भर्खरै :

प्रसिद्ध साहित्यकार भी. एस. नयपालको निधन

लन्डन, २७ साउन (एएफपी) । साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस.नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उहाँले आफ्नो परिचय बनाउनुभएको थियो ।
भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको ट्रिनीडाडमा भएको थियो । उहाँका विश्व चर्चित पुस्तकमा “ए हाउस फर मिस्टर विश्वास” र बुकर पुरस्कार विजयी ‘इन अ फ्री स्टेट’ रहेका छन् ।
“उहाँको मृत्यु पारिवारिक सदस्यका माझमा भयो,” नयपालकी पत्नी नदीरा नयपालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
नयपाल ट्रिनीडाडबाट बेलायत बसाइँ सर्नुभएको थियो र त्यहींको अक्सफोर्ड विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य अध्ययन गर्नुभएको थियो ।
नयपालले आफ्नो अधिकांश समय घुमफिरमा बिताउनुभएको थियो र बेलायती सांस्कृतिक धरोहरको एकजना खम्बाका रुपमा रहे पनि उहाँले साहित्यमा पुर्खाविहीन धारको प्रतीकका रुपमा आफूलाई स्थापित गर्नुभएको छ । उहाँका सुरुआती वर्षका रचना वेस्ट इन्डिजमा केन्द्रित थिए, तर पछि उहाँको रचना विश्वजगतलाई समेट्ने किसिमको हुन थाले ।
उहाँ विगतमा विवादित पनि बन्नुभयो, खासगरी उहाँले उत्तर–औपनिवेशिक मुलुकलाई ‘अर्ध–निर्मित समाज’ का रुपमा चित्रित गरेपछि । इस्लाम धर्मले अन्य संस्कृतिलाई दास बनाउने र सखाप पार्ने धारणा राखेपछि त उहाँमाथिको आलोचना तीव्र बनेको थियो ।
सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार पाउनुभएका नयपालले ३० वटाभन्दा बढी पुस्तक लेख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *