हेटौँडा, २८ साउन ः प्रदेशसभाको आजको बैठकमा तीन वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध बोर्ड स्थापना गर्न बनेको विधेयकमाथि छलफल भएको थियो ।
प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयकमाथि आज भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले ३ नम्बर प्रदेशका सबै जनतालाई बाख्राको दूध खुवाउने बताउनुभयो । उहाँले सरकारी संस्थाहरु घाटामा जाने प्रवृत्ति रहेकाले दुग्ध विकास बोर्डलाई घाटामा जान नदिन र दुरुपयोग हुन नदिन अनुगमन टोलीसमेत निर्माण गरिने बताउनुभयो । यस विधेयकमाथिको छलफलमा सांसदहरु सीता अधिकारी, प्रभात तामाङ, बेलिमाया घले, रीता माझी, रीना गुरुङ र मीना ज्ञवालीले भाग लिनुभएको थियो ।
सांसदहरु रमेश पौडेल र राधा घलेले प्रदेश प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश नगर्न राख्नुभएको विरोधको सूचना बहुमतले अस्वीकृत भयो । प्रदेश प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि १३ सांसद्ले छलफलमा भाग लिनुभयो ।
सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँंदै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले सरकारले सदनलाई छल्न नसक्ने र सरकारी कामकारबाही अगाडि बढाउन यो विधेयक पेश गरेको बताउनुभयो ।
Leave a Reply