भर्खरै :

मुक्तहलियाले पाउने रकममा अनियमितता

बैतडी, २८ साउन । बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरूसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् ।
नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरूले प्राप्त गरेको रकममा रु. आठ हजारका दरले रकम मागेको मुक्तहलियाले बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा निवेदन दिँदै उनीहरूले आफूहरूको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् ।
जिल्ला मालपोत कार्यालयमार्फत आफूले पाएको रकममा कोलीले रु. आठ हजारका दरले मागेको मुक्तहलिया वीरभान महरले बताउनुभयो । साउन १७ गते ग्वाल्लेकका दुखी रानासँग रु. १६ हजारमध्ये रु. ९ हजार ५०० घुस मागेपछि घटना बाहिर आएको हो । रु. ९ हजार ५०० मागेपछि आफूले प्रहरीमा निवेदन दिएको र वीरभान कोलीले पछि रकम फिर्ता गरेको रानाले बताउनुभयो ।
समाजका सदस्य वीरभान कोलीले भने आफूले पैसा नलिएको दाबी गर्नुभयो । आफूलाई फसाउन राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाएको उहाँको दाबी छ । सरकारले मुक्तहलियालाई घर निर्माणका लागि रु. ३ लाख २५ हजार, जग्गा खरीदका लागि रु. २ लाख र घर मर्मतका लागि रु. १ लाख २५ हजारका दरले रकम दिंदै आएको छ । बैतडीमा २ हजार २२ जना मुक्तहलिया रहेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *