भर्खरै :

माक्र्सवादी चिन्तक समिर अमिनको निधन

काठमाण्डौ, १३ अगस्ट । विख्यात माक्र्सवादी चिन्तक तथा अर्थशास्त्री समिर अमिनको आइतबार पेरिसमा ८६ वर्षको उमेरमा निधन भएको छ ।
ब्रेन ट्युमरका कारण उनको निधन भएको उनका मित्र चेरिफ सालिफले सामाजिक सञ्जालमा लेखेका छन् । साम्राज्यवाद, पुँजीवाद र माक्र्सवादी अर्थशास्त्रका गम्भीर अध्येता अमिनका तीसभन्दा बढी ती विषयका पुस्तक प्रकाशित छन् ।
उनको जन्म सन् १९३१ मा इजिप्टमा भएको थियो । उनका पिता इजिप्टेली र माता फ्रान्सेली थिए । उनका पिता चिकित्सक थिए । उच्च माविसम्मको अध्ययन इजिप्टमै गरेका उनले सन् १९५२ मा पेरिसमा राजनीतिशास्त्रमा स्नातक पढेका थिए ।
फ्रान्समै उनले तथ्याड्ढशास्त्रमा स्नातकोत्तर सकेर सन् १९५७ मा अर्थशास्त्रमा विद्यावारिधि सकाएका थिए ।
सन् १९५७ देखि १९६० सम्म उनले इजिप्टको राजधानी कायरोमा अर्थशास्त्र व्यवस्थापन प्रतिष्ठान (इजिप्टको योजना आयोग)मा काम गरेका थिए । तात्कालीन नास्सेर सरकारले कम्युनिष्टहरूमाथि दमन गर्न थालेपछि उनले सो पदबाट राजीनामा दिए । सन् १९६०–६३ सम्म उनी नवोदित देश मालीको आर्थिक सल्लाहकारको रुपमा काम गरे । सन् १९८० मा उनी तेस्रो विश्व मञ्चको निर्देशकको रुपमा सेनेगलमने डाकर पुगे । डाकरमा उनी चालिस वर्षभन्दा बढी समय काम गरे । दस वर्ष त उनले त्यहाँ संयुक्त राष्ट्र सङ्घीय अफ्रिकी आर्थिक विकास तथा योजना प्रतिष्ठानका निर्देशकको रुपमा काम गरे ।
अमिन फ्रान्सेली कम्युनिष्ट पार्टीका सदस्य थिए । तात्कालीन सोभियत सङ्घ र चीनबीचको सैद्धान्तिक बहसमा उनी चिनियाँ खेमासँग नजिक थिए । उनले सोभियत मोडलको समाजवादको आलोचनामा लेख्दै आएका छन् ।
उनी लामो समयदेखि फ्रान्सको पेरिस विश्वविद्यालय र पोइटियर विश्वविद्यालयमा अर्थशास्त्र अध्यापन गर्दै आएका थिए, सेनेगलको डाकरमा पनि उनी अर्थशास्त्र पढाउँथे । उनी तेस्रो विश्व मञ्चका पूर्व अध्यक्ष पनि थिए ।
पछिल्लो समयमा उनी विशेषतः मन्थली रिभ्यु पत्रिकासँग आबद्ध थिए । मन्थली रिभ्यु विचारका उनी आधिकारिक व्यक्ति मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *