दोहो¥याउँछु – मार्टीबाट नैतिक शिक्षा पाएँ ।’ यसरी क्याष्ट्रो माक्र्सवादी दर्शनलाई विश्व कामदार वर्गीय आन्दोलनको कम्पासको रूपमा परिभाषित गर्नुहुन्छ ।
फिडेल क्याष्ट्रोले एक प्रसङ्गमा बताउनुभएको थियो– ‘राजनीतिक सिद्धान्तबारे हामीले माक्र्सका पुस्तकको अध्ययन नगरेको भए र मार्टी, माक्र्स र लेनिनको शिक्षा आत्मसात् नगरेको भए क्युवामा क्रान्ति गर्ने विचार हामीमा आउने नै थिएन । सैनिक शिक्षालयबाट प्रशिक्षित नभएका एक हूल मानिसहरूले नत्र सङ्गठित सेना, हातहतियारले सुसज्जित र तालिम प्राप्त सेनासँग कसरी लड्न सक्थे ? साधारण हमलाबाट सुरू भएको युद्ध कसरी विजयमा टुङ्गिन्थ्यो ? माक्र्सवादी–लेनिनवादी विचार क्रान्तिका निम्ति अनिवार्य तत्व हुन् ।’
का. फिडेल क्याष्ट्रोले क्युवाली कम्युनिष्ट पार्टीका वर्तमान नेता का. राउल क्याष्टो«लाई माक्र्सवाद–लेनिनवादसँग परिचित बनाउनुभयो जुन क्युवाली क्रान्तिको निरन्तरताको सवालमा ऐतिहासिक महत्वको कार्य सिद्ध भयो । का. राउलले मेक्सिकोमा चे ग्वेभारासँग सम्पर्क गर्नुभयो र क्युवाली क्रान्तिको निम्ति एक अर्को बलियो खम्बा तयार भयो । चेको चर्चाविना क्युवाली क्रान्तिको वर्णन अपूरो हुन्छ । राउलसँग सम्पर्कमा आउनुभन्दा अगाडि नै चेले राजनीतिक सिद्धान्तको अध्ययन गरिसकेका थिए । माक्र्स, एँगेल्स र लेनिनका पुस्तकहरूको व्यवस्थित अध्ययन भएका उनी एक सच्चा माक्र्सवादी थिए । कमरेड चे ट्राट्स्कीवादी हुन् कि भन्ने आशङ्काबारे प्रस्ट पार्दै फिडेल भन्नुहुन्छ – ‘चे एकजना माक्र्सवादी थिए । ट्राट्स्कीको बारे कुराकानी गरेको मैले कहिल्यै सुनिनँ । उनी सधैं माक्र्सको पक्ष लिन्थे, लेनिनको बचाउ गर्थे । चेले ट्राट्स्कीको बारे बोलेको मलाई थाहा छैन । उनी लेनिनवादी थिए र स्टालिनका सकारात्मक पक्षको समर्थन गर्थे ।’
माक्र्स–लेनिनबाट प्राप्त शिक्षाकै आधारमा क्युवाली क्रान्तिले नारा दियो ‘समाजवाद या मृत्यु’ र ‘विजय या मृत्यु’ । विषम् परिस्थितिमा समेत क्युवाले समाजवादको रातो झण्डा फहराइरह्यो र साम्राज्यवादसँग जुझिरह्यो । ल्याटिन अमेरिकी भूमिबाट साम्राज्यवादलाई क्युवाले निरन्तर हाँक दिइरहेकै कारण विश्वका न्यायप्रेमी जनताले ऊर्जा प्राप्त गरिरहेका छन् ।
(लेखक क्युवा ऐक्यबद्धता समिति नेपालका अध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *